
२१ वैशाख, वीरगञ्ज । राहत वितरण गर्न माग गर्दै स्थानीयले पर्साको जीराभवानी गाउँपालिका कार्यालय घेराउ गरेका छन् ।
गाउँपालिकाले राहत वितरण नगर्दा गरिब तथा विपन्न परिवार बढी समस्यामा परेकोभन्दै वडा नम्बर १ का स्थानीयहरूले आइतबार गाउँपालिका घेराउ गरेका हुन् ।
जनता समाजवादी पार्टीका स्थानीय नेता नेसार समानीको नेतृत्वमा लकडाउन प्रभावितहरू गाउँपालिका कार्यालय घेराउ गर्न पुगेका थिए । गाउँपालिकाले वडा नं २ माबाहेक अन्य वडामा राहत वितरण नगरेकोले दबाब दिनका लागि गाउँपालिका घेराउ गरिएको समानीले बताए ।
प्रदर्शनमा सहभागीहरूले ‘जनता करे राशन रासन, नेता करे भाषण भाषण’, ‘गाउँपालिका घेरल जाई, तब राहत पावल जाई’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
यसअघि तीन दिनभित्र राहत वितरण गर्नुपर्ने माग सहित वडावासीले गाउँपालिका प्रमुखलाई ज्ञापनपत्र समेत बुझाएका थिए । तीनदिन बितिसक्दा समेत मागमा कुनै सुनुवाई नभएपछि बाध्य भएर लकडाउनकै क्रममा समेत प्रदर्शनमा उत्रनु परेको उनीहरू बताउँछन् ।
गाउँपालिकाकी उपप्रमुख उषा चौधरीले बुधबार वडा अध्यक्षहरूसँग छलफल गरेर १० दिनभित्र राहत वितरण गर्ने आश्वासन दिएपछि उनीहरू घर फर्केका थिए । गाउँपालिका प्रमुख रामपृत महतोले राहत वितरणका सम्बन्धमा उत्पन्न समस्या समाधानका लागि छलफल भइरहेको जानकारी दिए ।
प्रतिक्रिया 4