Comments Add Comment

जहाँबाट फैलियो कोरोना भाइरस, त्यही सहरमा अब एक जना पनि छैन बिरामी

१५ वैशाख, काठमाडौं । चीनको वुहान सहरबाट कोरोना भाइरस (कोभिड–१९) को महामारी विश्वभर फैलिएको थियो । आइतबार त्यही वुहानमा कोरोना भाइरसका बिरामीको संख्या शून्यमा झरेको छ ।

वुहानका अस्पतालहरूका रहेका कोभिड–१९ का सबै बिरामीलाई डिस्चार्ज गरिएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले यो उपलब्धि वुहानका स्वास्थ्यकर्मीको कडा मेहनत र उनीहरूको सहयोगको कारण नै सम्भव भएको बताएका छन् ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार फेङले शुक्रबार वुहानका अन्तिम बिरामीलाई डिस्चार्ज गरिएको बताएका छन् । अहिले यो सहरमा कोभिड–१९ का बिरामीको संख्या शून्य छ ।

हुबेईका स्वास्थ्य आयोगले शनिबार वुहानमा कुनै संक्रमण र यसबाट मृत्यु हुने मानिसको संख्या सार्वजनिक गरेको थिएन । ११ जना मानिस रोग ठिक भएको कारण घर फर्किएका थिए । अहिलेसम्म हुबेईमा ६८ हजार एक सय २८ जना मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमध्ये ५० हजार तीन सय ३३ वुहानका छन् ।

वुहानबाट फैलिएको थियो भाइरस

गत डिसेम्बरमा पहिलोपटक वुहानमा कोरोना भाइरस (कोभि–१९) का संक्रमित फेला परेका थिए ।

यो भाइरसको सबैभन्दा धेरै असर त्यहीँ देखिएको थियो । चीनले डिसेम्बरको अन्तिममा आधिकारिक रुपमा यो भाइरसबारे थाहा पाएको बताएको छ भने जनवरी २३ देखि हुवेइमा लकडाउन घोषणा ग¥यो । घोषणा गरेको ७६ दिन पछि अप्रिल ८ बाट लकडाउन हटायो ।

तर, सुरुमा अमेरिका र अन्य मुलुकहरुले लकडाउन ढिला मात्र सुरु गरिएको भन्दै चीनको आलोचना गरेका थिए । वुहानमा समयमा नै लकडाउन नगरेको कारण यो भाइरसले विश्वभर फैलिने मौका पाएको उनीहरूको आरोप छ ।

साथै, चीनमाथि यो भाइरस प्रयोगशालामा बनेको आरोप पनि पश्चिमा मुलुकले लगाउँदै आएका छन् । तर, चीनले यसलाई अस्वीकार गर्दै आएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले पनि यो भाइरस प्राकृतिक भएको बताइसकेको छ ।

वुहानको तथ्यांकमाथि प्रश्न

चीनमाथि सही तथ्यांक सार्वजनिक नगरेको आरोप पनि छ । चीनले पनि हालसालै मात्र वुहानमा कोरोन भाइरसबाट मृत्यु हुनेको संख्या परिमार्जित गरेर ५० प्रतिशत बढाएको थियो ।

चीनको प्रशासनले १६ अप्रिलसम्ममा मृतकको संख्या एक हजार दुई सय ९० ले बढी रहेको बताएको थियो । त्यससँगै वुहानमा मृतकको संख्या तीन हजार आठ सय ६९ पुगेको थियो । त्यससँगै समग्र चीनमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या चार हजार ६ सय ३२ पुगेको छ ।

चीनको विदेश मन्त्रालयले भने यसअघि छुटेका मृतकको संख्या यसमा समावेश गरिएको बताएको छ । चिनियाँ अधिकारीहरूका अनुसार वुहानबाट मानिसहरू नयाँ वर्ष मनाउन ५० लाखभन्दा धेरै मानिस बाहिर गएका थिए । त्यहाँबाट नै यो भाइरस विश्वभर फैलिएको हो ।

अझै अवस्था सामान्य छैन

चीनको वुहानमा अप्रिल ८ देखि लकडाउन सकिए पनि अवस्था अझै पनि पूर्णरुपमा सामान्य बन्न सकेको छैन । वुहानमा कुनै पनि लक्षण नदेखिएका बिरामीको संख्या पनि बढिरहेको छ । शनिबारसम्म हुबेइमा यस्ता पाँच सय ७२ संक्रमित भेटिएका छन् । उनीहरूको निगरानी गरिएको छ । आइतबार पनि यहाँ यस्ता १९ संक्रमित फेला परेका थिए ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment