Comments Add Comment

सुदूरपश्चिममा कोरोना संक्रमणको जोखिम कति ?

१७ वैशाख, कैलाली । १४ चैतमा दुबईबाट आएका युवकमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि धेरैको ध्यान सुदूरपश्चिमतिर तानियो । किनकी काठमाडौं उपत्यकाबाहिर पहिलो पटक कोभिड–१९ को संक्रमण देखिएको थियो ।

२२ चैतमा दुबईबाट आएका युवकको परिवारको सदस्यमा पनि कोरोना संक्रमण पुष्टि भएपछि नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको थियो ।

त्यसै दिन सुदूरपश्चिमका अरु तीन पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएपछि धेरैले अनुमान गरेका थिए, नेपालको कोरोना संक्रमणको हटस्पट सुदूरपश्चिम प्रदेश नै बन्ने छ । लकडाउन भइसक्दा पनि भारतबाट लुकिछिपी नेपाल प्रवेश गरिरहेको घटनाले त्यसमा आशंका गर्ने ठाउँ पनि थियो ।

त्यतिबेलासम्म नेपालमा देखिएका ९ जना कोरोना संक्रमितमध्ये ४ जना सुदूरपश्चिमकै थिए ।

संघीय सरकारले सुदूरपश्चिम प्रदेशमा उच्च जोखिम रहेको भन्दै र्‍यापिड टेष्ट गराउने निर्णय गर्‍यो । धनगढीमा कोरोना परीक्षण गर्ने प्रयोगशाला स्थापना भयो भने ३३ जना विशेषज्ञ चिकित्सक कोरोना संक्रमितको उपचारकै लागि खटिए ।

तर त्यसपछि वीरगञ्जबाट आएकी एक महिलामा १ वैशाखमा संक्रमण देखिनुबाहेक सुदूरपश्चिममा अरु संक्रमित भेटिएनन् । पाँच संक्रमितमध्ये चार जना निको निको भएर घर गइसकेका छन् । एक महिला सेती अस्पतालमा उपचाररत छिन् ।

‘पछिल्लो दुई सातायता प्रदेशमा नयाँ संक्रमित फेला परेका छैनन्’ स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले भने ।

एक महिना अघिसम्म देशकै उच्च जोखिममा रहेको प्रदेशमा पछिल्लो समय कोरोना नियन्त्रण हुँदै गएको उनको भनाइ छ । ‘हामीले निरन्तर ¥यापिड टेष्ट गरिरहेका छौँ । स्वाब कलेक्सन गरेर पनि परीक्षण गरेका छौं । तर दुई सातासम्म कुनै संक्रमित देखिएका छैनन्’ उनले भने, ‘यसलाई केही नियन्त्रणमा आएको भन्न सकिन्छ ।’

सुदूरपश्चिम प्रदेशमा बुधबारसम्म १२ हजारभन्दा बढीको र्‍यापिड टेष्ट गरिएको छ । र्‍यापिड टेष्टमा पोजेटिभ देखिएका १२ जनाको प्रयोगशालामा जाँच गर्दा कोरोना संक्रमण नभएको पाइएको छ ।

स्वास्थ्य निर्देशक अवस्थीले परीक्षणको दायरा फराकिलो बनाउँदा पनि संक्रमित फेला नपर्नुलाई केही नियन्त्रणमा आएको भएको मान्न सकिने बताए । ‘पूर्णरुपमा नियन्त्रणमा आयो भन्न सकिन्न, तर संक्रमित फेला नपर्नुलाई सकारात्मक रुपमा लिन सकिन्छ’ उनले भने, ‘हामीले सबै स्थानीय तहमा परीक्षण गरिरहेका छौं ।’

‘ढुक्क हुन सकिन्न’

कोरोना संक्रमित बिरामीको उपचारमा खटिएका चिकित्सकहरुले भने दुई सातासम्म संक्रमित फेला नपर्दैमा ढुक्क हुन नसकिने बताएका छन् ।

‘अझै भारतलगायत तेस्रो मुलुकबाट ठूलो संख्यामा आएकाहरुको परीक्षण हुन सकेको छैन’ सेती प्रादेशिक अस्पतालमा वरिष्ठ फिजिसियन डा. निराजनदत्त शर्माले भने, ‘ठूलो संख्यामा परीक्षण नहुँदासम्म कोरोना नियन्त्रण भयो या भएन भन्न सकिन्न ।’

उनले बिरामीको चेतनामा कमी हुँदा स्वास्थ्यको पहुँमा नआएको पनि हुन सक्ने बताए । ‘अहिले बिरामी भेटिएन भन्दैमा कोरोना संक्रमण छैन भन्न सकिन्न’ उनले भने, ‘उनीहरु परीक्षणको दायरामा नआएको पनि हुन सक्छन् ।’

उनले ग्रामीण तथा विकट क्षेत्रमा मोवाइल टोली बनाएर परीक्षणको दायरा अझै बढाउन आवश्यक रहेको बताए ।

कहाँ कति भए परीक्षण ?

सुदूरपश्चिम प्रदेशमा हालसम्म दुई हजार ७७५ जनाको पीसीआर र १२ हजार ९८६ जनाको र्‍यापिड परीक्षण गरिएको छ ।

र्‍यापिड टेस्ट कैलालीमा ५ हजार ३ सय ३५, कञ्चनपुरमा १ हजार ८ सय १८,डोटीमा १ हजार ६ सय ८९, दार्चुलामा ७ सय ३, डडेल्धुरामा २ सय २०, बाजुरामा १ हजार ७५,बझाङमा ७ सय ९०, बैतडीमा ४ सय ४९ र अछाममा ८ सय ५७ जनाको गरिएको छ ।

अब आउनेहरुबाट डर

पछिल्लो केही दिनयता देशका विभिन्न क्षेत्रबाट सुदूरपश्चिम प्रदेशमा ८ हजार बढी मानिस भित्रिएका छन् । स्वास्थ्य परीक्षणबिना आएका उनीहरुबाट पनि संक्रमणको जोखिम रहेको स्वास्थ्य निर्देशक अवस्थीले बताए ।

महाकाली पारी भारतीय भूमिमा दुई हजार जना नेपाली स्वदेश फर्किने आशामा एक महिनादेखि बसिरहेका छन् । ‘नेपालको संक्रमित जिल्लाबाट आएकाहरुबाट पनि जोखिम बढाउँछ’ उनले भने, ‘भारतको उत्तरप्रदेश र उत्तराखण्डबाट आउनेहरुबाट पनि संक्रमण बढ्न सक्छ ।’

भारतमा उत्तर प्रदेश जोखिमको छैटौं स्थानमा रहको र उत्तराखण्ड १९ औं स्थानमा छ ।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्का पनि अन्य ठाउँबाट आइरहेकाहरुबाट जोखिम बढ्न सक्ने बताउँछन् ।

त्यो भन्दा ठूलो जोखिम भारतमा रहेका नेपालीहरुबाट रहेको उनको भनाइ छ । ‘भारतमा प्रत्येक दिन संक्रमण बढ्दो अवस्थामा छ’ उनी भन्छन् ‘उनीहरुको सही व्यवस्थापन हुन सकेन भने अवस्था भयावह हुनसक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment