Comments Add Comment

भैंसेपाटी गठबन्धन भत्कियो, नेकपा सचिवालयमा ओलीको बहुमत

२० वैशाख, काठमाडौं । अध्यादेश प्रकरणपछि पार्टीभित्र र बाहिर आलोचित भएर राजीनामा दिने वा हटाइने अवस्थामा पुगेका प्रधानमन्त्री केपी शर्मा ओली नेकपा सचिवालय बैठकको पूर्वसन्ध्यामा एकाएक आन्तरिक समीकरणमा बलियो बनेका छन् ।

प्रचण्ड-माधव नेपाल गठबन्धनमा रहेका उपाध्यक्ष बामदेव गौतम र गृहमन्त्री तथा सचिवालय सदस्य रामबहादुर थापा बादलको साथले ओली बहुमतमा पुगेका हुन् । यसअघि सचिवालयमा ओली अल्पमतमा थिए ।

ओली पक्षका नेकपा नेता कृष्णगोपाल श्रेष्ठले सचिवालयमा प्रधानमन्त्रीलाई बहुमत पुगेपछि हाललाई पार्टीभित्र उत्पन्न संकटमोचन भएको बताए । अब ओलीको साथमा बामदेव, बादल, ईश्वर पोखरेल र विष्णु पौडेल हुनेछन् ।

नौ सदस्यीय सचिवालयमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ चारजना अल्पमतमा पुगेका छन् । प्रचण्ड-माधव नेपाल पक्षले स्थायी कमिटी बैठकको माग गर्नेछ । तर, ओलीले स्थायी कमिटी बैठक नबोलाउने संकेत महासचिव विष्णु पौडेलले अनलाइनखबरसँगको अन्तर्वार्तामा गरेका छन् ।

यो पनि पढ्नुहोस नेकपा महासचिव भन्छन्– ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै छाड्नुहुन्न

शनिबार बिहानैदेखि ओलीले बामदेवसँग बालुवाटारमा छलफल गरेका थिए । उनले आफूनिकट अन्य नेताहरूसँग पनि छलफल गरे । महासचिव पौडेल बिहानैदेखि बामदेवसँगै थिए । बामदेवलाई ओलीले कसरी कन्भिन्स गरे भन्ने खुलेको छैन ।

तर, भैंसेपाटीस्थित गौतम निवास पुगेका नेकपाका सांसदहरूसँग उनले आफू ओलीको पक्षमा उभिने बताएका थिए। गौतम उपचुनावबाट प्रतिनिधिसभामा आउने सम्भावना रहेको उनलाई भेटेका एक सांसदले बताए ।

प्रधानमन्त्रीले अहिले राजीनामा पनि नगर्ने र कहिलेसम्म बामदेवलाई प्रधानमन्त्री बनाउने भन्ने पनि खुलाइने छैन । गौतमलाई उपयुक्त समयमा उपयुक्त प्रक्रियाबाट संसदमा ल्याइने र त्यसपछि अरू विषयमा छलफल हुने ओलीनिकट नेताहरूले बताएका छन् ।

ओलीले बुधबारको बैठकमा अचानक आफूले छाडेपछि गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव ल्याएदेखि उनी खुमलटार र कोटेश्वरका बैठकमा जान छाडेका छन् । यसअघि गौतम निवासमा बनेको भैंसेपाटी गठबन्धन पनि भत्किएको छ ।

गौतम ओलीतिर लागेपछिको रणनीति बनाउन प्रचण्ड र माधव नेपाल पक्षको पनि अलग्गै छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment