Comments Add Comment

बामदेवलाई पाल्पा–१ मा उम्मेदवार बनाउने कुरा झूटो हो : दलबहादुर राना

+त्र नं. १

२१ वैशाख, बुटवल । पाल्पा क्षेत्र नं. १ बाट निर्वाचित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रतिनिधिसभा सदस्य दलबहादुर रानाले आफ्नो क्षेत्रबाट बामदेव गौतमलाई उम्मेदवार बनाउने भन्ने कुरा झुठो र भ्रामक भएको बताएका छन् । शनिबार साँझ बसेको नेकपाको सचिवालय बैठकले पार्टी उपाध्यक्ष गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभामा लैजान पहल गर्ने निर्णय गरेको थियो ।

यो निर्णय हुनुमा पार्टी महासचिव विष्णु पौडेलले पाल्पा–१ का सांसद रानालाई राजीनामा गराई बामदेवलाई त्यहाँ उम्मेदवार बनाउन सहमत गराएको भनी समाचार आएका थिए ।

उक्त समाचार भाइरल भएपछि राति १२ बजेर ४ मिनेटमा फेसबुकमा स्टाटस लेख्दै सांसद रानाले उक्त कुरा झूठो, भ्रमपूर्ण र पार्टीको एकता बिरोधी षड्यन्त्रबाट प्रेरित भएको उल्लेख गरेका छन् ।

‘केही समयदेखि पार्टीभित्र देखापरेको आन्तरिक विवादलाई सचिवालयको बैठकमा नेताहरुले आत्मालोचना गर्ने, २५ गते स्थायी समितिको बैठक बस्ने, तीनजना अध्यक्ष राख्ने विषय अघि नबढाउने र कमरेड बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभाको उम्मेदवार बनाएर प्रतिनिधि सभामा लैजान पहल गर्ने जस्ता महत्वपूर्ण  निर्णयहरु गरेर समाधान निकाल्न सफल भएको कुरा पार्टी प्रवक्ता कमरेडबाट जानकारी पाउँदा सम्पूर्ण नेता कार्यकर्ता, मतदाता र शुभचिन्तकहरु अत्यन्त खुसी भएका छौं । तर बैठकमा र सम्बन्धित कसैसँग पनि छलफल र चर्चा नै नभएको विषय ‘बामदेव गौतमलाई पाल्पा क्षेत्र नं १ बाट चुनाव लडाउने सहमति भएको’ भन्ने समाचार झूठो, भ्रम पूर्ण र पार्टीको एकता बिरोधी षड्यन्त्रबाट प्रेरित भएको व्यहोरा सबैमा जानकारी गराउन चाहन्छु,’ सांसद रानाले लेखेका छन् ।

सांसद राना तत्कालीन एमाले विभाजन हुँदा बामदेव गौतम र सीपी मैनालीकै पक्षमा लागेर नेकपा मालेमा गएका थिए । पछि गौतमसँगै पुनः एमालेमा फर्किएका थिए । लामो समय गौतमको नजिकका सांसद राना पूर्वभूमिसुधार मन्त्री पनि हुन् । सांसद राना अघिल्लो महाधिवेशनताका नेता गौतमसँगै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली समूहमा पुगेका थिए ।

सांसद रानाले स्टाटस राखेलगत्तै उनका समर्थकले बामदेवलाई तत्काल सांसद र प्रधानमन्त्री बन्न मन लागेको हो भने सबैभन्दा उपयुक्त झापा–५ हुने सुझाव दिएका छन् । कार्यकर्ताले दुःख गरेर चुनाव जिताएको स्मरण गराउँदै रानालाई कुनै पनि हालत र परिस्थितिमा पछि नहट्न आग्रह गरेका छन् ।

अर्का एकजनाले सांसद रानालाई राजीनामा गर्न वाध्य पारिए जनताले स्वीकार नगर्ने चेतावनी दिएका छन् । एकजनाले गौतम जुनसुकै क्षेत्रबाट उम्मेदवार बने पनि पार्टीभित्रैबाट हराउने टिप्पणी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment