Comments Add Comment

भारतका प्लाज्मा दाताको कहानी

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीले विश्व आक्रान्त छ । अहिलेसम्म यसको उपचार पनि पत्ता लागेको छैन । त्यसैले प्लाज्मा थेरापीबाट उपचार परीक्षण सुरु गरिएको छ ।

यसले धेरै मानिसहरूलाई ठिक पार्न सकिने अपेक्षा छ । अहिलेसम्मको नतिजा पनि सकारात्मक छ । भारत सरकारले पनि निको भएर घर फर्किएका कोभिड–१९ का बिरामीलाई प्लाज्मा दान गर्न आग्रह गरिरहेको छ ।

तर, धेरै कारणले मानिसहरू प्लाज्मा दान गर्न आउन मानिरहेका छैनन् । त्यसका लागि केहीले भने आफूले प्लाज्मा दान गर्नुका साथै अरूलाई पनि यो कार्यका लागि प्रेरित गरिरहेका छन् । यस्तै एक दाता हुन् गुजरात अहमदावादकी सुमिती सिंह ।

कोरोना भाइरसलाई जितेकी सुमिती अहिले अरू बिरामीलाई बचाउन प्लाज्मा दान गरिरहेकी छिन् । फिनल्याण्डबाट भारत फर्केकी उनलाई कोरोना भाइरसको सामान्य लक्षण देखिएको थियो । उनलाई मार्च १८ मा अहमदावादको सरदार वल्लभभाइ पटेल अस्पतालमा भर्ती गरिएको थियो । उनी मार्च २९ मा निको भएर घर फर्किएकी थिइन् । उनलाई अक्सिजन र भेन्टिलेटरको आवश्यकता परेको थिएन ।

डाक्टरले हटाइदिए आशंका

उनी निको हुँदा प्लाज्मा थेरापीको अहिलेको जति चर्चा थिएन । साथै, यसको परीक्षण सुरु पनि भएको थिएन । तर, फलोअप चेकअपका लागि १४ दिनपछि अस्पताल जाँदा डाक्टरले उनलाई अरू बिरामीलाई सहयोग गर्न सक्ने बताएका थिए । सुमिती अरूलाई सहयोग त गर्न चाहन्थिन् । तर, उनको मनमा विभिन्न किसिमको आशंका थियो ।

प्लाज्मामा कोरोना भाइरसविरुद्ध लड्ने एन्टिबडी हुन्छ । यो दान गर्दा आफ्नै शरीरमा एन्टिबडी कम हुने त होइन ? प्लाज्मा दान गर्दा दुख्ने र अन्य समस्या हुने त हुँदैन ? यसको निडलबाट कुनै संक्रमण त फैलिने होइन ? भन्ने जस्ता धेरै प्रश्नहरू उनको मनमा आइरहेका थिए ।

डाक्टरले उनको सबै प्रश्नको जवाफ दिए । डाक्टरले उनलाई शरीरले धेरै एन्टिबडी बनाउने र दान गर्दा त्यसको केही हिस्सा मात्र दान गरिने बताए । साथै, यो रक्तदान जस्तै प्रक्रिया रहेको पनि उनले बताइदिए । यसमा प्रयोग हुने निडल नयाँ प्रयोग गरिन्छ । जसको कारण संक्रमणको जोखिम पनि कम हुन्छ ।

५०० एमएल प्लाज्मा दान

आफ्नो सबै प्रश्नको जवाफ पाएपनि अरूको ज्यान बचाउने प्रयास स्वरुप सुमितीले प्लाज्मा दान गर्ने निर्णय गरिन् । समग्र प्रक्रियाको लागि ३० देखि ४० मिनेट लाग्यो र उनको शरीरबाट ५०० एमएल प्लाज्मा निकालियो । यसअघि उनले रक्तदान पनि गरेकी थिइनन् । उनको लागि यो सबै प्रक्रिया नयाँ थियो ।

सजिलो प्रक्रिया

सुमितीका अनुसार सुरुमा उनको रगत परीक्षण गरियो । जसमा उनको शरीरमा एन्टिबडी छ कि छैन, हेमोग्लोबिन कति छ, एचआईभी, हेपाटाइटिसजस्ता रोग छ कि छैन भनेर परीक्षण गरिन्छ । सबै कुरा ठिक भएपछि शरीरबाट रगत निकालिन्छ । निकालिएको रगत ट्युबमार्फत एक मेसिनमा जान्छ । त्यसले रगत र प्लाज्मालाई छुट्याउँछ । त्यसपछि रगत शरीरमा नै फिर्ता पठाइन्छ । प्लाज्मा पहेँलो रङको हुन्छ ।

कोरोनाबाट निको भएकाले गर्न सक्छन् प्लाज्मा दान

प्लाज्मा दान कोरोना भाइरस निको पार्नका लागि गरिन्छ । त्यसैले त्यसका लागि प्लाज्मामा एन्डिबडी हुनु जरुरी हुन्छ । यस किसिमको एन्टिबडी एकपटक कोरोना भाइरस लागेर निको भएका मानिसमा मात्र विकास भएको हुन्छ । त्यसैले निको भएका संक्रमितलाई यसका लागि चुनिन्छ । तर, यसमा दिने मानिसको स्वीकृति अनिवार्य हुन्छ । एकजना मानिसबाट निकालिएको प्लाज्मा दुईजनाको उपचारमा प्रयोग गर्न सकिने बताइएको छ ।

स्रोत ः बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment