Comments Add Comment
अन्तर्वार्ता :

असारपछि उपभोक्तादेखि उद्योगीसम्मका लागि आर्थिक प्याकेज ल्याउँछौं

कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि देशभर लकडाउनको घोषणासँगै अर्थतन्त्रमा ठूलो समस्या सुरु भएको छ । नेपालमा लकडाउनले पर्यटन, कृषि, औद्योगिक उत्पादन, वैदेशिक रोजगार लगायतका क्षेत्रमा सबैभन्दा बढी असर पारेको छ । बैङ्किङ क्षेत्र पनि लकडाउनबाट प्रभावित छ ।

समग्र व्यवसायिक क्षेत्र उकास्न बैङ्क तथा वित्तीय संस्थाको महत्वपूर्ण भूमिका रहन्छ । यसमा नियामक निकाय नेपाल राष्ट्र बैङ्कको नीति र निर्देशनहरू महत्वपूर्ण हुन्छन् । यसै सन्दर्भमा नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीसँग अनलाइनखबरले गरेको कुराकानीको सम्पादित अंशः

कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनले अर्थतन्त्रमा ठूलो क्षति पुर्‍याएको छ । प्रारम्भिक आँकडा भन्न सकिने अवस्था छ ?

प्राप्त प्रारम्भिक रिपोर्टहरू ‘प्रोसेसिङ’मा छन् । अनुमान गरिएजस्तै धेरै कुराहरू– जस्तो पर्यटन क्षेत्र अत्यन्तै प्रभावित छ । असर पनि लामै हुने देखिएको छ । निर्माण क्षेत्र, विमान सेवा, यातायात लगायतका अरू क्षेत्रहरूपनि प्रभावित छन् । अध्ययनको प्रतिवेदन आइसकेपछि विस्तृतमा भन्न सकिने अवस्था बन्नेछ । चुनौतीलाई होसियारीपूर्वक चिर्नुछ ।

पर्यटनको मुख्य सिजन कोरोनाबाट गुज्रिएको छ । रेमिट्यान्स, कृषि, लगायतका क्षेत्रमा पनि ठूलो असर परेको छ । यी क्षेत्रलाई बढी र कम असर पर्ने क्षेत्रको रुपमा क्रमबद्ध गर्न सकिन्छ ?

सबभन्दा बढी असर परेको पर्यटन क्षेत्र पहिलेको अवस्थामा फर्कन निकै समय लाग्ने देखिन्छ । कोरोनाविरुद्व औषधि वा भ्याक्सिन नआउन्जेल अन्तर्राष्ट्रिय घुमफिर हुने सम्भावना निकै कम छ । यसले गर्दा पर्यटन उकास्न प्रशस्त समय चाहिने अनुमान गर्न सकिन्छ ।

त्यसैगरी, नेपालको समग्र अर्थतन्त्रमा बाहिरी श्रम बजारमा खटिराख्नु भएका साथीभाइहरूको ठूलो योगदान रहँदै आएको छ । रेमिट्यान्स हाम्रो अर्थतन्त्रमा तरलताको महत्वपूर्ण स्रोत हो । अब यसमा पनि ठूलो कमी आउनेछ ।

यहाँले भन्नुभए जस्तो कृषि लगायतका क्षेत्रमा पनि असर छ । कृषिमा अहिलेको असर भनेको उत्पादित वस्तुलाई डेलिभरी गर्न नसकेको, उपभोक्तासम्म पुर्‍याउन नसकेको अवस्था हो । कृषि उत्पादनमा यसले धेरै ठूलो असर नपर्ला जस्तो लाग्छ ।

माग अनुसार आपूर्ति नहुँदा मूल्यवृद्धि हुन्छ नै । त्यसमा पनि वित्तबजार सेवा प्रवाहसँग जोडिएको छ । मूल्यवृद्धि भएसँगै व्यक्ति, परिवार, समूह, समुदाय सबैको मौद्रिक सञ्चिति घट्दै जान सक्छ । यसबाट बैङ्किङ कारोबारमा दबाब पर्ने सम्भावना छ भने उपभोक्ता बजार पनि महँगो पर्न जान्छ । यसलाई राष्ट्र बैङ्कले कसरी हेरिराखेको छ ?

यो प्रश्न अहिलेको मूल्य स्थितिसम्बन्धी हो । मागले निरन्तरता पाउने तर, उत्पादन सोचेअनुसार नहुने र आपूर्ति स्थिर हुँदाखेरि स्वभावैले मूल्यमा दबाब पर्छ ।

मूल्यलाई नियन्त्रणमा राख्न राष्ट्र बैङ्कसँग उपकरणहरू नभएका होइनन् । तर, यी मात्र पर्याप्त हुँदैनन् । मूल्यको विषयमा विकृतिजन्य कुरा पनि छन् । जसको न्यूनीकरणमा हामी सबै लाग्नुपर्छ ।

अब अर्थतन्त्रलाई पुनर्जीवन कसरी दिने ?

हाम्रो मुलुक सानो अर्थतन्त्र भएको मुलुक हो । ठूला अर्थतन्त्रले जस्तो कति ठाउँमा ‘बिग पुस’ गर्न हामी नसकौँला । यति हुँदाहुँदै पनि हामी वित्तीय क्षेत्र, निजी क्षेत्र, सरकार सबै लागेर काम गर्दा नसकिने कुरा छैन ।

हामीले कोरोनाको असर नियन्त्रण गर्न लकडाउन गरेको सवा महिना हुनलाग्दा जति कामहरू गरेका छौँ, अब असार मसान्तपछि धेरै छलफल गरेर उपभोक्तादेखि उद्योगी–व्यापारीसम्मलाई लक्षित आर्थिक योजना ल्याउनुपर्ने हुन्छ । त्यसैगरी वित्तीय क्षेत्र लक्षित नीति ल्याउनुपर्ने हुन्छ । अहिल्यै, आजै हुनपर्छ भन्न थालियो भने टिक्ने सम्भावना हुँदैन । सबै पक्षलाई ख्याल गरेर नीतिहरू ल्याउनुपर्छ ।

निजी क्षेत्र बन्द भइराख्दा सरकारको राजस्व पनि संकुचित हुनु स्वाभाविक हो । यसरी आफ्नो ‘स्पेस’ घटिराखेपनि सरकारले बाह्य दाता, विकासका साझेदारहरूसँग नजिक रहेर काम गरिराखेको छ । जसले गर्दा हाम्रो आत्मबल बढिराखेको छ । अर्थतन्त्रलाई चलायमान बनाउन केही न केही ‘कलेक्टिभ प्याकेज’मा हामी जान्छौँ ।

व्यवसायिक क्षेत्रलाई सम्बोधन गर्न खोज्नुभएको छ तर त्यसबाट लाभान्वित हुनेहरू आश्वस्त हुन सकेका छैनन् । यसमा राष्ट्र बैङ्कले के गरिरहेको छ ?

बैङ्क तथा वित्तीय संस्थाहरूको एउटा निश्चित आम्दानी छ । ग्राहकसँग लिने एउटा तोकिएको ब्याजदर छ । त्यो ब्याजदरमा उहाँहरूले केही सम्झौता गर्नसक्ने ठाउँ देखेर हामीले तीन महिनाको लागि २ प्रतिशत ब्याज छुट गरिदिन निर्देशन दिएका छौँ । त्यसलाई धेरैले सकारात्मक रुपमा लिनुभएको छ ।

कतिपय ठाउँमा आम्दानी घट्ने हुँदा बैङ्कहरूबाट असन्तुष्टि आएको छ, त्यो स्वाभाविक हो । यति नै उहाँहरूलाई पर्याप्त हुन्छ । यतिले नै आफ्नो बिजनेस चलाउन सक्नुहुन्छ भन्ने होइन । अरू खालका सुविधा पनि आवश्यक हुन सक्छन् । थप ऋण चाहिने हुन सक्छ । उहाँहरूको ऋणको ब्याजलाई क्यापिटलाइज र रि–स्टक्चर गर्नुपर्ने हुन सक्छ ।

साना र मझौला व्यवसायीहरूको संख्या ठूलो छ । बढी मार पनि उनीहरूलाई नै परेको छ । सानो पुँजी, थोरै नाफा भएका क्षेत्र हुन् ती । तिनलाई कसरी हेर्नुहुन्छ ?

अब पुनर्कर्जासम्बन्धी कार्यविधिमा परिवर्तन गर्छौँ । धेरै लामो प्रकृया भएकोले ठूला ऋणीहरूले मात्रै पाइराखेको जस्तो देखिएको छ । अब साना ग्राहकले ऋण पाउनेगरी पूर्ण सुधार गर्छौँ ।

पहिले ब्याज धेरै थियो । राष्ट्र बैङ्कले ३ प्रतिशत लिन्थ्यो, बैङ्कहरूले सात प्रतिशतमा दिनुपर्थ्यो । त्यसलाई हामीले ‘रिभाइज’ गरेर राष्ट्र बैङ्कले दुई प्रतिशत र बैङ्कहरूले पाँच प्रतिशतमा दिनुपर्ने बनाएका छौँ ।

अब सेवाग्राहीलाई २ प्रतिशत सहुलियत हुने भयो । अब पुनर्कर्जा प्रकृया पनि राष्ट्र बैङ्कसम्म नआई सम्बन्धित बैङ्कबाटै प्रवाह हुने कार्यविधि ल्याउँछौँ । यसरी अब पुनर्कर्जामा धेरैको पहुँच हुने हाम्रो अपेक्षा छ ।

तपाईं लगानी बोर्डको नेतृत्व पनि गरेर आउनुभएको मान्छे । राष्ट्रिय गौरवका आयोजना र पछिल्लो समय सरकारका विशेष आयोजनाहरू पनि छन् । सबैको स्रोत, पुँजी घटेको अवस्था छ । हिजो योजना बनाएअनुसारै अगाडि बढ्ने अवस्था छ ?

अब हाम्रो स्रोत नै स्थिर हुने भयो । अरू सीमाहरू पनि बढ्दै गएका छन् । अब त सार्वजनिक निजी साझेदारीका आयोजनाहरूमा पनि समस्या आउने सम्भावना देख्छु म । बाहिरबाट एफडीआई लिएर आउने निजी क्षेत्रले पनि अब पुनर्विचार गर्छन् ।

अब हामीले पाइपलाइनमा आइसकेका आयोजना कार्यान्वयनलाई प्राथमिकता दिनुपर्छ । हिजो तयार गरेका आयोजनाहरूलाई पुनः प्राथमिकीकरण पनि गर्नुपर्ने हुन्छ ।

कोरोनाले केही नयाँ अवसर पनि ल्याएको यहाँले देख्नुभएको छ ?

यसलाई डिजिटल इकोनोमीमा जाने अवसरको रुपमा लिन सक्छौँ । अहिले भर्चुअल मिटिङ र कारोबार बढिराखेको छ । यसलाई सकारात्मक मान्नुपर्छ ।

हाम्रा धेरै साथीभाइ वैदेशिक रोजगारीमा जानुभएको छ । उहाँहरूले स्वदेशमै उत्पादनमूलक काम गर्ने अवसर पनि आउन सक्छ यो कोरोनापछिको समयमा । हामी नयाँ दिशामा जान सक्छौँ भन्ने लाग्छ मलाई ।

मेरो अनुरोध छ– विश्व बैङ्क जस्तो ठूलो मौद्रिक निकायले नै अब ठूलो आर्थिक मन्दी आउँछ भनिरहेको यो बेला हामी सबै धैर्यका साथ सामूहिक रुपमा अगाडि बढौँ । सबै मिलेर जस्तोसुकै समस्या समाधान गर्न सकिन्छ ।

नियामकको रुपमा नेपाल राष्ट्र बैङ्कले वित्तीय क्षेत्रलाई सुरक्षित राख्छ । त्यसबाट समग्र अर्थतन्त्र सुरक्षित हुनेछ । वित्तीय क्षेत्रलाई विश्वस्त पार्न राष्ट्र बैङ्क दत्तचित्त छ । यसमा सबैको सहयोगको अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment