+
+

कांग्रेस र मजदुर एकअर्काका अनन्य सहयोगी : देउवा

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १९ गते ६:३०

१९ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र मजदुर एकअर्काका सहयोगी भएको बताएका छन् । उनले लकडाउनका कारण समस्यामा परेका मजदुरहरुलाई अविलम्ब राहत व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै देउवाले भनेका छन्, ‘वि.संं. २००३ सालमा नेपाली कांग्रेसको नेतृत्वमा विराटनगरमा मजदूरहरुको पहिलो ऐतिहासिक आन्दोलन भएको थियो । सरकारले त्यो लामो आन्दोलनलाई निर्ममतापूर्वक दवाउने नीति अख्तियार गरेर जननायक बी.पी. कोइराला लगायत धेरै नेताहरुलाई पक्राउ गरेको थियो । नेपालमा प्रजातन्त्रको स्थापना अथवा २००७ को ऐतिहासिक जनक्रान्तिको प्रस्थान विन्दु यही मजदुर आन्दोलन थियो । त्यसैले नेपाली कांग्रेस र मजदूरहरु सधैं एक अर्कामा आवद्ध भएर एक अर्काका अनन्य सहयोगी भएर रहिआएको कुरा सर्वविदितै छ ।’

कोरोना भाइरस संक्रमणको जोखिमका कारण नेपाल लकडाउनको अवस्थामा रहेकाले सम्पूर्ण नागरिकको जीवन सहज हुन नसकेको छैन भन्दै देउवाले यो बेला श्रम गरेर गुजारा गर्ने श्रमिकहरुको जीवन खाद्यान्न लगायत अन्य अत्यावश्यक वस्तुको अभावमा अझ बढी कष्टकर हुन पुगेको बताएका छन् ।

श्रमिकको यो कष्टकर जीवनका सम्बन्धमा नेपाली कांग्रेसले बारम्बार सरकारको ध्यानाकर्षण गराउँदै आएको भन्दै देउवाले उनीहरुलाई अविलम्व राहतको व्यवस्था गर्न सरकारसँग पुनः आग्रह गरेका छन् ।

उनले अन्तर्राष्ट्रिय श्रमिक दिवसको यस अवसरमा सम्पूर्ण श्रमिक दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?