१५ वैशाख, डोटी । लकडाउनका कारण दैनिक छाक टार्न समस्या भएका परिवारलाई वितरण गर्न लागिएको राहातले विवाद निम्त्याएको छ ।
सोमबार दिपायल सिलगढी नगरपालिकाको टोली राहात वितरण गर्नका लागि वडानम्बर २ मा पुग्यो । वडा कार्यालयले उपलब्ध गराएको सूची अनुसार ३४ जनालाई राहात वितरण गर्न गएको नगर प्रमुख मन्जु मलासीसहितको टोलीमाथि प्रश्नको ओइरो लाग्यो । सयौंको संख्यामा जम्मा भएका स्थानीहरुले आफूले पनि राहात पाउनु पर्ने भन्दै बिरोध गरे ।
लकडाउनको समयमा धेरै भिडभाड नगर्नु भन्ने सरकारी निर्देशन उलंघन हुने गरी जम्मा भएका व्यक्तिहरुले जनप्रतिनिधिहरुको कडा आलोचना गरे ।
नगरपालिकाले आफूहरुलाई दुई घण्टाभित्र नामावली उपलब्ध गराउन भनेपछि केही व्यक्तिहरुसँग मात्रै छलफल गरेर ३४ जनाको नाम पठाएको वडानम्बर २ का अध्यक्ष राजेन्द्रबहादुर खड्का बताउँछन् ।
उनले आफूलाई राहात पाउने व्यक्तिहरुको नामावली तयार गर्न नगरपालिकाले समय थोरै दिएको आरोप लगाए । उनले छुटेका व्यक्तिहरुलाई फेरि राहात बितरण गर्नु पर्ने अडान राखे ।
नगरपालिकाले तीन दिन अगाडिनै पत्राचार गरिसकेको दाबी गर्यो । नगर प्रमुख मलासीले सबै वडामा एकै दिन पत्राचार गरेको दाबी गरिन् ।
उनले उक्त वडाको पत्र पनि समयमै आएको तर नामावली नआएपछि वडाध्यक्षलाई छिटो नामावली पठाउन भनी फोन गरेको बताइन् ।
खोज्दै जाँदा नगरपालिकाले पठाएको पत्र वडा सचिवले बुझेको जानकारी प्राप्त भयो । ‘पत्र वडा सचिवले बुझेको मैले अहिले जानकारी पाएँ,’ वडाध्यक्ष खड्काले भने, ‘केही हाम्रो पनि कमजोरी भएको रहेछ ।’ उनले छुटेका व्यक्तिहरुले राहत पाउनु पर्ने अडान दोहोर्याए ।
विवाद बढ्दै गएपछि भएको छलफलमा वडास्तरको सर्वदलीय संयन्त्र र वडासमितिले संयुक्त रुपमा अनुगमन गरी वडाभित्र वास्तविक समस्यामा परेका परिवारहरुलाई थप राहात वितरण गर्ने सहमतिसहित ३४ जनालाई राहात वितरण गरिएको छ ।
यस्तै के आईसिंह गाउँपालिका वडानम्बर ६ को वडा कार्यालयमा राहात वितरणकै कारण तालावन्दी भएको छ ।
राहत वितरणमा पक्षपात भएको भन्दै स्थानीयले तालावन्दी गरेका हुन । सरकारले दैनिक ज्यालादारी गर्ने तथा विपन्न परिवारलाई राहत वितरण गर्नु बताए पनि पक्षपात गरी हुनेखानेलाई वितरण गरेका कारण तालाबन्दी गरेको स्थानीय एकेन्द्र भट्टले बताए ।
वडाध्यक्ष दीपबहादुर बलायरले आफूलाई भोट नदिएका आधारमा विपन्न परिवारलाई राहत पाउनेको सूचीमा समाबेश नगरेको भट्टले आरोप छ । विपन्न परिवारलाई राहत नदिएसम्म तालाबन्दी नखोल्ने उनी बताउँछन् ।
राहत पाउनै पर्ने ब्यक्तिले नपाएको भए तत्काल नाम समाबेश गरेर राहत दिने गाउँपालिकाका अध्यक्ष लोकेन्ऽ शाहीले बताए । ‘छोटो समयमा नाम संकलन गर्दा छुटेको भए हामी सच्चाउन तयार छौँ,’ अध्यक्ष शाहीले भने, ‘मैले त्यो कुरा राहत वितरण कार्यक्रममा समेत भनेको छु ।’ घटनावारे सवै कुरा बुझ्नका लागी गाउँपालिकाको टोली वडानम्बर ६ मा पठाइएको अध्यक्ष शाहीले बताए ।
उक्त वडामा आइतबार राहात वितरण गरिएको थियो । वडानम्बर ६ का अध्यक्ष दिपबहादुर बलाएरको फोन स्वीच अफ भएका कारण सम्पर्क हुन सकेन ।
यस्तै अन्य स्थानीय तहहरुमा पनि राहात वितरणमा पक्षपात गरेको व्यापक जनगुनासो आउन थालेको छ । राहात वितरण फेसन जस्तो भएको छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4