Comments Add Comment

हातले नछोइकन निस्किन्छ साबुन, सेनिटाजर र पानी

२२ वैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट जोगिन बेला बेलामा हात धुने, गुणस्तरीय सेनिटाइजर प्रयोग गर्ने सल्लाह चिकित्सकहरुले दिन्छन् । तर, धेरै जनाले एउटै धारा, एउटै साबुन र एउटै स्यानिटाइजरको बट्टा छुनुपर्‍यो भने कोरोना संक्रमणको जोखिम कायमै हुन्छ ।

यही जोखिमलाई मध्यनजर गर्दै नेपालमा हातको सहायताबिना साबुन र सेनिटाइजर लगाउने तथा धारा खोल्ने र बन्द गर्ने प्रविधि तयार पारिएको छ । ललितपुरको ग्वार्कोस्थित शितल थोपा सिंचाइ प्रविधि उद्योगले खुट्टाको सहायताले साबुन र स्यानिटाइजर निस्किने तथा धारा खोल्न र बन्द गर्न मिल्ने प्रविधि तयार पारेको हो । यस्तो प्रविधि नेपालमै पहिलो भएको दाबी उद्योगको छ ।

शितल थोपा सिंचाइका कार्यकारी निर्देशक रोहित थापाले अनलाइनखबरसँग भने, ‘हातले छुन नपर्ने भएकाले यसले कोराना संक्रमणको जोखिम न्युनीकरण गर्न सहयोग गर्नेमा हामी विश्वस्त छौं ।’

मानिसहरुको भिडभाड हुने स्थान बैंक, विद्यालय, अस्पताल, सरकारी कार्यालय तथा सार्वजनिक स्थानमा यो प्रविधि उपयोगी हुने ठानिएको छ ।

कसरी काम गर्छ ?

यो प्रविधिमा वायाँ खुट्टातिरको पाइडलमा थिच्दा लिक्विड ह्यान्ड वास निस्किन्छ भने दायाँ खुट्टातिरको पाइडल थिच्दा धारोबाट पानी आउँछ । पाइडल छोड्दा पानी र ह्यान्ड वास आउन बन्द हुन्छ । यसरी हातको सहायताविना धारा खोल्ने, बन्द गर्ने र ह्यान्ड वास निकाल्ने गर्न सकिन्छ । हातको सहायता विना खुट्टाले थिचेर सेनिटाइजर निस्कने प्रविधि पनि निर्माण गरिएको छ ।

यसको माग बढिरहेकाले आफूहरुले उत्पादन पनि बढाएको शितल थोपा सिंचाइका कार्यकारी निर्देशक थापा बताउँछन् । ‘अस्पताल, फोहरमैला व्यवस्थापन कार्यालय र पालिकाहरुबाट माग धेरै आइरहेको छ,’ थापाले भने, ‘आकर्षण बढेपछि उत्पादन पनि बढाएका छौं ।’

हाल यस्तो प्रविधि बीर अस्पताल, सिभिल अस्पताल, छाउनीको आर्मी हस्पिल, ट्रमा सेन्टर, ललितपुर महानगरपालिका, कीर्तिपुर अस्पताल, प्रहरी कार्यालय र केही सार्वजनिक स्थानमा प्रयोग भइरहेको थापाले जानकारी दिए ।

‘हामीले यो मेसिन निर्माण गरेलगत्तै आफ्नो उद्योग भएको स्थान ग्वार्को वरिपरिको सार्वजनिक स्थान र केही अस्पतालहरुमा प्रयोग गर्‍यौं । धेरैजनाबाट राम्रो रेस्पोन्स पाएपछि अहिले उत्पादन बढाएका छौं ।

‘धेरैजसो काठमाडौं उपत्यका र लहानमा पनि हामीले बनाएर पठाएका छौं,’ थापाले भने, ‘अझै पनि माग आइरहेकाले १५–२० जनाको जनशक्ति उत्पादनमा खटिरहेको छ ।’

मूल्य कति ?

सुरुमा यस्तो प्रविधि बनाउन आफूहरुलाई दुई दिन लागे पनि अहिले भने एक दिनमै १० थानसम्म बनाउन सक्ने थापा बताउँछन् ।

माग बढेअनुसार उत्पादन पनि बढाएको बताइए पनि उद्योग सन्चालकले भने यसको मूल्य सार्वजनिक गर्न चाहेनन् । ‘हामी यसलाई परिस्कृत गर्ने चरणमै छौं । माग कति हुन्छ, हेर्दै छौं, त्यसपछि मात्रै मूल्य सार्वजनिक गर्छौं,’ उद्योगका कार्यकारी निर्देशक थापाले भने । सबै सामाग्रीहरु आफ्नै उद्योगमा भएकाले त्यति महँगो नपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment