Comments Add Comment

गण्डकीमा खुकुलो भयो लकडाउन, निर्माण र उद्योग क्षेत्र सञ्चालन

१८ वैशाख, पोखरा । संघीय सरकारलाई १३ वैशाखमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रस्ताव गरे, ‘आवागमनलाई ठप्प पारौं । नाकाहरुमा कडाईं गरौं तर आन्तरिक लडडाउन खुकुलो बनाऔं । उत्पादन र निर्माण आयोजनाको काम थालौं ।’

तर संघीय सरकारले २५ वैशाखसम्म लकडाउन गर्ने निर्णय गर्‍यो ।

संघीय सरकारले खुकुलो नपारे पनि मुख्यमन्त्री गुरुङले प्रदेशले मापदण्ड तयार पारेर लकडाउन खुलाउने बताएका थिए ।

अहिले काठमाडौंमा सत्तारुढ नेकपाभित्र सत्ता जोडघटाउ चलिरहँदा प्रदेशमा लकडाउन खुकुलो बनाउने मापदण्ड तयार पारेर मुख्यमन्त्री पृथ्वीसुब्बा, अर्थमन्त्री किरण गुरुङ काठमाडौंतिर गएका छन् ।

मुख्यमन्त्रीको अध्यक्षतामा मंगलबार बैठक बसेर लकडाउन अवधिमा अत्यावश्यक उद्योग, विकास निर्माण र कृषिका काम सञ्चालन गर्न प्रदेश सरकारले मापदण्ड बनाएको छ ।

सहर, बजार र घना बस्तीबाहिरका अत्यावश्यक निर्माण व्यवसाय सुरु गर्ने मापदण्डमा उल्लेख गरिएको छ । ढुंगा, गिटी, बालुवा, माटो, तारजाली, इन्धन, बिटुमिनजस्ता निर्माण सामग्री, मेसिनरी औजार, एक्साभेटर, लोडर ब्रेकरजस्ता सामग्रीको ढुवानी व्यवस्था गर्ने प्रदेश सरकारले बताएको छ ।

मजदुरको फोटोसहितको विवरण राखेर सामाजिक दूरी कायम गर्दै विकास आयोजना सञ्चालन गर्न सकिने प्रदेश सरकारको भनाइ छ । कामदारलाई क्षेत्र तोकेर काममा लगाउने, तोकिएको स्थानभन्दा बाहिर जान निषेध गर्ने र बाहिरबाट आएका कुनै पनि व्यक्तिसँग सम्पर्कमा आउन नदिने गरी आयोजनाको काम सञ्चालन गर्न लागिएको सरकारका प्रवक्ता भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतले बताए ।

‘उपलब्ध भएका कामदारलाई मापदण्ड तयार पारेर काममा फर्काउने र सामाजिक दुरी कायम गर्दै उत्पादन र निर्माण आयोजना खोल्न लागेका हौं,’ प्रवक्ता बस्नेतले भने, ‘सरकारका केही पुल, एक निर्वाचन क्षेत्र एक सडक लगायत आयोजनाको पहिचान गरेर काम अगाडि बढाउँछौं ।’

निर्माणस्थलमा अनिवार्य रुपमा प्राथमिक उपचारको व्यवस्था गर्ने र कामदारको ज्वरो नाप्ने, नियमित हात, खुट्टा धुने व्यवस्था मिलाउनुपर्ने सरकारले तयार पारेको मापदण्डमा छ ।

निर्माण सामग्री आपूर्तिका लागि सम्बन्धित कम्पनीले सवारी साधनको प्रकार, चालक, सहयोगीको नाम र प्रयोग हुने स्थान उल्लेख गरेर जिल्ला प्रशासन कार्यालयबाट पास लिन सक्नेछ ।

सरकारले खाद्यान्नसम्बन्धी उद्योग सञ्चालन गर्न लगाउने भएको छ र यसको ओसारपसार गर्नेलाई पनि अनुमति दिने मापदण्ड बनाएको छ ।

अन्नबालीका लागि मल, बिऊ, विषादी, औजारका पसल, ढुवानी साधन प्रशासनबाट पास लिएर सञ्चालन गर्न सकिनेछ ।

जिल्ला प्रवेश तथा प्रस्थान विन्दुमा सवारी साधन सेनिटाइज गर्नेे, मागका आधारमा सिमेन्ट, रड, ग्याबिन, तारजाली, पाइप, फलामजन्य व्यवसाय सञ्चालन गर्न दिने मापदण्ड प्रदेश सरकारले बनाएको छ ।

औद्योगिक क्षेत्रका ३१ उद्योग सञ्चालन

पोखरा औद्योगिक क्षेत्रमा लकडाउनपछि बन्द भएका ३१ उद्योग सञ्चालनमा आएका छन् । ६ सय कामदार लकडाउनपछि काममा फर्केका छन् ।

लकडाउनपछि बन्द भएका उद्योग विस्तारै खुल्न थालेको औद्योगिक क्षेत्र व्यवस्थापन समितिका प्रवन्धक भुषणकुमार उपाध्यायले बताए ।

बिहीबारसम्म आइपुग्दा गण्डकी प्रदेशमा लकडाउन धेरै खुकुलो देखिएको छ । पोखरामामात्र फुस्रे खोला, खहरे खोलालगायतका ३ ठाउँमा पुल निर्माण भइरहेको छ । मानिसहरु काममा फर्किन थालेका छन् भने निर्माण आयोजना र अत्यावश्यक उद्योग खुलाउन प्रदेश सरकारले मापदण्ड तयार पारेको छ ।

निर्माण सुरु गर्दा बाढीबाट जोगियो पुल

कास्कीको मादी गाउँपालिकाको सबिमा पुल निर्माण सुरु गरेर खोलाको वहाव परिवर्तन गराएकै दिन राति ठूलो वर्षा र बाढी आयो । पुलको टेको लगाएका फलाम बाढीले बगायो तर पुल जोगिएको इन्जिनियर सुमन गिरीले बताए ।

‘यदि काम सुरु नभएको भए दोस्रो पटक पनि पुल बगाउने थियो,’ इन्जिनियर गिरीले भने, ‘सामाजिक दुरी कायम गर्दै उपलब्ध मजदुरलाई काममा लगाएकै कारण पुल जोगियो र अहिले ढलान भइसकेको छ ।’

गण्डकी प्रदेशमा २ जनालाई कोरोनाको संक्रमण देखिएको थियो । ती दुबै जना बागलुङका हुन् र उनीहरु निको भएर घर फर्किसकेका छन् ।

गण्डकी प्रदेशमा अहिलेसम्म ६ सय २७ जनाको नमूना संकलन भएर जाँच गरिएकोमा ६ सय २० जनाको परीक्षण नेगेटिभ आएको छ । ५ जनाको नतिजा आउन बाँकी छ । ५ हजार ४ सय १३ जनाको र्‍यापिड टेस्ट गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment