
१२ वैशाख, काठमाडौं । बाराको सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलले थप कडाइ गरेको छ ।
कोभिड–१९ रोकथामका लागि सरकारले लिएको नीति कार्यान्वयनमा नं. १२ गणले बाराले तैनाथी बढाउँदै सीमा सुरक्षालाई थप चुस्त बनाएको हो ।
जिल्लाका अन्य सुरक्षा निकायसहित स्थानीय तहसँग समन्वय गरेर निगरानी समिति समेत गठन गरी सीमा सुरक्षालाई प्रभावकारी बनाउँदै लगिएको गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) दिगविजय सुवेदीले बताए ।
सुवेदीका अनुसार सीमा सुरक्षालाई प्रभावकारी बनाउन स्थानीयको सहभागितामा सीमा समन्वय तथा निगरानी समिति गठन गरिएको थियो । जुन समितिले गाउँमा आउन खोज्ने नयाँ व्यक्तिबारे सशस्त्र प्रहरीलाई खबर दिने गरेका छन् ।
जसअनुसार हालसम्म १० जना व्यक्ति भारतबाट नेपाल प्रवेश गर्नबाट रोकिएका छन् । त्यस्तै, एक सय ५ जना व्यक्ति नेपालबाट भारत जानबाट रोकिएका छन् ।
गस्ती बढ्यो
सुवेदीका अनुसार बारारमा अहिले सामान्य अवस्थामा भन्दा तेब्बरको संख्यामा सशस्त्र प्रहरीका जनशक्ति खटाइएको छ ।
‘अहिले हरेक चार सय मिटरदेखि एक सय मिटरको दूरीमा सशस्त्र प्रहरीको टोली खटिएको छ’, सुवेदीले अनलाइनखबरसँग भने, ‘अहिले आवतजावतलाई पूणतः निषेध गरिएको छ ।’
सुवेदीका अनुसार बाराका सीमा क्षेत्रमा यसअघि ७ वटा बोर्डर आउट पोष्ट (बीओपी) थिए । हाल बीओपी संख्या बढाएर १७ वटा पुर्याइएको उनले बताए ।
सुबेदीका अनुसार ६० किलोमिटर सीमा रहेको बाराको सीमा क्षेत्रमा अहिले ९१ भन्दा बढी स्थानमा सशस्त्र प्रहरीको उपस्थिति छ ।
उनका अनुसार सीमामा स्थायी ड्यूटी, सवारी, मोबाइल, पैदल र साइकल गस्तीलाई पनि बढाइएको छ ।
सशस्त्र प्रहरीले बाराको सीमा क्षेत्रमा हेल्थ डेस्कमा पनि सञ्चालन गरेको छ । जसमा अहिलेसम्म एक हजारभन्दा बढीले सेवा लिएका छन् ।
सीमा क्षेत्रमा लकडाउनको उल्लंघन गर्ने ३ सय ५० सवारीसाधान पनि लकडाउनको एक महिने अवधिमा नियन्त्रणमा परेका छन् ।
प्रतिक्रिया 4