Comments Add Comment

ओली र देउवाबीच एक्लाएक्लै छलफल भएपछि प्रचण्ड पनि मिसिए

Photo Credit : प्रधानमन्त्रीको सचिवालय ।

१२ वैशाख, काठमाडौं । विवादास्पद अध्यादेश खारेज भएकै दिन प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच एक्लाएक्लै एक घण्टा भेटवार्ता भएको छ ।

ओली र देउवाबीच छुट्टै भेटवार्ता भएपछि नेकपाका अर्का अध्यक्ष प्रचण्ड पनि सो छलफलमा सहभागी भएका छन् ।

छलफल प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । ‘एक घण्टा द्विपक्षीय छलफल भएपछि अहिले अर्का अध्यक्ष प्रचण्डसहित त्रिपक्षीय छलफल भइरहेको छ,’ प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने ।

कोरोना भाइरसको संक्रमणविरुद्ध सबै मिलेर अगाडि बढ्नेबारे छलफल भएको थापाले बताए ।

प्रतिपक्षसमेतको विरोधका कारण सरकारले शुक्रबार दुई अध्यादेश खारेज गरेको थियो । त्यसलगत्तै सुरुमा ओली र देउवाबीच तथा केहीबेरपछि ओली, प्रचण्ड र देउवाबीच भेटवार्ता भएको हो ।

राजनीतिक दलसम्बन्धी अध्यादेशमा पार्टी फुटाउन केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत भए पुग्ने र संवैधानिक परिषदसम्बन्धी अध्यादेशमा प्रतिपक्षी दलको नेताविना परिषद्को बैठक बसेर आवश्यक निर्णय गर्न सक्ने व्यवस्थासहित अध्यादेश ल्याइएपछि सत्तापक्ष र प्रतिपक्ष दुवैबाट सरकारको विरोध भएको थियो ।

आक्रामक रुपमा प्रस्तुत भएका प्रमुख प्रतिपक्षी कांग्रेसका नेताहरुले त सरकारले वैधानिक हैसियत गुमाएको भन्दै प्रधानमन्त्री फेर्नुपर्ने धारणा सार्वजनिक गरेका थिए । यस्तै नेकपाका शीर्ष नेताहरुको बैठकले अध्यादेश फिर्ता लिन सरकारलाई सुझाव दिएको थियो ।

पूर्वप्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले भने आजको छलफलको विषयबारे आफूलाई जानकारी नभएको बताए । ‘प्रधानमन्त्रीज्यूले बोलाएर सभापतिज्यू बालुवाटार आउनु भयो । तर के–के कुराकानी भयो भन्नेचाहिँ मलाई थाहा भएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment