Comments Add Comment
ओली र प्रचण्डसमूहको अन्तरकथा :

ओली समूहमा दुई लाइन : एउटा सहमति खोज्ने, अर्को भिड्ने !

पूर्वमाओवादीमा पनि दुई धार– समझदारी गर्ने कि हटाउने ?

१७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा रहँदै आएका नेकपाका हस्तीहरू ईश्वर पोखरेल, विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ र शंकर पोखरेल पार्टी एकता जोगाउन र अर्को पक्षलाई समझदारीमा ल्याउन प्रयत्नरत छन् ।

पार्टी एकता जोगाउनकै लागि मुख्यमन्त्री शंकर पोखरेल बुटबलबाट काठमाडौं आएर कहिले कोटेश्वर त कहिले खुमलटार गरिरहेका छन् । उनले आवश्यक परे मुख्यमन्त्रीसमेत त्याग्न तयार रहेको नेतृत्वलाई बताएका छन् । अरू नेताहरू पनि दुरी घटाउन लागिपरेका छन् ।

तर, केपी ओलीकै निकटस्थ रहेका अन्य केही नेताहरू चाहिँ पार्टीमा एकताभन्दा पनि मुठभेड निम्त्याउने तयारीमा छन् । उनीहरू विभिन्न सांसदलाई लिएर बालुवाटार जाने र संसदीय दलमा प्रधानमन्त्रीलाई बहुमत पुर्‍याइन्छ, तपाईं नझुक्नोस् भन्दै उक्साउन सक्रिय बनेका छन्।

प्रधानमन्त्री ओलीलाई संसदीय दलमा बहुमत देखाउने अभियानमा सांसद महेश बस्नेतसहितको टोली सक्रिय बनेको छ । यो टोलीमा सांसद किसान श्रेष्ठलगायतका अन्य सांसद पनि सक्रिय भएर लागेका छन् । उनीहरू विभिन्न सांसदलाई भेट्ने र ओलीतिर नजिक ल्याउने कार्यमा सक्रिय बनेका छन् ।

बालुवाटारको रणनीति हेर्दा केपी ओलीका समर्थकहरूमै दुई लाइन देखिन्छ । एकथरि नेता समझदारीका लागि प्रयासरत छन् भने अर्काथरि नेताहरू माधव नेपाल–प्रचण्ड समूहप्रति आक्रामक देखिएको छ ।

जस्तो– ओली समूहमै रहेका कतिपयले पूर्वमाओवादीका प्रभु साहलाई आफूतिर तान्न खोजिरहेको देखिन्छ भने अर्को समूहले उनलाई ‘बाबुरामबाट जोगाइएका काशी तिवारीका हत्यारा’ भनेर बदनाम गर्ने काम पनि सँगसँगै गरिरहेको छ । विशेषगरी महेश बस्नेतको निकट रहेका युवा संघका नेता-कार्यकर्ताहरू प्रभु साहविरुद्ध लागेका छन् ।

समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई महोत्तरीबाट उठाएर ल्याएपछि सरकार आलोचनाको शिकार भयो । तर, यही घटनामा बाबुराम भट्टराईविरुद्ध महेश बस्नेतनिकट युवा संघका कार्यकर्ताहरू मुद्दा ममिलामै उत्रिएर वातावरणलाई झनै उत्तेजित बनाउने काम गरिरहेका छन् । तर, युवा संघका संयोजक दीपशिखाको पहलमा युवा संघ अहिले ‘ब्याक’ हटेको स्रोतले बतायो ।

प्रचण्ड समूहमा पनि दुई धार : ओलीलाई हटाउने कि समझदारी गर्ने ?

नेकपाभित्र प्रचण्डले नेतृत्व गरेको पूर्वमाओवादी समूहमा पनि दुई धार देखिएको छ । नेकपाभित्र माधव नेपाल पक्षले प्रधानमन्त्री ओलीलाई दुवै पदबाट हटाउने चेतावनी दिइरहेका बेला पूर्वमाओवादी खेमाका केही नेताले केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउनु हुन्न भन्दै ओली र प्रचण्डबीचको एकतामा जोड दिएका छन् ।

ओलीले दुईमध्ये एक पद नछाडे प्रधानमन्त्रीबाट हटाउने चेतावनी नेपाल पक्षले दिइसकेको छ । प्रचण्डले पनि ओलीलाई निकास दिन सुझाइरहेका छन् । बुधबार साँझको सचिवालय बैठकबाट स्थायी कमिटी बैठक बोलाउन ओलीमाथि दबाब दिने रणनीति छ ।

नेकपा स्रोतका अनुसार पूर्वमाओवादीतर्फका केही नेताले प्रचण्डलाई भेटेरै पार्टी एकता जोगाउन र पूर्वएमालेको झगडामा एउटाको पक्ष नलिन सुझाव दिएका छन् । प्रचण्डलाई यस्तो सुझाव दिनेमा शक्ति बस्नेत, टोपबहादुर रायमाझी, लेखराज भट्ट, देवेन्द्र पौडेल, दीनानाथ शर्मा, प्रभु साह लगायतका नेता रहेको स्रोत बताउँछ । उनीहरूले पार्टी फुटबाट जोगाउन प्रचण्डको भूमिका हुनुपर्नेभन्दै अहिलेको अवस्थामा दुई अध्यक्षबीचको समझदारीमा जोड दिएका छन् ।

स्थायी कमिटी सदस्य पौडेलले पार्टी फुट्न नदिन सबै नेताहरू जिम्मेवार बन्नुपर्ने बताए । अहिलेको समस्याको समाधान प्रधानमन्त्री र अध्यक्ष समेत भएकाले केपी ओलीले दिनुपर्ने भन्दै पार्टीका बैठकमा छलफल हुँदा निकास आउने बताए । उनले आफूहरूले प्रचण्डलाई पार्टी एकताको पहल लिन आग्रह गरिरहेको बताए ।

त्यस्तै, मंगलबार मात्र प्रचण्डलाई भेटेर सुझाव दिएका प्रदेश २ का अध्यक्ष प्रभु साहले ओलीको विकल्प पूर्वएमालेकै अर्का कुनै नेता हुन नसक्ने बताए । उनले अहिले सरकार परिवर्तनको खेलमा प्रचण्ड लाग्न नहुने र ओली हटाउनै परे प्रचण्ड नै प्रधानमन्त्री बन्ने शर्तमा मात्र आफूहरूको साथ दिने उनको भनाइ रहेको स्रोतको दाबी छ ।

प्रचण्ड समूहमा रहेका जनार्दन शर्मा, हरिबोल गजुरेल, देव गुरुङ लगायतका नेताहरू भने केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने पक्षमा छन् ।

प्रचण्डले सबै नेताहरुका कुरा सुनिरहेका छन् । ओलीको कार्यशैलीबाट आजित भएका प्रचण्डले उनी सुध्रिने सम्भावना नदेखिएको बताउने गरेका छन् । ओलीलाई भेट्न बालुवाटार जानुअघि प्रायः प्रचण्डले माधव नेपाललाई भेटेर वा फोनमा जानकारी दिने गरेका छन् ।

उनी ओलीबाट अपमानित महसुस गरेकै कारण नेपाल पक्षसँग मिलेको पूर्वमाओवादी नेताहरुको भनाइ छ । ओलीले यसबीचमा पनि सांसदहरूसँग भेट्ने, पूर्वमाओवादीका सांसद तथा केन्द्रीय सदस्य आफूतिर तान्ने प्रयास गरिरहेको प्रचण्डनिकट नेताहरू बताउँछन् ।

यो पनि पढ्नुहोस लेखराज भट्ट केपी ओलीतिर लाग्दा प्रचण्ड ढुक्क !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment