Comments Add Comment

रुपन्देहीको सीमा क्षेत्रमा एक हजार सशस्त्र प्रहरी परिचालन

१८ वैशाख, बुटवल । रुपन्देही प्रशासनले कोरोना संक्रमण भित्रिन नदिन भारतीय सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च बनाएको छ । बेलहिया भन्सार नाकाबाट खाद्यान्नका मालवाहक सवारी साधनबाहेक भारतसँग सीमा जोडिएको रुपन्देहीको दक्षिणी भेगबाट कसैलाई पनि प्रवेश गर्न नदिएको प्रशासनको दाबी छ ।

बेलहियादेखि कपिलवस्तुको सीमा क्षेत्रसम्मको ६० किलोमिटर दुरीमा ८९ वटा अस्थायी चेकपोस्टमा एक हजार सशस्त्र प्रहरी परिचालन गरिएको छ । एउटा पोस्टबाट अर्को पोस्टसम्म मानिस आउजाउ गरेको देख्न सकिने गरी पोस्ट खडा गरी चौबीसै घण्टा ड्युटी गर्ने गरी प्रहरी तैनाथ गरिएको सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले बताए । ‘सामान्य अवस्थामा चार सय ५० जनाले सीमा क्षेत्रमा ड्युटी गर्थे,’ पोखरेलले भने, ‘लकडाउनपछि अन्य जिल्लाबाट समेत जनशक्ति ल्याएर एक हजार जना खटाएका छौँ ।’

एउटा पोस्टमा ५ जनादेखि ८ जनाले दैनिक १२ देखि १६ घण्टा ड्युटी गरेर भारततर्फबाट कसैलाई प्रवेश गर्न नदिएको प्रहरी उपरीक्षक पोखरेलले बताए । दैनिक १५ जनादेखि २० जनासम्म सीमा क्षेत्रबाट नेपाल आउन खोज्ने व्यक्तिलाई सम्झाएर भारतीय प्रहरीको जिम्मा लगाउने गरिएको पोखरेल बताउँछन् । ‘विभिन्न नाकाबाट दैनिक १५ देखि २० जना नेपाली र भारतीय नागरिक नेपाल आउन खोज्नुहुन्छ तर हामीले आउन नदिई फर्काइरहेका छौँ,’ प्रहरी उपरीक्षक पोखरेलले भने ।

लकडाउनका कारण रोकिएका एकसय ५४ जना भारतीयलाई २४ दिन नेपालको क्वारेन्टाइनमा राखेपछि भारत पठाइएको र दुई सय १३ जना नेपालीलाई पनि सीमापारिबाट नेपाल ल्याइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए । रुपन्देहीमा अझै ४८ जना भारतीय नागरिक बुटवल, तिलोत्तमा, देवदह, सैनामैना र मायादेवी गाउँपालिकाको क्वारेन्टाइनमा रहेका रुपन्देही प्रहरी प्रमुख एसपी हेमकुमार थापाले बताए । उनीहरू नेपालका विभिन्न विकास आयोजनामा काम गर्दै आएका हुन् ।

मालवाहक ट्रकबाट जोखिम छ : नागरिक अगुवा

प्रशासनले खुला सीमाबाट कसैलाई प्रवेश गर्न नदिएको बताए पनि बेलहिया भन्सार नाकाबाट खाद्यान्न र तरकारी आयात गर्ने ट्रक चालक र सहचालकका कारण कोरोना संक्रमणको जोखिम कायमै रहेको बेलहियाका नागरिक अगुवा रामबहादुर बस्नेत बताउँछन्।

बेलहियाबाट दैनिक करिब डेढ सय मालवाहक ट्रक नेपाल प्रवेश गरिरहेकाले खाद्यान्न, तरकारी तथा चालक र सहचालकका माध्यमबाट संक्रमण भित्रिन सक्ने त्रास रहेको बस्नेत औँल्याउँछन् । ट्रक चालक र सहचालकलाई नाकामा ज्वरो जाँच गरेर र भैरहवा भन्सार  कार्यालयमा भारतबाट आउने ट्रकलाई सेनिटाइजेसन गरिए पनि भरपर्दो र ढुक्क हुने अवस्था नरहेको भन्सार एजेन्ट संघका केन्द्रीय अध्यक्ष एवं बेलहिया निवासी डा. शान्तकुमार शर्माले बताए । ‘अहिलेको मुख्य समस्या भारतबाट भित्रिने खाद्यान्न, तरकारी र भारतीय चालक सहचालक नै हुन्,’ डा. शर्माले भने, ‘हामीले प्रेस विज्ञप्ति नै जारी गरेर केही समयका लागि मालवाहक ट्रक पनि रोकौँ भनेका हौँ, तर सरकारले सुनेको छैन ।’

भारतीय गाउँ कोल्हुईमा चैतको तेस्रो हप्ताको सुरुमै ६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै रुपन्देहीवासीमा भारतीय नागरिकबाट संक्रमण सर्ने हो कि भन्ने त्रास थियो । लकडाउन सुरु भएको सुरुवाती दिनमा छिटफुटरुपमा भारतीय तरकारी व्यापारीहरू मर्चवार लगायत खुला नाकाबाट नेपालतर्फ आउने गरेको गुनासो आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment