Comments Add Comment

नवजात शिशुको स्यहार सुसार : केही कुरा ख्याल गरौं

नवजात शिशु । त्यसमाथि पहिलो सन्तान । हरेक दम्पतीका लागि रोमञ्चकता र खुसी मात्र होइन, केही अन्यौल र द्विविधा पनि हुन्छ । खासगरी उनीहरुलाई हुर्काउने क्रममा कुनै त्रुटी पो होला कि भनेर दम्पतीहरु डराउने गर्छन् । त्यसो त बच्चालाई स्तनपान गराउनेदेखि सुताउनेसम्मको कुरा अलि गाह्रो नै हुन्छ । यस्तो अवस्थामा कसरी बच्चाको उचित रेखदेख गर्ने त ? स्तनपान गराउने काइदा के हो ? सुताउने उचित तरिका कस्तो हो ?

स्तनपान गराउने तरिका

बच्चाको पहिलो खुराक भनेको आमाको दुध हो । आमाको दुधले नै बच्चालाई शारीरिक र मानसिक रुपमा विकास गर्छ । सुरुका दिनहरुमा आफ्नो बच्चालाई दुध खुवाउँदा पनि आमाका निम्ति अनौठो अनुभूति हुन्छ । कतिपय आमाहरु यतिबेला निकै धकाउँछन्, लजाउँछन् । तर, यसमा लजाउनुपर्ने कुनै कुरा छैन, किनकी यो एउटा प्राकृतिक क्रिया हो ।

शिशुलाई स्तनपान गराउँदा आमाले लगाउने बस्त्र खुकुलो र सुविधाजनक हुनुपर्छ । कुर्ता र टिसर्ट जस्ता लुगा लगाएको छ भने त्यसलाई माथि उठाएर दुध चुसाउन असहज हुन्छ ।

जति धेरै स्तनपानको अभ्यास गरिन्छ, त्यति नै धेरै सजिलो हुन्छ । सुरुका केही हप्ताहरुमा यो कठिन हुने भए पनि समयसँगै शरीर यसका लागि अभ्यस्त हुँदै जान्छ । जति धेरै स्तनपान गराउनुहुन्छ, तपाईंको शरीरमा त्यति नै बढि दुध उत्पादन हुन्छ र बच्चाका लागि पर्याप्त हुन्छ ।

स्तनपान गराउनका लागि शरीरमा पानीको मात्रा पनि पर्याप्त हुनुपर्छ । बच्चाले दुधमार्फत पोषण तत्व लिन्छ । त्यसैले पर्याप्त मात्रामा भोजन गर्नु जरुरी छ । आमाले गर्ने भोजन पौष्टिक हुनुपर्छ ।

सुताउने तरिका

बच्चाले त्यसबेला मात्र दुख दिन्छ, जब उनलाई कुनै न कुनै समस्या हुन्छ । अतः त्यो समस्या हामी आमाबुवाकै कारण हुन्छ । यदि बच्चालाई राम्ररी ख्याल गर्ने हो, सहि समयमा सुताउने, ख्वाउने, सफा गरिदिने हो भने बच्चाले दुख दिदैन ।

खासगरी बच्चाको कारण आमाबुवाको निद्रा खलबलिएको गुनासो धेरै सुनिन्छ । राती बच्चा रुने, नसुत्ने जस्ता गतिविधिले अभिभावक हैरान हुन्छन् । किन बच्चा सुत्दैन, बच्चाको निन्द्रा किन खलबलिन्छ ? बुझ्नुपर्ने कुरा हो ।

किन सुत्दैन ?

-अक्सर बच्चा भोक लागेपछि ब्युँझन्छन् । उनीहरुलाई ठीक–ठीक समयमा ख्वाइरहनु पर्छ ।

-ओछ्यान अप्ठ्यारो भयो भने पनि बच्चाहरु सुत्दैनन् । कुनै कुराले अप्ठ्यारो गरेको, थिचिएको, च्यापिएको छ, धेरै गर्मी वा जाडो भएको छ भने बच्चाहरु सुत्दैनन् ।

-शारीरिक पीडाले पनि बच्चाको निद्रा बिथोलिदिन्छ ।

-आसपासको होहल्ला, दुर्गन्ध आदिले पनि बच्चालाई राम्ररी सुत्न दिदैन ।

-बच्चाले दिसा–पिसाब गरेको छ भने निन्द्रा खलबलिन्छ ।

के गर्ने ?

– सानो बच्चाको लागि जहिलेपनि राम्रो गुणस्तरको नेपकिन प्रयोग गर्नुपर्छ, जसलाई पटक–पटक बदल्नु नपरोस् । यसले गर्दा बच्चाले दुख पाउँदैन र राती मस्त निदाउन पाउँछ ।

– बच्चालाई राती धेरै भोक लाग्छ । त्यसैले राती बच्चा निदाउनुअघि नै उसलाई पर्याप्त पेट भरिएको हुनुपर्छ । राती पनि एक समय निर्धारण गर्नुपर्छ कि, बच्चालाई केहि ख्वाउनका लागि ।

– यदि बच्चाले आँखा मिच्न थाल्यो, टाउको झुकाएर झुल्न थाल्यो भने तुरुन्तै ओछ्यानमा लगेर सुताउनुपर्छ । बच्चाहरु दिनभर उफ्रने, खेल्ने भएकाले थाक्छन् । थाकेपछि उनीहरुलाई सुताउनु पर्छ ।

– घरमा बढी होहल्ला हुन्छ भने बच्चाको लागि त्यो अनुकुल हुँदैन । टेलिभिजन हेर्ने, गीत सुन्ने, ठूलो आवाजमा कुराकानी गर्ने जस्ता गतिबिधिले बच्चालाई बेचैन बनाउँछ ।

केही सावधानी

बच्चा कस्तो जन्मिएला ? गर्भ रहेदेखि नै यस्तो कौतुहलता हुने गर्छ । स्वभाविक हो, हरेक आमाबुवा आफ्ना बच्चा सग्लो होस् भन्ने चाहन्छन् ।

यद्यपि नवजात शिशुको लालनपालनका क्रममा उनीहरुमा केहि अस्वभाविक परिवर्तन देखिन सक्छ । जस्तो कि, टाउको थेप्चिनु ।

बच्चाहरुको सुताईको अवस्था नमिलेको वा शिशुहरुलाई सही तरिकाले नसुताएको अवस्थामा टाउकाको एकापट्टीको भाग चेप्टा वा थेप्चो हुने गर्दछ ।

त्यतिमात्र नभएर शिशुहरुको घाँटीको मांसपेशीमा दखल परेमा पनि शिशुहरुमा यस्ता समस्या आइपर्ने गर्छ । यस्ता समस्यालाई चिकित्सकीय भाषामा ‘पोजिसनल प्लेजियोसेफिल’ पनि भन्ने गरिन्छ ।

बच्चाहरुको अधिकतम समय सुतेरै वित्ने गर्छ । त्यसैले, उनीहरुको सुताईको अवस्थामा फेरबदल गरेर पनि उनीहरुको टाउकोलाई गोलाकार दिन सकिन्छ । यसका लागि बच्चालाई घोप्टो पारेर सुताएर पनि टाउकाको आकार बदल्न सकिन्छ । यसको लागि  टाउकालाई  १५ दिन शिरानीतर्फ र १५ दिन खुट्टातर्फ फर्काएर पनि टाउकोलाई चेप्टो हुनबाट जोगाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment