Comments Add Comment

निको भएका कोभिड-१९ का बिरामीमा सार्सकोभन्दा कम असर

१३ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) बाट निको भएका व्यक्तिमा सार्सको तुलनामा कम असर पाइएको छ ।

हङकङका श्वासप्रश्वास विशेषज्ञकाअनुसार कोरोनाबाट निको भएका बिरामीको फोक्सो स्वस्थ देखिएको र यसले सामान्य अवस्थामा काम गरिरहेको बताएका छन् ।

यद्यपि कोरोनाविरुद्ध खोप पत्ता नलागेसम्म हङकङले महामारीविरुद्ध लड्नुपर्ने डाक्टर डेभिड हुई सु-चेओङले बताए । आगामी जुनमा यो महामारी दक्षिणी गोलार्धमा पुनः देखिन सक्ने र डिसेम्बरमा हङकङमा महामारी पुनः फैलिनसक्ने उनको अनुमान छ ।

अहिलेसम्म हङकङमा एक हजार ३५ जनामा कोभिड-१९ को संक्रमण देखिएको छ । उनीहरूमध्ये चारजनाको मृत्यु भएको छ भने सात सय २५ जना निको भएर घर फर्किसकेका छन् ।

चाइनिज युनिभर्सिटीको डिपार्टमेन्ट अफ मेडिसिन एण्ड थेरापिटिक्सका अध्यक्ष समेत रहेका हुईकाअनुसार कोरोना संक्रमण भएर निको भएका १० जनामा अभ्ययन गरिएको थियो । र, तुलनात्मक रुपमा यसअघिका भाइरसको तुलनामा कम असर देखिएको छ ।

हुईकाकाअनुसार दीर्घकालीनरुपमा कोभिड-१९ को असर कस्तो पर्ने हो भन्ने निष्कर्षमा पुग्न अझै केही समय लाग्छ । यसअघि सार्सको महामारीमा पनि हुईले महामारीपछिको असरबारे अध्ययन गरेका थिए । अध्ययनको क्रममा निको भएको दुई वर्षपछि जाँच गराउन आएका २० प्रतिशत आईसीयूमा बसेका बिरामीको फोक्सोमा केही असर देखिएको थियो । आईसीयूमा बस्नेको संख्या पनि त्यतिबेला अहिलेकोभन्दा धेरै थियो । तर, निको भएका मानिसहरू भने पूर्णरुपमा ठिक भएको पाइएको हुईको भनाइ छ ।

कोभिड-१९ को असर बिरामीमा कम देखिने भएपनि अत्याधिक मात्रामा फैलिने यसको गुण भने अहिले चिन्ताको विषय बन्न पुगेको छ । पछिल्लो केही सातामा यसको संक्रमणको गति केही घटेको छ । तर अझै पनि अवस्था चुनौती भने उत्तिकै छ ।

हुईकाअनुसार यो एक शताब्दीमा एकपटक देखिने महामारी हो । त्यसैले महामारीबाट बच्न अहिले मात्र नभई खोप पत्ता नलागेसम्म मास्क लगाउनेजस्ता सुरक्षाका उपाय जारी राख्नुपर्ने उनले बताए । साथै, सरकारले पनि भाइरसको संक्रमण नियन्त्रणका लागि लगाएको प्रतिबन्धहरू खुकुलो पार्न ढिलाइ गर्न नहुने बताए ।

मेको मध्यबाट भने बिस्तारै लकडाउन खुकुलो बनाउन सकिने डाक्टर डेभिड हुई सु-चेओङले बताएका छन् ।

स्रोत : द साउथ चाइना मर्निङ पोष्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment