Comments Add Comment

महाकालीमा बगेकी महिलाको उद्धार, उपचार गर्न कोहलपुर लगियो

१४ वैशाख, काठमाडौं । महाकाली नदीमा बगिरहेकी एक जना महिलालाई प्रहरीले आइतबार उद्धार गरेको छ । करिब ३० वर्षीया सपना ऐतवाललाई प्रहरीले दार्चुलाको महाकाली नगरपालिका–५ गल्फे भन्ने स्थानबाट उद्धार गरेको हो ।

दार्चुलाका प्रहरी प्रमुख दीपेन्द्र शाहीले अनलाइनखबरसँग भने, ‘महाकाली नदीमा बगेर आइरहेको अवस्थामा आइतबार बिहान ६ बजेको समयमा एक जना महिलाको उद्धार गरेका छौं । उनी माथिदेखि बग्दै आइरहेकी थिइन् । हाम्रो टोलीले उनको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल दार्चुला पुर्‍याएको हो ।’

शाहीका अनुसार उनी व्याँस गाउँपालिका वडा नम्बर १ छाङरु घर भई हाल जिल्ला सदमुकाम खलंगा तिंकरखेडास्थित माइतीघरमा बस्दै आएकी थिइन् ।

उनको अवस्था गम्भीर रहेकाले उपचारका लागि अस्पताल पुर्‍याएको शाहीले बताए । महाकाली नदीमा उनी कसरी बगिन् भन्नेबारे खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको शाहीले बताए ।

जिल्ला अस्पताल दार्चुलाका डाक्टर गजेन्द्र दुवालका अनुसार उनको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि कोहलपुर मेडिकल कलेज रिफर गरिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट उनलाई उपचारका लागि कोहलपुर पठाइएको उनले बताए ।

डाक्टरको सल्लाहअनुसार नै ती महिलाको थप उपचारका लागि हेलिकप्टबाट कोहलपुर मेडिकल लैजान व्यवस्था मिलाइएको दुर्गादल गुल्म दार्चुलाका गुल्मपती श्यामराजा बिक्रम थापाले अनलाइनखबरलाई जानकारी दिए । सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकप्टरले सपनालाई बिहान ११ बजेतिर कोहलपुर लगेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment