+
+
Shares

अष्ट्रेलिया, जहाँ नवजात शिशुको दायित्व राज्यले लिन्छ

मेरो देश जहाँ, अस्पताल नदेखी सुत्केरी र शिशुको ज्यान जान्छ। सुत्केरीपछि पनि रगत नरोकिएर प्राण उड्छ। बाटोमै सुत्केरी हुनुपर्छ। सरकारको उपस्थितिसम्म हुँदैन। हामी कहिले पुगौंला त्यो स्तरमा ?

सुशीलराज गिरी सुशीलराज गिरी
२०८२ साउन १९ गते ८:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अष्ट्रेलियाको सरकारी अस्पतालमा सुत्केरी सेवा पाँचतारे होटल जस्तो सुविधा र व्यवस्थित सेवा पाइयो भन्ने अनुभव लेखकले सुनाए।
  • अस्पतालले आमाको इच्छा अनुसार डिस्चार्ज गर्ने र घर फर्किएपछि पनि नियमित स्वास्थ्यकर्मीबाट फोन गरी स्वास्थ्य जाँच गर्ने प्रक्रिया अपनाएको छ।
  • नर्सले नवजात शिशु र आमाको हेरचाहलाई राज्यको साझा जिम्मेवारी मान्दै घरमै आएर सेवा दिएको लेखकले उल्लेख गरे।

अष्ट्रेलिया भ्रमण मेरो जीवनको ११औं वैदेशिक यात्रा थियो। देश फेरिए पनि मेरो लागि भने खासै नयाँ अनुभूति थिएन, किनभने म यसअघि पनि धेरै देश घुमिसकेको थिएँ। त्यसैले मभन्दा धेरै उत्साहित मेरी श्रीमती थिइन्– किनभने यो उहाँको पहिलो विदेश यात्रा थियो। पहिलो पटक प्लेन चढ्ने, नयाँ देश हेर्ने र नयाँ अनुभव लिने अवसरले उनी निकै रमाएकी थिइन्।

हाम्रो छोरा त अझै दुई वर्षको पनि भएको थिएन। तर सानै उमेरमा उसले गरेको यो पहिलो वैदेशिक यात्रा पनि सम्भवत: उसको लागि रमाइलो अनुभव बन्यो। सँगै मेरी आमा पनि हुनुहुन्थ्यो। उहाँका लागि भने यो यात्रा झन् विशेष थियो– किनकि उहाँ आफ्ना छोरा–बुहारी, छोरी–ज्वाईं र नातिनीहरूसँग भेट हुने उत्साहले भरिएको हुनुहुन्थ्यो।

परिवारका सदस्यहरूको पहिलो अन्तर्राष्ट्रिय यात्रा, आ–आफ्नै उत्साह र भावना; र छुट्टै अनुभवले यो अष्ट्रेलिया यात्रा मेरो जीवनमा अझै अविस्मरणीय बन्यो।

अहिले म अष्ट्रेलियाको यात्रा क्रममा देखेका, भोगेका अनुभवहरूमध्ये एउटा फरक र गहिरो प्रसंगमा कलम चलाउँदैछु। यो प्रसंग मेरो आमा, श्रीमती र छोरासँगको रमाइलो यात्रा अनुभवभन्दा पनि फरक छ– एक गहिरो अनुभूति र सेवा–सुविधासँग जोडिएको विषय हो।

हामी अष्ट्रेलिया पुगेको करिब १५–२० दिन जति भएको थियो। संयोग यस्तो पर्‍यो कि मेरा भाइ र बुहारी पहिलो सन्तानको अभिभावक बन्ने तयारीमा थिए। हामी त्यही बेलामा पुगेका थियौं। अचानक एक दिन बुहारीलाई सुत्केरी व्यथा लाग्यो, र तुरुन्तै अस्पताल लैजानुपर्ने भयो।

जबसम्म आमाले आफैं विश्वस्त भएर, ‘म अब तयार छु, मलाई डिस्चार्ज गरिदिनोस्’ भन्दिनन्, तबसम्म अस्पतालले डिस्चार्ज गर्दोरहेनछ।

बुहारीलाई लैजाने अस्पताल सरकारी (सामुदायिक) अस्पताल नै थियो, तर त्यहाँ पुगेपछि हामी अचम्ममा पर्‍यौं। अस्पताल त सरकारी भए पनि सुविधा, सरसफाइ र सेवा त एकदमै पाँचतारे होटल जस्तै लाग्ने। नेपालमा जस्तो सुत्केरी हुँदा लुगाफाटो, भाडाकुँडा, औषधिदेखि लिएर खानेकुरासम्म बोकेर अस्पताल जानुपर्ने बाध्यता त्यहाँ थिएन। न त बिरामीको हेरचाह गर्न दुई–चार जना परिवारका सदस्य खटिनुपर्ने अवस्था थियो। सबै कुरा अस्पतालकै व्यवस्थापन थियो–चिटिक्क परेको कोठा, सफा ओछ्यान, समयमै आउने स्वास्थ्यकर्मी, हरेक कुरामा सेवाभाव देखिने व्यवहार। एकछिन त हामी आफैं अलमल्लमा पर्‍यौं, यति सुविधा र व्यवस्थित सेवा सरकारी अस्पतालमा पनि सम्भव रहेछ भन्ने कुरा स्वीकार गर्न गाह्रो लाग्यो।

त्यो दिन मैले बुझें– सेवा भन्ने कुरा पैसाले मात्रै होइन, व्यवस्थापन र इच्छाशक्तिले पनि धेरै फरक पार्दोरहेछ। अष्ट्रेलियाको त्यो अनुभव मेरो मानसपटलमा गहिरो छाप छोडेर गयो।

हामी अष्ट्रेलिया पुगेको केही समयपछि, एक सुखद् संयोग जुर्‍यो– मेरा भाइ र बुहारी पहिलो सन्तानको अभिभावक बन्ने तयारीमा थिए। सबैको अनुहारमा उत्साह र प्रतीक्षाको भाव झल्किरहेको थियो। बुहारी रोशनीकै इच्छा अनुसार, सम्भव भएसम्म प्राकृतिक (नर्मल) डेलिभरी गर्ने निर्णय गरिएको थियो। यो कुराले मलाई झनै छोयो जब मैले थाहा पाएँ कि त्यहाँका स्वास्थ्यकर्मीहरू पनि आमाको चाहनाको सम्मान गर्दै, सक्दो प्रयास गरेर नर्मल डेलिभरी गराउने पक्षमा रहेछन्। अन्तत:, अस्पताल भर्ना गरिएको दोस्रो दिन नै, एउटा सानी परीले यो संसारमा पाइला टेकिन्। छोरीको आगमनसँगै पूरै परिवार खुशीले भरियो, आँखामा आँसु, ओठमा मुस्कान, र मनमा अपार कृतज्ञता थियो।

नेपालको सन्दर्भ सम्झें– जहाँ सामान्य डेलिभरी भएपछिको भोलिपल्टै डिस्चार्ज गर्ने चलन हुन्छ। मैले पनि सोचेको थिएँ, अब सुत्केरी भएको छ, साँझ वा भोलि पल्टसम्म घर फर्किने होला। तर, अष्ट्रेलियाको प्रक्रिया केही फरक थियो। त्यहाँको सेवा प्रणालीले मलाई फेरि एकपटक चकित पार्‍यो। जबसम्म आमाले आफैं विश्वस्त भएर, ‘अब म तयार छु, मलाई डिस्चार्ज गरिदिनुहोस्,’ भन्दिनन्, तबसम्म अस्पतालले डिस्चार्ज गर्दोरहेनछ। त्यो अवधिमा स्वास्थ्यकर्मीहरू दिनहुँ आउने–जाने गर्थे, उनीहरूले नयाँ आमालाई आवश्यक सबै कुरा सिकाउँथे–बच्चालाई कसरी स्तनपान गराउने, कसरी नुहाउने, कसरी सम्हाल्ने, र आफ्नो स्वास्थ्यको पनि कसरी ख्याल राख्ने। त्यो समर्पण, त्यो धैर्य र त्यो सेवाभाव देख्दा मेरो मनभित्र गहिरो सम्मानको भावना जाग्यो। सुत्केरी महिलालाई साँचो अर्थमा ‘मातृशक्ति’ को रूपमा सम्मान गरिएको देख्दा मन छोयो।

डिस्चार्ज भएर घर पुगेपछि पनि कहिले डाक्टर, कहिले नर्सबाट नियमित फोन आउनु, आमा र शिशुको स्वास्थ्यबारे जानकारी लिइरहनुले हामी जनस्वास्थ्यको दृष्टिले कति पछि रहेछौं भन्ने देखाइरह्यो।

अन्तत:, चौथो दिनमा रोशनीले आफैं आग्रह गरिन्– ‘अब मलाई डिस्चार्ज दिनुहोस्’ अनि मात्र उनी र नवजात छोरीलाई घर ल्याइयो। हामी सबै खुशी हुँदै, रोशनी र सानी परीलाई लिएर वागा वागास्थित घरतर्फ लाग्यौं। त्यो यात्रा, त्यो अनुभव र त्यो माया–ममताले भरिएको सेवा सम्झँदा अझै पनि मन न्यानो हुन्छ।

अस्पतालबाट डिस्चार्ज भएपछि हामी खुशीसाथ वागा वागाको घरमा फर्कियौं। घरमा त स्याहार–सम्भारको त कुरै अर्कै थियो। आमाले, श्रीमतीले, हामी सबैले नवजात शिशुलाई जतनले राख्यौं। तर मलाई सबैभन्दा चकित बनाउने कुरा त त्यो थियो, जुन मैले त्यसपछि अनुभव गरें।

बेला–बेला अस्पतालबाट फोन आउँथ्यो– ‘बच्चालाई कस्तो छ?’, ‘आमालाई त ठीक छ नि?’, ‘कुनै समस्या परे नहिच्किचाई भन्नुहोस् है !’

त्यसरी कहिले डाक्टर, कहिले नर्सबाट नियमित फोन आउनु, त्यो पनि घर फर्किएपछि, यो त साँच्चै नै हाम्रो समाजभन्दा धेरै अघि बढेको सेवा थियो।

भाइ र बुहारीलाई पनि अस्पतालले खुलेर फोन गर्न भनेको रहेछ, कुनै समस्या परे तुरुन्त सम्पर्क गर्न। यो कुराले मन छुने गरी स्पर्श गर्‍यो मलाई। तर अझ गहिरो प्रभाव त त्यो दिन पर्‍यो, जतिखेर एकदिन अचानक अस्पतालकी नर्स इन्चार्ज आफैं हाम्रो घर आइपुगिन्।

हातमा एउटा चेकलिस्ट बोकेर, शालीनता र मुस्कान सहित उनी भित्र पसिन्। सुरुमा बाहिरी सरसफाइ हेरेर, उनी सिधा भाइ–बुहारी बसेको कोठातिर लागिन्। केही समय उनीहरू सँगै बसेकी थिइन्, त्यसपछि भाइलाई बाहिर पठाएर केवल बुहारीसँग मात्र एक्लै बसेर कुराकानी गरिन्।

यो दृश्य देखेर मेरो मनमा जिज्ञासाको बादल मडारियो। जब भाइ बाहिर आए, मैले रोक्न सकिनँ, सोधिहालें– ‘के कुराकानी भयो ? नर्स किन एक्लै बसेर कुरा गरिन् त ?’

‘यो बच्चा हाम्रो हो अब हामी हेरचाह गरिहाल्छौं नि’ मेरो भनाइ टुंगिनँ नपाउँदै ती नर्सले भनिन्, ‘यो बच्चा केवल तपाईंहरूको मात्र होइन। हाम्रो स्टेटको हो, हाम्रो देशको हो। तपाईंहरूसँगै हाम्रो पनि साझा जिम्मेवारी हो– स्वस्थ, सुरक्षित र सम्मानजनक हुर्काइ।’

भाइको उत्तरले मलाई स्तब्ध बनायो।

‘उनी नानी सुत्ने ठाउँ कस्तो छ, ओढ्ने ओछ्याउने सफा छ कि छैन, हावापानी ठीक छ कि छैन हेर्दै थिइन्। अनि रोशनी (बुहारी) लाई सोधिन्– बच्चा सम्हाल्न गाह्रो त छैन ? खाना, आराम, निद्रा, स्तनपान–सबै कुरा बुझिन्। श्रीमान् (भाइ) को साथ, व्यवहार, सहयोग बारे समेत सोधिन्।’

म चुप भएँ। हेरिरहें त्यो चेकलिस्ट बोकेर घरमै आइपुगेकी नर्सलाई। भित्रभित्रै सोच्दै थिएँ–

‘कति ठूलो माया ! हाम्रै बच्चाका लागि उनीहरूले कति चिन्ता लिएका !’

नर्स बाहिर निस्कँदा मैले आफूलाई रोक्न सकिनँ। नाम सोधेर, परिचय दिंदै विस्तारै सोधें–‘हजुरहरूले यति धेरै किन गर्नुहुन्छ ? यो हाम्रो बच्चा हो, हामी आफैं चिन्तित छौं उसको हेरचाहमा।’

मेरो प्रश्न थियो, शायद केही हदसम्म मेरो राष्ट्रको सन्दर्भमा आएको अभावको झल्को पनि थियो। म आफैं वर्षौंदेखि बालबालिकाको क्षेत्रमा क्रियाशील छु– बालअधिकार, सुरक्षाको पक्षमा लागिपरेको मान्छे। तर उनको उत्तरले मेरो हृदय छाम्यो, आँखा रसाए, मन झन् भावुक भयो।

‘हो, यो तपाईंहरूको बच्चा हो’ उनले नरम मुस्कानका साथ भनिन्, ‘तर अब यो बच्चा केवल तपाईंहरूको मात्र होइन। यो हाम्रो स्टेटको पनि बच्चा हो, हाम्रो देशको बच्चा हो। उहाँ–हामी जस्तै सबैको साझा जिम्मेवारी हो– स्वस्थ, सुरक्षित र सम्मानजनक हुर्काइ दिनु। हामीसँग नाता अब भावनाको हो, व्यवस्थाको हो, उत्तरदायित्वको हो।’

त्यो वाक्यले म भित्रभित्रै काँपिएँ। मलाई मेरो देश सम्झाइरहेको थियो– जहाँ सुत्केरी महिला अस्पतालबाट चाँडै डिस्चार्ज हुनुपर्ने बाध्यता छ, जहाँ बिरामी भर्ना हुँदा आफ्नो सबै सामान आफैं बोक्नुपर्ने अवस्था छ, र जहाँ नानी जन्मिएपछि पनि समाज र सरकारको ध्यान त्यति पुग्दैन।

तर यहाँ ? यहाँ त बच्चा जन्मिएपछि पनि सरकारका हातहरू स्याहारका रूपमा न्यानो भएर आइपुग्ने रहेछन्। आमाको हात समाउने, बुवाको चिन्तामा साथ दिने र सिंगो परिवारलाई आत्मविश्वास दिने राज्य रहेछ यो। त्यस दिन मैले महसुस गरें– बालअधिकार कागजमा होइन, व्यावहारिक जीवनमा लागू भएपछि मात्र त्यो साँचो संरक्षण हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?