Comments Add Comment

अनावश्यक वस्तुको आयात रोक्न माग गर्दै जनप्रतिनिधिको ज्ञापनपत्र

फाइल तस्वीर

२१ वैशाख, सिन्धुपाल्चोक । तातोपानी नाकाबाट कोरोना भाइरस प्रतिरोधी स्वास्थ सामग्री र खाद्यान्नभन्दा पनि अनावश्यक सामान आयात हुन थालेको भन्दै भोटेकोशी गाउँपालिकाका जनप्रतिनिधिले तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।

तातोपानी भन्सारका कर्मचारी र व्यापारीको मिलेमतोमा स्याउ, लसुनजस्ता सामान तातोपानीमा आएको उनीहरुको भनाइ छ ।

भोटेकोशी गाउँपालिका–१ का वडाध्यक्ष मुके शेर्पाका अनुसार सो नाकाबाट स्वास्थ सामग्री र अतिआवश्यक खाद्यान्न मात्रै ल्याउन चीन तथा नेपालका प्रशासनिक र सुरक्षाकर्मीको बैठकले निर्णय गरेको थियो । केही दिनदेखि अतिआवश्यकभित्र नपर्ने स्याउ र लसुन ल्याएको भन्दै गाउँपालिकाका वडाध्यक्षहरुले तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।

लकडाउनका बेला अनावश्यक वस्तु स्याउ, लसुनजस्ता सामान आयात हुन थालेपछि सीमावर्ती गाउँपालिकाका जनप्रतिनिधि आन्दोलनमा उत्रिएका हुन् ।

स्याउ र लसुन ल्याएको भन्दै गाउँपालिका–१ का अध्यक्ष शेर्पा, २ का अध्यक्ष दीपेन्द्रकुमार श्रेष्ठ, ३ का अध्यक्ष कैलाश पौडेल र ४ का अध्यक्ष साङदोर्जे शेर्पाले वैशाख १९ गते ज्ञापनपत्र बुझाएका हुन् । भन्सार प्रमुखले ज्ञापनपत्र लिन नमानेपछि वडाध्यक्षहरुले भन्सार कार्यालयमा सुरक्षा दिइरहेका प्रहरीमार्फत भन्सार कार्यालयलाई ज्ञापनपत्र बुझाएका हुन् ।

गाउँपालिका–२ का अध्यश्र श्रेष्ठले कोरोना भाइरसका कारण लकडाउन भएका बेला नाकाबाट स्वास्थ सामग्री र अतिआवश्यक खाद्यवस्तु (चामल, दाल, तेल, नुन) मात्रै ल्याइनुपर्नेमा भन्सारका कर्मचारी, केही व्यापारी, प्रशासन, सुरक्षाकर्मीको मिलेमतोमा स्याउ र लसुन ल्याइएको प्रति आक्रोश व्यक्त गरे ।

नेपाल भित्रिएका स्याउ र लसुन राजधानी लैजान नदिने र केही गरी सो वस्तु काठमाडौँ लैजाने प्रयास गरिए वडाध्यक्ष र स्थानीयवासीले प्रतिकार गर्ने वडाध्यक्षहरुले चेतावनी दिएका छन् । तत्कालका लागि कारोना भाइरस प्रतिरोधी सामग्रीबाहेकका सामान नल्याउन पनि वडाध्यक्षहरुले भन्सार कार्यालयलाई आग्रह गरेका छन् ।

लकडाउनमा स्वास्थ सामग्री र खाद्यान्नबाहेक स्याउ, लसुनलगायतका वस्तु ल्याइएको खण्डमा वडावासी र गाउँपालिकावासी सशक्त प्रतिकार गरेर सो सामान सबैको रोहवरमा नष्ट गर्ने वडाध्यक्षहरुले बताएका छन् । गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले व्यापारी र भन्सारका कर्मचारीको मिलेमतोमा सामान आएको जानकारी दिए ।

भोटेकोशीको क्वारेन्टाइन बन्द

यसैबीच, मापदण्ड नपुगेको भन्दै भोटेकोशीका १० श्य्याको क्वारेन्टाइन बन्द गरिएको छ ।

शनिबार अनुगमनका क्रममा १८ श्य्यामध्ये आठ श्य्यामात्र मापदण्ड पूरा भएको पाइएकाले बाँकी १० वटालाई खारेज गारिएको जिल्ला जनस्वास्थ्य कार्यलयका प्रमुख दुर्गादत्त चापागाईंले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment