+
+
Shares
नेपाली डाक्टरहरूको अध्ययनको निष्कर्ष :

३० दिन लकडाउन, वर्षभरि भौतिक दुरी र व्यापक टेस्ट भए कोरोना नियन्त्रण !

संक्रमितको संख्यासँगै स्वास्थ्य सेवाको आवश्यकता पनि ९९ प्रतिशत घटाउन सकिने रहेछ

डा. किरणराज पाण्डे डा. किरणराज पाण्डे
२०७७ वैशाख २० गते २१:४६

कोरोना भाइरसबारे थाहा भए पनि कोभिड-१९ हाम्रालागि नित्तान्त नयाँ रोग हो । यसका क्लिनिकल पार्टहरू धेरै छन् । त्यसमा अहिले म जाँदिनँ । आज म पब्लिक हेल्थको पाटोबाट केही कुरा गर्छु ।

यसमा आजको दिनमा र एक महिनाअघि पनि हामीले जान्नुपर्ने तीनवटा प्रश्न महत्वपूर्ण थियो ।

पहिलो, हामीकहाँ संक्रमण कति छ या छैन ?

दोस्रो, हामी संक्रमणको जोखिममा कति छौँ ?

इटाली, युरोप वा अमेरिकामा देखिएको जस्तै हो कि कतिपय मानिसहरूले अन्दाजमा भने जस्तो नेपालीहरूको रोग प्रतिरोधात्मक क्षमता बढी छ र हामी जोखिममा छैनौं । यो अलिक जटिल र बहुआयामिक प्रश्न हो। किनकि यसको विज्ञानसम्मत र प्रमाणित उत्तर हामीसँग छैन ।

तेस्रो, नेपालमा संक्रमण फैलिने नै हो भने त्यसको रोकथाम र नियन्त्रणको प्रभावकारी उपाय के हो ?

यिनै प्रश्नहरूको उत्तर खोज्न हामीले एउटा अध्ययन गरेका छौँ । सामान्यतया विज्ञानमा यस्ता प्रश्नहरूको उत्तर खोज्न सुरुमा एउटा थ्योरी बनाइन्छ। वस्तुनिष्ठ पृष्ठभूमिमा राखेर यो यस्तो हुनुपर्ने, त्यस्तो हुनुपर्ने, यस्तो हुन्छ होला भनेर आफ्नो इन्फर्म ओपेनियन (सुसूचित विचार)का आधारमा एउटा थ्योरी बनाइन्छ । कतिपय अवस्थामा त्यसलाई कि त फिल्डमा, कि ल्याबमा एक्सपेरिमेन्ट (परीक्षण) गर्न लैजान्छौँ। यो अध्ययनमा फिल्डमै गएर परीक्षण गर्न सक्ने अवस्था थिएन । किनकि यसका लागि देशको आधा भागलाई नियन्त्रणको उपाय लगाउने र आधामा नलगाउने, अनि कस्तो हुन्छ भनेर हेर्नुपर्छ ।

त्यसैले हामीले ‘म्याथम्याटिकल मोडिलिङ स्टडी’ गरेका छौँ । हामीले काठमाडौं उपत्यकालाई एउटा मोडलमा राखेर संक्रमण रोकथाम र नियन्त्रणको उपाय अपनाउँदा के हुने रहेछ भनेर हेर्‍यौँ । यो म्याथम्याटिक्सले निर्धारण गर्छ । यो रोगबारे हामीले अहिलेसम्म थाहा पाएकाहरू कुरा लिन्छौँ । जस्तो, चीनबाट के सिक्यौँ, इटालीबाट के सिक्यौँ ? अमेरिकाबाट के सिक्यौँ ? यसको संक्रमण दर कति रहेछ ? एउटा व्यक्तिले अर्को व्यक्तिलाई कति फैलाउँदो रहेछ ? कति दिनमा फैलिँदो रहेछ ? सामान्यतया कति मानिसलाई लक्षण देखिँदोरहेछ ? कति मानिसलाई अस्पताल जानुपर्ने रहेछ ? यिनै विषयमा अहिलेसम्म भएका अनुसन्धानलाई लियौँ र काठमाडौंको जनसंख्याअनुसार ढाल्यौँ ।

चीनको जनसंख्या र नेपालको जनसंख्याको बनोट फरक छ । हाम्रो उमेर समूह पनि फरक छ । हामीले अहिलेसम्म जानेको पनि के हो भने समाजको बनोट कस्तो छ, त्यसले कति मान्छेमा संक्रमण फैलिने, कति मान्छेमा लक्षण देखिने सबै कुराहरूमा फरक पार्छ । त्यसैले यसलाई काठमाडौंको जनसंख्याअनुसार ढाल्यौँ ।

अनि रोकथामका उपायहरू लकडाउन, सामाजिक दुरी र परीक्षण गर्दा कतिको प्रभावकारी हुँदोरहेछ भनेर बाहिर पाएका वैज्ञानिक आधारहरूलाई हाम्रो परिप्रेक्ष्यमा ढाल्यौँ र त्यसलाई हाम्रो म्याथम्याटिकल मोडलमा हाल्यौँ । त्यहाँबाट हामीले विशेषगरी तीनवटा कुरा हेर्न चाह्यौँ ।

पहिलो, एक महिना लकडाउन गर्दा के भयो ? यसलाई दुई महिना बनाउँदा के हुन्छ ?

दोस्रो, लकडाउन बन्द गरेर एक वर्षसम्म सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने, हात धुने जस्ता सुरक्षा उपाय अपनाउँदा के हुन्छ ?

तेस्रो, व्यापक रुपमा टेस्ट सँगसँगै आइसोलेसन र कन्ट्याक ट्रेसिङ गर्दा के हुन्छ ?

हाम्रो अध्ययनले के देखायो भने कुनै एक उपायले सम्भावित महामारी टार्न सकिँदो रहेनछ । महामारी टार्न तीनवटै उपायको महत्वपूर्ण भूमिका हुन्छ ।

सुरुमा लकडाउनको कुरा गरौँ । हाम्रो अध्ययनले के देखायो भने सीमा र हवाई उडान पनि बन्द भएका कारण लकडाउनले संक्रमणको संख्या बढ्न दिएको छैन । हामीले अध्ययनका क्रममा लकडाउन अगाडि एउटा निश्चित संख्यामा संक्रमित छ भन्ने मानेर हेर्दा अहिले त्यो संख्या घटेको देखिन्छ । लकडाउनका कारण सुपर स्प्रेडिङ अर्थात् कुनै एउटा ठाउँमा एउटा संक्रमितबाट धेरैमा सर्न पाएको छैन । यसका साथसाथै सम्भावित महामारीको उत्कर्षलाई पनि पछाडि धलेकेको छ ।

यदि हामीले एक महिना (३० दिन) लकडाउन गर्‍यौँ भने महामारी ३६ दिन जति पछाडि धकेलिने रहेछ । लकडाउनलाई ६० दिन बनाउने हो भने महामारी ७४ दिन पछाडि धकेल्दो रहेछ । तर, एक वर्ष पछाडि गएर हेर्ने हो भने खासै फरक नपर्ने रहेछ संक्रमितहरू त्यति नै बढ्ने रहेछन् । सम्भावित मृत्यु त्यति नै हुने रहेछ। अस्पताल भर्ना हुनेहरूको संख्या उत्तिकै हुने रहेछ ।

त्यसपछि हामीले एक महिनापछि लकडाउन कायम नराख्ने तर वर्षभरि फिजिकल डिस्ट्यान्स (सामाजिक दुरी) कायम राख्दा के हुन्छ भनेर हेर्‍यौँ । त्यसो गर्दा सम्भावित मृत्यु एक तिहाइ घट्दो रहेछ। अस्पतालमा भर्ना गर्नुपर्ने, आईसीयू र भेन्टिलेटर चाहिने बिरामीहरूको संख्या दुई तिहाइले घट्दो रहेछ । यसका बाबजुद महामारीमा मानिसहरू मृत्यु हुने सम्भावना रहन्छ ।

यदि एक महिनाको लकडाउनसँगै द्रूत गतिमा एक्टिभ केस खोज्यौँ, घरघरमा गएर परीक्षण गर्‍यौँ भने सम्भावित मृत्युलाई २५ प्रतिशत घटाउन सकिँदो रहेछ ।

तर, ३० दिनको लकडाउनपछि वर्षभरि फिजिकल डिस्ट्यान्स कायम राख्ने, सिनेमा हल, विद्यालय र अन्य भिडभाड हुने क्षेत्रहरू नखोल्ने र व्यापक टेस्ट गर्ने गर्‍यौंँ भने संक्रमितको संख्यासँगै स्वास्थ्य सेवाको आवश्यकता पनि ९९ प्रतिशत घटाउन सकिने रहेछ । तर, त्यो गर्नलाई प्रत्येक दिन संक्रमितको संख्या ५ प्रतिशत पत्ता लगाउनुपर्छ । अर्थात्, यदि काठमाडौंमा १०० संक्रमित छन् भने प्रत्येक दिन ५ जना पत्ता लगाउनुपर्छ । ५ प्रतिशतभन्दा धेरैलाई यो ठूलो संख्या नलाग्ला । तर, पब्लिक हेल्थका हिसाबले यो ठूलो संख्या हो ।

यसलाई यसरी पनि भन्न सकिन्छ हामीले १० हजारमा टेस्ट गर्दा ५० जना संक्रमित भेटायौँ भने सरदर दुई सय जनामा टेस्ट गर्दा एक जना संक्रमित भेटिने भए र दैनिक ५ जना संक्रमित भेटाउन दैनिक एक हजार जनाको टेस्ट गर्नुपर्ने रहेछ ।

पुग्नुपर्ने ठाउँ अलिकति माथि छ, थोरै जम्प हान्ने हो भने भेट्टाउँछौँ तर हामीले जम्प हान्ने जमर्को गरिरहेका छैनौँ

तर, दुःखका साथ भन्नुपर्छ, पछिल्लो दिनमा हाम्रो टेस्ट घटेको छ । अझै पनि हामीले लत नछाडेर काम गर्‍यौँ भने कोरोना नियन्त्रणका लागि अवसर छ । यो धेरै टेस्ट गर्न सकिन्न भनेर बस्ने बेला होइन । किनकि कोरोना नियन्त्रणका लागि प्रभावकारी र सजिलो उपाय व्यापक टेस्ट नै हो । यदि यो हाम्रो नियन्त्रण बाहिर गयो भने महामारीलाई कुनै हालतमा नियन्त्रण गर्न सक्दैनौँ ।

हामीले भनेको टेस्ट पीसीआर नै हो । र्‍यापिड डायग्नोस्टिक टेस्टको काम डाइग्नोसिसका लागि होइन, सर्भे गर्न मात्र काम लाग्ने हो । र्‍यापिड टेस्टमा मात्र भरपर्दा दुर्घटना निम्तिन सक्छ । अहिले आरडीटी र पीसीआर गरेर लगभग ६० हजार टेस्ट भएको छ । तर, पीसीआर १२ हजार मात्र छ, आरडीटी टेस्ट धेरै छ । जबकि हामीले अहिलेसम्म ६० हजार पीसीआर टेस्ट गर्न पाएको भए ढुक्क हुन सकिन्थ्यो । किनकि यदि समुदायमा संक्रमित भएको भए भेट्टाउथ्यौँ र थप सतर्कता अपनाउथ्यौँ । ६० हजार पीसीआर टेस्ट गर्दा पनि अवस्था अहिलेको जस्तै भएको भए विश्वसामु भन्न सक्थ्यौँ, यत्रो टेस्ट गर्दा पनि संक्रमण देखिएन । एक जनाको पनि मृत्यु भएको छैन ।

मेरो विचारमा हामी कहाँ अहिले हरेक दिन हजारदेखि दुई हजार टेस्ट गर्नुपर्छ। चीनमा पनि सुरुवाती अवस्थामा दुई सयदेखि तीन सय जाँच गर्दा एक जनामा संक्रमण देखिएको हो । तर, संक्रमण बढ्दै जाँदा यसको अनुपात बढ्छ । अहिले हाम्रो अवस्था के देख्छु भने पुग्नु पर्ने ठाउँ अलिकति माथि छ, थोरै जम्प हान्ने हो भने भेट्टाउँछौँ । तर, हामीले जम्प हान्ने जमर्को गरिरहेका छैनौँ।

यो त भयो अहिलेसम्मको अवस्था । २५ वैशाखपछि लकडाउन खोल्ने वा खुकुलो बनाउने बहस भइरहेको छ । लकडाउन खुकुलो बनाउँदा यही जोखिम हुन्छ भजेर म किटान गर्न सक्दिनँ । किनकि, टेस्टको दायरा बढेर संक्रमण यहाँ यति छ भन्ने थाहा पाएको भए मात्र महामारीले कस्तो रुप लिन्छ भनेर भन्न सकिन्छ । यति थोरै टेस्टका आधारमा भन्नु वैज्ञानिक हुँदैन ।

तर, हामीले के बिर्सनु हुँदैन भने एउटा अवस्थामा कोभिड-१९ ले पुर्‍याउन सक्ने क्षतिभन्दा अरू आर्थिक सामाजिक क्षति बढी हुन सक्छ । किनकि हामी कहाँ धेरै मानिसलाई बिहान बेलुका के खाने भन्ने समस्या छ । अरू जोखिमपूर्ण रोग लागेका मानिसलाई अस्पताल पुग्न समस्या छ । त्यसैले लकडाउन नै सबथोक हो भनेर बस्नु हुँदैन । बिस्तारै लकडाउन खोल्दै गर्नुपर्छ । परीक्षण व्यापक बनाउनुपर्छ । त्यसो गर्दा कुनै समुदाय वा क्लस्टरमा संक्रमण देखियो भने त्यो ठाउँमा सिल गर्नुपर्छ ।

धेरै मानिसको जमघट हुने सिनेमा हल एक वर्षसम्म नखोल्दा हुन्छ विद्यालयहरू तत्काल खुला गर्न हुन्न । किनकि बच्चाहरू एक आपसमा नजिकमा खेल्छन् । उनीहरूमा लक्षण नदेखिए पनि घरमा गएर वृद्धवृद्धालाई सार्ने सम्भावना बढी हुन्छ । धेरै मानिसको जमघट हुने, मन्दिर, चर्च वा मस्जिदहरू खोलिहाल्नुहुन्न । तर, सुरक्षाका उपायहरू अपनाएर उद्योगधन्दा खोल्नुपर्छ होला । कार्यालयहरूमा भौतिक दुरी कायम राखेर खोल्नुपर्छ ।

तर, हामीले गर्नुपर्ने काम यो-यो हो भनेर जान्दाजान्दै त्यो काम गर्ने जमर्को नगरेको देखिएको छ । सरकारले लकडाउन खोल्न गर्नुपर्ने सबै तयारीहरू गरेको छ भनेर मचाहिँ त्यति विश्वस्त छैन । किनकि हामीले चाहिने जति परीक्षण नै गरेका छैनौँ । यति थोरै परीक्षण गरेर कसरी संक्रमण छैन भनेर ढुक्क हुने ?

परीक्षण बढाउनुपर्छ भन्दा सरोकारवाला निकायहरू त्यति धेरै कसरी सम्भव छ र भन्ने गर्नुहुन्छ । तर, हाम्रो जस्तै आर्थिक सामाजिक अवस्था भएका थुप्रै देशहरूले गरेका छन् ।

भियतनाम र हाम्रो देशमा एउटै समयमा संक्रमण देखिएको हो । केरलमा पनि त्यही समयमा देखिएको हो । भाग्यवश हामीकहाँ पहिचान भएको संक्रमितको संख्या भियतनाम र केरलाको संख्याभन्दा कम छ । तर, संक्रमितको संख्या साँच्चै कम भएर नै कम देखिएको हो भन्न सक्ने अवस्था छैन । किनकि भियतनाम र केरालाको पब्लिक हेल्थ रेस्पोन्स हाम्रोभन्दा धेरै सबल छ ।

भियतनामले ठाउँठाउँमा मोबाइल भ्यान पठाएर परीक्षण गराउँछ । कुनै ठाउँमा संक्रमित भेटियो भने उसको कन्ट्याक्ट ट्रेसिङ गरेर तीव्र परीक्षण गर्ने गरेको छ । भियतनाममा नेपालको भन्दा ३ गुणा बढी जनसंख्या छ । त्यहाँ पीसीआर टेस्ट नै नेपालले भन्दा ७-८ गुणा बढी भएको छ ।

केरालामा विशेष गरी त्यहाँको स्वास्थ्यमन्त्रीको सक्रियता एकदमै राम्रो छ । त्यसले धेरै फरक पारेको छ ।

कम्तीमा दक्षिण एसियामा सबैभन्दा राम्रो कोरोना रोकथाम र नियन्त्रण कार्यक्रम नेपालमा छ भनेर देखाउन सकिने अवसर छ । यो गुमाउने हो कि भन्ने शंका छ

भियतनाम र केरललाई के फाइदा भयो भने उनीहरू यसअघि यस्तै प्रकारको संक्रमणको जोखिमबाट गुज्रिएका थिए । भियतनाम सार्सको संक्रमणबाट गुज्रिएको थियो भने केरल निपाबाट । त्यहीकारण उनीहरूकोमा राम्रो पब्लिक हेल्थ टिम छ । तर, हाम्रो ठूलो कमजोरी यही भयो । हाम्रो चुनौती र रेस्पोन्सको बीच जुन सामञ्जस्य हुनुपर्ने हो, त्यो नै भएन । हामीले कम्तीमा पनि सयौं जनस्वास्थ्यकर्मी परिचालन गर्नसक्ने टिम बनाउनुपर्थ्यो । मोबाइल भ्यानहरू तयार गर्नुपर्थ्यो । त्यो गर्न सकेनौँ । स्वास्थ्य सेवा विभागले सुरुवाती दिनमा १८/१० जना जनस्वास्थ्यकर्मी परिचालन गर्ने नीति लियो नि, त्यो पटक्कै काफी थिएन । अहिले समुदाय स्तरमा तीन-तीन जनाको टोली बनाउने भन्ने कुरा आएको छ । यसलाई परिचालन गर्न सक्यौँ भने बढी प्रभावकारी हुन्छ । तर, उनीहरूले पनि यहाँ मान्छेहरू यसरी संक्रमित होलान् भनेर हेर्ने तर परीक्षण बढाउन नसक्ने हो भने हुन्न ।

टेस्ट-टेस्ट भनिरहँदा के सबै मान्छेलाई टेस्ट गर्दै हिँड्ने भनेको पनि सुनिन्छ । तर, लक्षण हेरेर मात्र गरिने टेस्ट पर्याप्त हुन्न । किनकि पछिल्लो एक-दुई महिनामा हामीले के जान्यौं भने ४० देखि ५० प्रतिशत संक्रमण लक्षण नभएका मानिसहरूबाट फैलिएको छ । त्यसैले हामीले सुझाएका पनि थियौं कि लकडाउन गर्नुभन्दा १/२ महिनामा जे जति मानिसहरू विदेशबाट आएका छन्, उनीहरू सबैलाई खोजौँ । सकेसम्म सबैको टेस्ट गरौँ । यदि सकिँदैन भने र्‍यान्डम स्याम्पल लिऔं । उनीहरूको सम्पर्कमा आएकाहरूलाई खोजौँ । यसबाट हामीलाई १०औं हजार सम्भावित मानिस उपलब्ध हुन्छन् । त्यसो गर्दा केस फाइन्डिङको दर बढ्न सक्छ ।

यसो भन्दा ‘२०/३० हजार टेस्ट त हामी कहाँ गर्न सक्छौँ र ?’ भनियो । यही मेन्टल ब्लकले नै हामीलाई अप्ठ्यारोमा पारिरहेको छ । यदि यसलाई तोड्न सक्ने हो भने मचाहिँ व्यक्तिगत रुपमा केमा विश्वस्त छु भने कम्तीमा दक्षिण एसियामा सबैभन्दा राम्रो कोरोना रोकथाम र नियन्त्रण कार्यक्रम नेपालमा छ भनेर देखाउन सकिने अवसर छ। यो गुमाउने हो कि भन्ने शंका छ ।

हुन त अहिले पनि नेपालमा कोरोना नियन्त्रणका लागि राम्रो काम भइरहेको छ भनेर सन्देश दिन खोजिएको छ । यसको कारण के हो भने हामीकहाँ लगभग ६० हजार टेस्ट भयो, ५५/६० जना मात्र संक्रमित भेटायौँ। कसैको पनि मृत्यु भएको छैन भनिएको छ । यो पूर्ण सत्य होइन । हामीले आरडीटीलाई टेस्टको संख्यामा गनेका छौँ । तर, त्यसमा पोजेटिभ देखिएकाहरूलाई संक्रमितमा गनेका छैनौँ । त्यहीकारण प्रति १० लाख १८००/२००० टेस्ट देखिएको छ । पीसीआर टेस्टमात्र हेर्ने हो भने यो दर ३००/३५० मात्र हो र यो भ्रमले कुनै पनि बेला दुर्घटना निम्त्याउँछ ।

(हृयाम्स अस्पतालमा कार्यरत डा. पाण्डेसँग अनलाइनखबरका लागि राजकुमार श्रेष्ठ र सागर बुढाथोकीले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?