Comments Add Comment

एडीबीले नेपाललाई ३० अर्ब ऋण सहयोग गर्ने

बैंकका अध्यक्षलाई अर्थमन्त्रीको धन्यवाद

१७ वैशाख, काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले नेपाललाई २५ करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने भएको छ । बैंकले २५० मिलियन अमेरिकी डलर (करीव ३० अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण बजेट सहायताको रुपमा प्राप्त हुने र अनुदान सहयोगमा तीन लाख अमेरिकी डलर बराबरका स्वास्थ्य सामग्री प्रदान गर्न लागेको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

बुधबार अर्थमन्त्री डा. युवराज खतिवडा र एशियाली विकास बैकका अध्यक्ष मासाचुगु आसाकावाबीच टेलिफोन वार्ता भएको छ । वार्तामा उक्त सहायता उपलब्ध गराउन लागेकोमा अर्थमन्त्रीले अध्यक्ष आसाकावालाई धन्यवाद व्यक्त गरेका छन् ।

अर्थमन्त्री डा. खतिवडा र अध्यक्ष आसाकावा बीच कोभिड- १९ का कारण परेको असर र त्यसमा बैंकले गर्न सक्ने सहयोगबारे छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ । उक्त अवसरमा अर्थतन्त्रमा पार्ने प्रभाव, एशियाली विकास बैकले नेपाललाई गरिरहेको सहयोग र आगामी दिनमा नेपालको विकासका प्राथमिकताका क्षेत्रमा बैंकले गर्न सक्ने थप सहयोगका विषयमा छलफल भएको बताइएको छ ।

अर्थमन्त्रीले कोभिड – १९ को रोकथाम तथा नियन्त्रणका लागि नेपालले लिएको रणनीतिबाट ठूलो संक्रमण हुन नपाएको जानकारी अध्यक्षलाई गराएका थिए ।

अर्थमन्त्रीले एशियाली विकास बैंक नेपालको मुख्य विकास साझेदार रहेको बताउँदै बैंकले ऊर्जा, यातायात, खानेपानी र शहरी विकास लगायत ग्रामीण उद्यम क्षेत्रमा गरेको सहयोगप्रति प्रशंसा गरेका थिए । नेपालले अंगिकार गरेको संघीय प्रणालीको प्रतिफल आम नागरिकले पाउन सक्ने तुल्याउनका लागि संघीय संरचनाका सबै संस्थाहरु बलियो बनाउनु पर्ने र अतिरिक्त स्थानीय पूर्वाधार विकासमा लगानी बढाउनु पर्ने आवश्यकता नेपालसँग रहेको उनले बताएका थिए । यस सन्दर्भमा स्थानीय तहहरु बीच अन्तरआवद्धता बढाउन चाहिने पूर्वाधार विकासमा बैंकबाट सहयोग हुने अपेक्षा गरेका छन् ।

कोरोना संक्रमणबाट वैदेशिक रोजगारीका अवसरहरु खुम्चिँदै जाँदा युवाहरुलाई स्वदेशमै काम गर्ने वातावरण बनाउन आधुनिक एवम् व्यवसायिक कृषि र स्थानीय पूर्वाधार एवम् ग्रामीण वित्त व्यवस्था विस्तारमा लगानी गर्नुपर्ने आवश्यकता रहेकोले यी क्षेत्रमा सहायता बढाउन एशियाली विकास बैंकलाई अर्थमन्त्रीले आग्रह गरेका छन् ।

एशियाली विकास बैंकका अध्यक्ष आसाकावाले कोभिड -१९ को नियन्त्रणमा नेपालले चालेका कदमहरुको प्रंशसा गर्दै कोभिड -१९ का कारण सिर्जना भएको चुनौतीपूर्ण वर्तमान परिस्थितिलाई सम्बोधन गर्नका लागि बैंकले नेपाललाई सहुलियतपूर्ण ऋण एवम् निजी क्षेत्रका लागि उपलब्ध स्रोतसाधन समेतका माध्यमबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

उनले नेपालको आर्थिक सामाजिक क्षेत्रको विकासका लागि बैंकले सहयोगलाई बढाउँदै समेत जानकारी दिए । आगामी दिनमा बैंकले ऊर्जा, यातायात, नागरिक उड्डयन, संघीयतामा सेवाप्रवाह जस्ता क्षेत्रमा थप लगानी गर्ने बारेमा पनि जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment