Comments Add Comment

‘मन बलियो बनाए कोरोनाले केही गर्न सक्दैन’

१८ वैशाख, काठमाडौं । बागलुङ नगरपालिका– ३, गैडाकोट । साढे दुई तले पक्की घर । सबभन्दा माथिको एउटा कोठा, जहाँ ६५ वर्षीया मनकुमारी पौडेल दुई हप्तादेखि बन्दप्रायः छिन् । यो दुई हप्ता भनेको उनी कोरोना संक्रमणमुक्त भएर घर फर्किएको अवधि हो ।

समय कटाउन कोठामा टेलिभिजन छ । बस्दाबस्दा दिक्क लाग्दा बाहिर निस्किएर हरिया डाँडापाखा र गाउँघर नियाल्न सजिलो छत छ । ‘अस्पतालबाट फर्किएपछि म घरबाट बाहिर निस्किएको छैन । छिमेकीहरू आउने कुरै भएन’, उनी भन्छिन्, ‘पहिले १७ दिन अस्पतालको आइसोलेसनमा, अहिले आफ्नै घरको क्वारेन्टाइनमा छु ।’

दमको रोगी भएपनि मनकुमारीको बोली दमदार छ । घर फिरेपछि दमले अलि सताएको छ, जुन उनको बोलीमा झल्किँदैन । उनले दमविरुद्ध पाँचथरि औषधि खान थालेको पनि १५ वर्ष भइसक्यो । कोरोना संक्रमणपछि उच्च रक्तचापको औषधि पनि थपिएको छ । उनी भन्छिन्, ‘अस्पताल बस्दा त सहज नै थियो, घर आएपछि छाती दुख्न थालेको छ ।’

बिहान अबेर उठ्छिन् मनकुमारी । उठेर घरकै भैँसीको एक गिलास तातो दूध खान्छिन् । त्यसपछि एक गिलास तातोपानी थप्छिन् । अलिबेरमा छोराबुहारीले कोठामै खाना ल्याइदिन्छन् । खानामा रुचि घटेको छैन । कोरोनासँग पनि कहिल्यै डरको अनुभव भएन ।

०००

छोराबुहारी भेट्न बेल्जियम गएकी मनकुमारी फर्किँदा कोभिड–१९ संक्रमित भइन् । ४ चैतमा नेपाल आएकी उनलाई १७ गते यो कुरा थाहा भयो । त्यस लगत्तै उनलाई धौलागिरि अञ्चल अस्पताल ल्याइयो । त्यहाँको आइसोलसनमा बागलुङकै अर्की कोरोना संक्रमित १९ वर्षीया किशोरीलाई पनि राखिएको थियो ।

एक जोर कपडा, पानी तताउने भाँडो र मेमोरी भएको तर राम्रो फोटो नखिच्ने एउटा मोबाइल बोकेर एम्बुलेन्समा उनी नौ बजेतिर धौलागिरि अञ्चल अस्पतालको आइसोलेसनको वार्डमा पुगेकी थिइन् । उनी आइसोलेसन कोठाभित्र पस्दा बागलुङ मात्र होइन नेपालभर कोरोनाको त्रास फैलिएको थियो ।

नेपालको छैटांै कोरोना संक्रमित मनकुमारीलाई भने कति पनि आत्यास लागेन । उनी आइसोलेसनको नियम पालना गरेर ढुक्कले बसिन् । उनी भन्छिन्, ‘डाक्टर–नर्स आउँदा तपाईंलाई न ज्वरो आएको छ न खोकी लागेको छ । केही पनि भएको छैन भन्थे ।’

उनको रक्तचाप भने पहिलो दिनदेखि नै बढेको थियो । पीपीई पहिरिएका दुईजना नर्स दिनमा दुई पटक खाना र औषधि बोकेर कोठामा छिर्थे । बेलाबेला डाक्टर पनि पुग्थे । ज्वरो र रक्तचापको नियमित जाँच हुन्थ्यो । ‘केही भयो भने यो थिचेर घण्टी बजाउनु वा फोन गर्नु भन्थे’, मनकुमारी भन्छिन्, ‘पीपीईको नोक्सान जोगाउन पनि घरिघरि मात्र आएका रहेछन् ।’

अस्पतालमा रहँदा उनले फोनमा धेरै समय बिताइन् । छोराछोरी त छोराछोरी भइहाले, यो अवधिमा उनको नम्बर खोजेर इष्टमित्रले पनि सबैभन्दा धेरै डायल गरे । उनी न कोरानासँग डराइन् न त अस्पतालमा असहज मानिन् । ‘बेलाबेला डाक्टरले फोन गरेर गाह्रो त भएको छैन ? भनेर सोध्दा तातोपानी पिउँदै मजाले बसेकी छु भन्थेँ’, मनकुमारी भन्छिन्, ‘मैले जीवनमा सबभन्दा धेरै तातोपानी पिएको पनि त्यही समयमा हो ।’

दुई पटक ‘स्याम्पल टेस्ट’को रिपोर्ट नेगेटिभ देखिएपछि ५ वैशाखको साँझ सात बजेतिर नुहाएर छोरीले ल्याएको नयाँ कपडा लगाएर उनी अस्पतालबाट बाहिर आइन् । बाहिर खुसीको माहोलमा सानोतिनो भिड लागेको थियो । पत्रकारहरूको अगाडि मनकुमारीले भनिन्, ‘आत्मबल भए कोरोनालाई सजिलै जितिन्छ ।’

अहिले उनी सेल्फ क्वारेन्टाइनमा भए पनि नातिनातिना, छोराबुहारी र ससुराका साथमा छन् । उनको पतिलाई भने हृदयघातले लगेको दुई वर्ष भयो । दमकी बिरामी भएपनि क्वारेन्टाइन अवधि सकिएपछि अबको दुई दिनमा उनको दैनिकीमा बद्लाव आउने नै छ ।

‘मन बलियो बनाए, अपनाउनुपर्ने उपाय अपनाए कोरोनाले मान्छेलाई केही गर्न सक्दैन’, संक्रमितहरूका लागि ‘इनर्जी क्याप्सुल’ जस्तो बनेकी मनकुमारी पौडेल भन्छिन्, ‘तपाईं, तपाईंको परिवार, छरछिमेक कसैलाई केही गर्न सक्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment