Comments Add Comment

आईसीसी बैठक : टी-२० विश्वकप तयारीबारे छलफल

१२ वैशाख, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले कोरोना भाइरस संक्रमणको महामारीले क्रिकेटमा पारेको प्रभाव र भावी योजनाका बारेमा सरोकार पक्षहरुसँग छलफल गरेको छ  ।

आइसीसीले १२ टेस्ट राष्ट्र र ३ एसोसिएट राष्ट्रका प्रमुख कार्यकारी अधिकृतहरुसँग भिडियो कन्फ्रेन्समार्फत छलफल गरेको हो । भिडियो कन्फ्रेन्समा सहभागीहरुले कोरोनाका कारण आ-आफ्नो  देशमा पारेको प्रभाव र यसको अवस्थाबारे जानकारी गराएका थिए । छलफलका क्रममा आगामी दिनमा क्रिकेट क्षेत्रमा आउने चुनौतीको सामना गर्न सबै मिलेर अघिबढ्ने प्रतिबद्धता सहभागीहरुले जनाएका थिए ।

भिडियो कन्फ्रेन्समा आगामी दिनमा हुने क्रिकेट प्रतियोगिताहरुबारे कुनै ठोस निर्णय नगरेपनि यसै वर्ष हुने पुरुष टी२० विश्वकप र अर्को वर्ष हुने महिला एकदिवसीय विश्वकपलाई पुरानै खेल तालिकाअनुसार आयोजना गर्ने विषयमा छलफल भएको छ ।

अष्ट्रेलियाले आगामी अक्टोबर-नोभेम्बरमा टी२० विश्वकप आयोजना गर्दैछ । तर अष्ट्रेलियन सरकारले सेप्टेम्बर ३० सम्म विदेशीहरुलाई त्यहाँ प्रवेशमा रोक लगाएको छ । त्यसैले टी२० विश्वकप हुने वा नहुने अहिले नै एकिन निर्णय भने हुन सकेको छैन । विश्वकप अक्टोबर १८ देखि नोभेम्बर १५ सम्म गर्ने तालिका छ ।

यस्तै प्रमुख कार्यकारीहरुको उक्त बैठकले विश्व टेस्ट च्याम्पियनसिप, क्रिकेट विश्वकप सुपर लिगको विषयमा पनि छलफल गरेको छ । कोरोनाको संक्रमण कम भएपछि यसबारे आगामी दिनमा निर्णय गर्ने आइसीसीले जनाएको छ ।

यस्तै कोरोनाले गर्दा बाधा पुगेको फ्युचर टुर प्रोग्राम (एफटीपी) को २०२३ को कार्यक्रमको समिक्षा गर्नुपर्ने जनाएको छ । र कोभिड १९ का कारण स्थगित भएका क्रिकेट प्रतियोगिताको पुन: मिति तय गरिने विचार राखेका थिए ।

आईसीसीका प्रमुख कार्यकारी मानु शावनेले प्रमुख कार्यकारीको प्रतिबद्धताबाट आफू खुशी भएको बताए । क्रिकेट प्रतियोगिताहरु पुन: सुरु गर्ने विषयमा जिम्मेवारीपूर्ण निर्णय लिने विषयमा सबै जना सहमत भएको उनले बताए । ‘हामी अन्तर्राष्ट्रिय क्रिकेट पुनः सुरु गराउने सम्बन्धमा महत्वपूर्ण निर्णय लिनेबारे सहमत भएका छौं । आईसीसीको विश्वव्यापी कार्यक्रमहरू सम्पन्न गर्न धेरै जटिलताहरू छन् । सबैको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राखेर प्रतियोगिताबारे होसियार पूर्वक निर्णय लिइने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment