Comments Add Comment

रोजगारी सिर्जनामा सबैभन्दा बढी सम्भाव्य क्षेत्र कृषि

१९ वैशाख, काठमाडौं । कोभिड-१९ ले विश्वव्यापी महामारीको रुप लिएसँगै श्रम तथा रोजगार क्षेत्र पनि प्रभावित भएको छ । महामारीले स्वास्थ्य संकट सिर्जना गर्नुका साथै विश्व श्रम बजारलाई पनि गहिरो प्रभाव पारेको छ । कोभिड-१९ का कारण हजारौँ उद्योग कलकारखाना बन्द हुने अवस्थामा पुगेका छन् । लाखौँ श्रमिक कामबाट बञ्जित छन् ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) ले कोभिड–१९ का कारण विश्वभरबाट करोडौं व्यक्तिले रोजगारी गुमाउने प्रक्षेपण गरिसकेको छ । आइएलओका अनुसार सबैभन्दा बढी खाडी क्षेत्रमा रोजगारी गुम्ने खतरा छ । नेपालको प्रमुख श्रम गन्तव्य खाडीका मुलुक नै भएकाले त्यसको सबैभन्दा ठूलो मार नेपालले खेप्नु पर्नेछ । कोभिड-१९ का कारण वैदेशिक रोजगारीमा रहेका लाखौं युवाले रोजगारी गुमाउने आशंका गरिएको छ । कोभिड-१९ को प्रभाव बढ्दै गएमा वैदेशिक रोजगारीमा ठूलो गिरावट आउने आकलन गरिएको छ ।

नेपालमा वार्षिक करिब पाँच लाख नयाँ जनशक्ति श्रम बजारमा भित्रने गरेको सरकारी तथ्यांक छ । तीमध्ये अन्यन्त सानो संख्याले मात्र स्वदेशमै रोजगारीको अवसर पाउने गरेको छ । अधिकांश वैदेशिक रोजगारीको खोजीमा मातृभूमि छाड्न बाध्य छन् ।

कोरोना भाइरसका कारण वैदेशिक रोजगारीमा सङ्कुचन आउने प्रवल सम्भावना देखिएसँगै सरकारले स्वरोजगारी र आन्तरिक रोजगारका अवसर सिर्जना गर्ने कार्यक्रम ल्याउने तयारी गरेको छ ।

श्रम रोजगार पत्रकार समूहले आयोजना गरेको ‘कोभिड-१९ पश्चात रोजगारका क्षेत्रमा पर्ने दबाब र आन्तरिक रोजगारी वृद्धिका क्षेत्रहरू’ विषयको कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँलले वैदेशिक रोजगारीबाट फर्केका र आन्तरिक श्रम बजारमा भित्रिएका जनशक्तिलाई सम्बोधन गर्ने गरी सरकारले रोजगार कार्यक्रम ल्याउने बताए ।

कोभिड-१९ को संक्रमण र लकडाउनका कारण देशमा आर्थिक गतिविधि ठप्प हुँदा आर्थिक वृद्धिमा सङ्कुचन मात्रै होइन, रोजगारी गुम्ने चिन्ता पनि उत्तिकै बढेको भन्दै उनले यस्तो अवस्थामा सरकारले रोजगारीलाई प्राथमिकतामा दिने गरी योजना बनाइरहेको बताए ।

“अहिले जुनसुकै सरकार भएपनि गर्ने भनेको जनतालाई बचाउने काम हो । त्यो भनेको नागरिकलाई बचाउनका लागि उनीहरूको जनजीविकालाई पनि बचाउनुपर्ने हुन्छ । जनजीविकाको बचाउ भनेको रोजगारी र आफ्नो सिप, क्षमता आदिको प्रयोगलाई बचाउने भनेको हो । सरकार त्यसैका लागि काम गर्दैछ”, उनले भने ।

अहिले विदेशबाट वा कोरोनाले अस्तव्यस्त बनाएको देशबाट नेपाल आउन चाहनेको संख्या बढी रहेको र उनीहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता सरकारलाई भएको उल्लेख गर्दै सदस्य फुयाँलले भने, “अहिले करिब ६५ लाख मानिसहरू विदेशमा छन् । अलिकति खुकुलो हुनेबित्तिकै उनीहरू नेपाल आउने अवस्थामा छन् । उनीहरूलाई एकैपटक ल्याउनु पर्यो भने त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने समस्या पनि निम्तिन सक्छ । त्यसको चुनौती सबैभन्दा ठूलो हो । सरकारले यसको व्यवस्थापनका लागि काम गरिरहेको छ ।”

नेपाल उद्योग वणिज्य महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड-१९ का कारण रोजगारी गुमाएकालाई रोजगारीको अवसर सिर्जना गर्नेगरी सरकारले कार्यक्रम ल्याउनुपर्ने बताए । नेपालमा कृषि र पर्यटनको व्यापक सम्भावना भएको उल्लेख गर्दै उनले तिनै क्षेत्रमा रोजगारीको अवसर सिर्जना गरिनुपर्ने बताए।

महासंघको रोजगारदाता परिषद्का अध्यक्ष समेत रहेका ढकालले वैदेशिक रोजगारी फर्केका तथा आन्तरिक रुपमा रोजगारी गुमाएका व्यक्तिलाई आधुनिक कृषि पेशामा लगाउन सकिए बेरोजगारी समस्या केही हदसम्म समाधान हुने धारणा राखे । “अब कृषिको आधुनिकीकरण गरेर नै यहीँ रोजगारीको अवसर सिर्जना गर्नुपर्छ”, ढकालले भेने, “दातृ निकायबाट आउने सहयोगलाई रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगाउनुपर्छ ।”

सरकार नयाँ बजेट ल्याउने तयारीमा रहेको भन्दै उनले स्वरोजगारी र रोजगारी बढाउने खालका नयाँ कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । “अब सरकारले रोजगारी सिर्जना गर्न लगानी बढाउनुपर्छ, जसले रोजगारी गुमाएका र विदेशबाट फर्केकालाई काम दिन सकियोस् ।” कार्यक्रममा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियूसिसी) का अध्यक्ष पुष्कर आचार्यले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारणका दैनिक काम गरेर खाने ७६ प्रतिशत असंगठित क्षेत्रका श्रमिक प्रभावित भएको बताए ।

“वैदेशिक रोजगारीमा रहेका १०-१२ लाख नेपाली श्रमिक रोजगारी गुमाएर नेपाल फिर्ता हुने अवस्था छ, उनीहरूलाई तत्काल रोजगारीको व्यवस्था गर्न आवश्यक छ”, उनले भने, “उनीहरूको श्रम र सिपलाई कृषि क्षेत्रतर्फ आकर्षित गर्न सरकारले ध्यान दिनुपर्छ ।” कोरोनाका कारण नेपालको श्रम क्षेत्रमा पर्न सक्ने प्रभावबारे आफूहरूले सुझाव दिए पनि सरकारले कुनै वास्ता नगरेको गुनासो गर्दै उनले श्रम मन्त्रालयले निदाएर बसेको टिप्पणी गरे ।

श्रमिकलाई कृषि क्षेत्रमा आकर्षित गर्ने गरी बजेट विनियोजन गर्न उनले सरकारको ध्यानाकर्षण गराए । श्रमिकको पारिश्रमिक कुनै पनि हालतमा उपलब्ध गराउनुपर्ने भन्दै उनले उद्योगीका कुनै समस्या भए त्यसलाई सरकारले सम्बोधन गर्नुपर्ने बताए । “श्रमिकलाई देखाएर रोजगारदाताले सरकारसँग सौदाबाजी गरिरहेका छन् यस्तो कदापि सह्य छैन”, उनले भने, “वर्षौँदेखि काम गरेका श्रमिकले उद्योग प्रतिष्ठान जोगाएका छन् तर तिनै श्रमिकलाई एक/दुई महिना काम नहुँदा तलब दिन्न भन्नु उचित हुँदैन ।”

अहिलेको परिस्थितिमा चल्न सक्ने उद्योगलाई चलाएर रोजगारी सिर्जना गर्नुपर्नेमा उनको जोड थियो । अध्यक्ष आचार्यले होटल र पर्यटन क्षेत्रमा आवद्ध श्रमिकलाई बढी मार परेको भन्दै ती क्षेत्रका श्रमिकलाई पनि सम्बोधन गर्ने गरी काम गर्न सरकारको ध्यानाकर्षण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment