Comments Add Comment

पर्यटन मजदुरका लागि विकल्प खोज्दैछौं : पर्यटनमन्त्री

१६ वैशाख, काठमाडौं । कोभिड १९ का कारण पर्यटकीय गतिविधि शून्यमा झरेको छ । यसले यातायात (हवाई, सडक), होटेल, ट्रेकिङ-ट्राभलसहित अन्य पर्यटकीय क्षेत्रमा कार्यरत मजदुरको रोजिरोटी गुमिरहेको छ । कोभिड १९ का कारण करीव ९ लाख पर्यटन मजदुर प्रभावित हुने अवस्था देखिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जानकारी दिएका छन् ।

मंगलबार ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) र नेपाल टेकिङ ट्राभल राफ्टिङ एयरलाइन्स संस्कृति पुरातात्विक कार्गो कुरियर श्रमिक युनियन (युनिट्राव)का पदाधिकारीसँगको भेटमा मन्त्री भट्टराईले उक्त धारणा राखेका हुन् । पर्यटन मन्त्री भट्टराईका अनुसार पर्यटन क्षेत्रमा मात्र करीव ८-९ लाख प्रत्यक्ष रोजगारी रहेको अनुमान गरिएको छ । उनीहरुमा लाखौं परिवार समेत रहेका छन् ।

उनका अनुसार श्रमिकलाई सरकार वा सम्वन्धित कम्पनी जमानी बसेर सहुलियत दिने सम्बन्धमा गृहकार्य भइरहेको छ । पर्यटनमा आवद्ध श्रमिक हाइड्रो पावर, सडक निर्माण, विमानस्थल निर्माण, सगरमाथा सरसफाई, सम्पदा सरसफाइलगायतमा जान समेत सकिने गरी वैकल्पिक रोजगारीका लागि समेत गृहकार्य थालिएको पर्यटन मन्त्री भट्टराईले जानकारी दिएका छन् । उनले व्यवसायीलाई कसरी वित्तिय सहयोग उपलब्ध गराउन सकिन्छ भन्ने सम्बन्धमा अभ्यास भइरहेको जानकारी दिए ।

मन्त्री भट्टराइले कोरोना भाइरस (कोभिड-१९) का कारण पर्यटन क्षेत्रमा परेको असरलाई पुर्नजीवन दिने गरी सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम तथा वजेटमार्फत ठोस कार्यक्रम ल्याउने उल्लेख गरेका थिए । सरकार एक्लैको प्रयासबाट यो क्षेत्रलाई माथि उकास्न नसकिने भन्दै सरकार र निजी क्षेत्रको संयुक्त पहलमा मात्र व्यवसायीको लगानी र श्रमिक तथा कर्मचारीको जीवनयापन सुरक्षित गर्न सकिने उनको भनाइ थियो ।

प्रकोपसहित विविध उतार चढावले पहिलो निशाना पर्यटन क्षेत्रमा पर्ने भन्दै उनले जनसंख्याको ठूलो हिस्सा धानेको पर्यटन क्षेत्रलाई फेरी कसरी व्युताउँन सकिन्छ भनेर सरकारले गृहकार्य गरिरहेको बताए । नेपालको पर्यटन क्षेत्रमा १५ खर्व ९५ अर्व भन्दा वढी लगानी रहेको अनुमान सरकारको छ ।

टान र युनिट्रावका तर्फबाट बुझाईएको ध्यानाकर्षण पत्रमा ब्याज मिनाहा, एक बर्ष सम्म विना धितो दुई प्रतिशत व्याजदरमा २० लाख सम्मकर्जा सुविधा तथा घरभाडा छुटका लागि पहल गर्नुपर्ने माग गरिएको छ । टिम्स अन्तर्गत मजदुर कल्याणकारी कोषमा जम्मा भएको रकम श्रमिक हितको लागि प्रयोग गर्नुपर्ने, ट्रेकिङ कम्पनीको नवीकरणको समयावधि ६ महिना थप्नु पर्ने, आउँदो बजेटमार्फत पर्यटन क्षेत्रमा विशेष छुटका योजना ल्याउनुपर्ने सहित माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment