
२२ वैशाख, नवलपरासी । उधारोमा उखु दिएबापत चिनी उद्योगबाट पाउनुपर्ने रकम नपाएपछि नवलपरासी (बर्दघाट-सुस्तापश्चिम) का उखु किसान मर्कामा परेका छन् । तीन चिनी उद्योगबाट ४० करोड रुपैयाँ बराबरको रकम किसानले पाउनुपर्ने बाँकी भए पनि समयमै भुक्तानी नभएपछि समस्यामा परेको उखु कृषक समितिका अध्यक्ष उमेशचन्द्र यादव बताउँछन् ।
समितिका अनुसार वाग्मती चिनी उद्योगले २५ करोड रुपैयाँ, लुम्बिनी चिनी उद्योगले १० करोड र इन्दिरा चिनी मिलले पाँच करोड रुपैयाँ बराबरको भुक्तानी दिन बाँकी छ । तीमध्ये वाग्मतीको आर्थिक वर्ष २०७६-०७७, लुम्बिनीको २०७५-०७६ र इन्दिराको आर्थिक वर्ष २०७५-०७६ मा किसानको उखु खरिद गरेबापतको रकम भुक्तानी दिन बाँकी देखिएको हो ।
सबै उद्योगले उत्पादन गरेको चिनी बिक्री गरिसके पनि हालसम्म किसानले भुक्तानी पाएका छैनन्। चर्को ब्याजदरमा ऋण लिएर खेती गरेका कारण समयमा भुक्तानी नहुँदा दोहोरो मारमा परेको प्रतापपुर-७ छिवनीका किसान पप्पु गुप्ता बताउँछन् ।
यहाँ चार ठूला उद्योग रहेकामा मोहिनी चिनी उद्योगको उत्पादन बन्द छ भने लुम्बिनी र इन्दिराले चालु आवमा चिनी उत्पादन गर्न सकेका छैनन् । चालु आर्थिक वर्षमा नवलपरासीमा वाग्मतीबाहेक अन्य तीनवटै उद्योगको उत्पादन बन्द छ ।
चिनी उद्योगले समयमै रकम भुक्तानी नदिने प्रवृत्ति बढ्दै गएकाले सरकारले मूल्य निर्धारण गर्नेक्रममा उद्योगलाई भुक्तानी गर्ने समयावधिसमेत तोक्नुपर्ने प्रतापपुर-७ झलनीपुरका उखु किसान मदनचन्द्र कोइरीको भनाइ छ ।
वाग्मती चिनी उद्योगले तत्कालका लागि पेस्कीस्वरुप किसानलाई केही रकम उपलब्ध गराउने जनाएकोे छ । सरकारले उखुको मूल्य प्रतिक्विन्टल ४७१ रुपैयाँ यस अगावै निर्धारण गरिसकेको थियो । वाग्मतीले पहिलो चरणमा २०७७ असार मसान्तभित्र प्रतिक्विन्टल ३७१ र पैसा २८ को दरले भुक्तानी गर्ने र बाँकी आउँदो दशैंसम्म गर्ने तयारी गरिएको महाप्रवन्धक टंकनाथ काफ्लले बताउँछन् ।
पश्चिम नवलपरासीमा सुस्ता , प्रतापपुर, पाल्हीनन्दन र सरावल गाउँपालिकामा उखु खेती गरिन्छ । रामग्राम नगरपालिकाको केही भागमा पनि उखु खेती गरिँदै आएको छ । पछिल्लो पटक यस क्षेत्रमा उखु उत्पादनमा कमी आएको छ । कृषि ज्ञान केन्द्र पश्चिम नवलपरासीका अनुसार चालु आव २०७६-७७ मा कुल तीन हजार ६२३ हेक्टर क्षेत्रफलमा एक लाख ७१ हजार ३५० मेट्रिक टन उखु उत्पादन भएको तथ्याङ्क छ ।
यसैगरी, अघिल्लो आव २०७५/०७६ मा कुल तीन हजार ६६८ हेक्टर क्षेत्रफलमा एक लाख ७३ हजार ४९० मेट्रिक टन उखु उत्पादन भएको थियो ।
प्रतिक्रिया 4