+
+

निर्णायक भनिएको नेकपा सचिवालय बैठक बस्दै, नेताहरू परामर्शमा व्यस्त

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २० गते १०:३५

२० वैशाख, काठमाडौं । नेकपा सचिवालयको बैठक शनिबार बस्दैछ । बैठक अपराह्न चार बजे बस्ने तय भएको छ ।

शनिबार अपराह्न बस्ने बैठकमा बस्नुअघि नेताहरू आन्तरिक छलफलमा छन् । प्रचण्डले बिहान खुमलटार निवासमा पूर्वमाओवादीका केही नेताहरूसँग परामर्श गरेका छन् ।

अध्यादेश प्रकरणपछि नेकपाभित्र उत्पन्न विवादको समाधान खोज्न यो बैठक निर्णायक हुने अनुमान छ । बैठकले सम्भवतः ‘बामदेव कार्ड‘ को छिनोफानोसमेत गर्नेछ ।

यसअघि गत बुधबार बसेको सचिवालय बैठकमा छलफल नसकिएपछि आज पुनः बस्ने निर्णय गरिएको थियो । बुधबारको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष बामदेव गौतमलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारेका थिए । यस्तै, वरिष्ठ नेता माधवकुमार नेपाललाई नेकपाको तेस्रो अध्यक्ष बन्न प्रस्ताव गरेका थिए ।

प्रचण्ड, माधव नेपाल र बामदेव समूह ओलीविरुद्ध एकजुट भइरहेको बेला यो प्रस्तावले नेकपाको आन्तरिक संघर्षमा नयाँ ट्विस्ट ल्याएको थियो । त्यसपछि शुक्रबारसम्म प्रचण्ड-नेपाल पक्षबीच र आ-आफ्ना समूहबीच छुट्टै छलफल भएका थिए ।

पार्टी फुटाउने उद्देश्यले राजनीतिक दलसम्बन्धी अध्यादेश एक्कासी जारी गरेपछि पार्टीभित्र र बाहिरबाट प्रधानमन्त्री ओलीको आलोचना भइरहेको छ । चौतर्फी विरोध भएपछि अध्यादेश खारेज भइसकेको छ । तर, अध्यादेशको औचित्यबारे छलफल गर्न प्रचण्ड-नेपाल पक्षले पहिले सचिवालय बैठकपछि स्थायी कमिटी बैठक बोलाउन माग गर्दै आएका छन् । उनीहरूले ओलीको एकलौटी कार्यशैलीले सरकार अलोकप्रिय भएको भन्दै बाटो खुल्ला गरिदिन दबाब दिँदै आएका छन् ।

गत बुधबारयता आ-आफ्नो समूहमा छलफल गर्दै आएका उनीहरू शनिबारको सचिवालय बैठकमा कसरी प्रस्तुत हुन्छन्, त्यसले ओलीको भविष्य निश्चित गर्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?