Comments Add Comment

दक्षिण कोरियाको निर्यातमा ११ वर्षयताकै ठूलो गिरावट

१९ वैशाख, काठमाडौं । दक्षिण कोरियाको निर्यातमा गत अप्रिल महिनामा ११ वर्षयताकै ठूलो गिरावट आएको छ । दक्षिण कोरियाको व्यापार मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार अप्रिलमा दक्षिण कोरियाको निर्यात व्यापारमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २४ दशमलव ३ प्रतिशतको गिरावट आएको हो । यो गिरावट दक्षिण कोरियाको लागि सन् २००९ को मे महिनायताकै सबैभन्दा उच्च हो ।

अहिले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण दक्षिण कोरियाको निर्यात व्यापारमा ठूलो असर देखिएको हो । अघिल्लो मार्च महिनामा पनि दक्षिण कोरियाको निर्यातमा शून्य दशमलव ७ प्रतिशतको गिरावट आएको थियो ।

कोरोना भाइरस नियन्त्रणको लागि विश्वभर लगाइएको लकडाउनको कारण दक्षिण कोरियाको अन्तर्राष्ट्रिय व्यापार प्रभावित बनेको हो । अहिले दक्षिण कोरियाका कारखानाहरुले विश्वव्यापीरुपमा मागमा आएको कमीको सामना गरिरहेका छन् । कोरोना भाइरसको महामारीको कारण अहिले दक्षिण कोरिया मात्र नभई विश्वको सबैजसो मुलुकको अन्तर्राष्ट्रिय व्यापार प्रभावित बनेको छ ।

अप्रिलमा दक्षिण कोरियाको आयातमा पनि १५ दशमलव ९ प्रतिशतको गिरावट देखिएको छ । अघिल्लो महिनामा दक्षिण कोरियाको आयात शून्य दशमलव ३ प्रतिशतले बढेको थियो ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment