Comments Add Comment

मोरङका ८ जनामा दादुरा संक्रमण

२२ वैशाख, विराटनगर । विश्वभर कोरोना भाइरसको महामारी फैलिरहेका बेला मोरङको उर्लाबारी नगरपालिका १ र ३ मा एकै पटक आठ जनामा दादुराको संक्रमण देखिएको छ । संक्रमितमध्ये ७ जना वडा नम्बर ३ र एक जना वडा नम्बर १ का स्थानीय हुन् ।

शुक्रबार नौ जनाको रगतको नमुना संकलन गरेर लगेकोमा उनीहरूमध्ये आठ जनामा दादुरा संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय मोरङका खोप अधिकृत रामनन्दन यादवले जानकारी दिए ।

विश्व स्वास्थ्य संगठनको फिल्ड अधिकृत डा. सरु देवकोटाको नेतृत्वमा प्रदेश १ का सामाजिक विकास मन्त्रालयका स्वास्थ्यकर्मीहरूको टोलीले नौ जनाको रगतको नमुना शुक्रबार संकलन गरेको थियो । रगत परीक्षणमा दादुरा पुष्टि भएपछि विश्व स्वास्थ्य संगठनले आइतबार प्रतिवेदन पठाएको छ ।

उर्लाबारी नगरपालिकाका स्वास्थ्य संयोजक तोयानाथ घिमिरेका अनुसार उनीहरू सात वर्षदेखि २५ वर्ष उमेरका छन् ।

उनले दादुराको संक्रमण देखिएका आठै जना दादुरा खोपमा सहभागी नभएको पाइएको जानकारी दिए । तर, उनीहरूलाई हालसम्ममा दुई पटक भिटामिन ए खुवाइसकेको र उनीहरूको स्वास्थ्य अवस्था सुधारोन्मुख र सामान्य रहेको घिमिरेले बताए ।

जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले दादुरा फैलिएकाले प्रदेश र संघीय सरकारलाई यस बारेमा जानकारी गराइसकेको बताए । उनले उर्लाबारीमा अन्य परिवार र व्यक्तिमा दादुरा सर्न नदिनका लागि आवश्यक सावधानीका उपाय अपनाइएको जानकारी दिए ।

दादुरा उन्मुलनका लागि सरकारले मोरङमा हालै नवौं पटक खोप अभियान सञ्चालन गरेको थियो। अन्तिम पटक गएको १६ फागुनमा उर्लाबारीमा दादुरा रुवेला खोप अभियान सञ्चालन भएको थियो ।

उर्लाबारीको नौ वटै वडाका नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई दादुरा रुवेलाको खोप विभिन्न २६ वटा केन्द्रमार्फत लगाउने कार्य भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment