Comments Add Comment

भारतको क्वारेन्टाइनमा २५ दिन बसेर फर्किए १०२ नेपाली

१२ वैशाख, बुटवल । भारतीय क्वारेन्टाइनमा २५ दिन बिताएका नेपालीहरूलाई स्वदेश फर्काउन सुरु गरिएको छ । सीमा क्षेत्रको क्वारेन्टाइनमा तीन सय ४१ नेपाली छन् । तीमध्ये शुक्रबार १०२ जनालाई नेपाल ल्याइएको छ ।

पहिलो दिन कोरोना भाइरस परीक्षण गर्न समय लाग्ने भएकाले कम ल्याइएको र शनिबार बिहानैदेखि बाँकी नेपालीलाई ल्याइने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले अनलाइनखबरलाई जानकारी दिए । ‘उनीहरूलाई सीमा नाका बेलहिया ल्याएर कोरोना परीक्षण गरेपछि मात्र सम्बन्धित जिल्ला प्रशासनसँग समन्वय गरेर घर पठाउछौँ,’ उनले भने ।

३४१ जना भारतको इन्टर कलेज नौतनवा, मोर्डन कलेज नौतनवा, सिटी होस्टल सुनौली बाइपास र सुवास बोस जुनियर इन्टरकलेज सुनौलीमा थिए ।

प्रदेश सभा सदस्य सन्तोष पाण्डेले तीन चरणमा गरी उनीहरूलाई नेपाल भित्र्याइने जानकारी दिए । नेपाल ल्याइएकाहरूको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गरी नेगेटिभ रिपोर्ट देखिएकालाई घर पठाइने र पोजेटिभ देखिए यतै आइसोलेसनमा राखी थप उपचारको व्यवस्था गरिने पाण्डेले बताए ।

‘भारतमा रहेका नेपालीहरूलाई १४ दिन क्वारेन्टाइनमा राख्ने भनिएको थियो, १४ दिन पुगे पनि नेपाल आउन नपाएपछि नेपालीहरू आक्रोशित थिए,’ उनले सुनाए ।

नेपाल फर्केका नेपालीलाई लिन सम्बन्धित स्थानीय तहहरूले सवारी साधनको व्यवस्थापन गरेको रुपन्देही प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले बताए ।

सवारी व्यवस्थापन हुन नसकेको हकमा भने यतै क्वारेन्टाइनमा राखी स्थिति सहज भएपछि पठाउने खत्रीले जानकारी दिए ।

भारतमा रहेका नेपालीहरू नेपाल आए पनि नेपालतर्फ रहेका भारतीयहरूबारे अझै पनि केही निर्णय हुन सकेको छैन ।

रुपन्देही, अर्घाखाँची, पाल्पा, चितवन, तनहुँ, बारा, कपिलवस्तु, प्युठान, धादिङ, बाग्लुङ, स्याङ्जा, जाजरकोट, खोटाङ, बाँके, मोरङ, सुनसरी र पूर्वीनवलपरासी गरी १८ जिल्लाका नागरिक छन् । यसमध्ये धेरै गुल्मी र अर्घाखाँचीका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment