Comments Add Comment

बालबच्चाले सामान्य जीवनयापनका कुरा कति जानेका छन् ?

अहिले धेरैजसो घरमा एकल सन्तान हुर्किरहेका छन् । उनीहरूको खेल्ने साथी हुँदैनन् । आफू समानका साथी नभएपछि उनीहरू एक्लिन्छन् ।

जब बच्चा एक्लिन्छन्, उनीहरूलाई आफ्नो मन बहलाउनका लागि मोबाइल चाहिन्छ । टेलिभिजन चाहिन्छ । खेल्ने साथी नभएपछि उनीहरू मोबाइलमा गेम खेलेर समय कटाउँछन् । टिभीमा कार्टुन हेरेर आफूलाई भुलाउँछन् ।

अहिलेको अवस्था के छ भने, सहरी क्षेत्रमा बच्चाहरूलाई खेल्ने ठाउँ छैन । त्यसैले उनीहरू घरभित्रै बस्छन् । एउटा कोठाभित्र बसेर कम्प्युटर, ल्यापटप, मोबाइलमा गेम खेल्छन् । यसरी बच्चाहरू कोठाभित्र खुम्चिएर बस्दा उनीहरूमा सामाजिक भावनाको विकास हुन पाउँदैन ।

बच्चालाई बच्चाजस्तै साथीहरू चाहिन्छ । उनीहरूले आफ्नो उमेर समानका दौतरी खोज्छन् । यसरी एकअर्का खेल्ने क्रममा उनीहरूले धेरै कुरा सिक्छन्, बुझ्छन् । बच्चासँग बच्चा नै साथी छ भने उनीहरूले आमाबुबा खोज्दैनन् । मोबाइल खोज्दैनन् । टेलिभिजन खोज्दैनन् । एकअर्का खेलेर, उफ्रिएर, झगडा गरेर (बच्चाबीचको झगडालाई सामान्य मान्नुपर्छ) समय कटाउँछन् । यसले प्रत्यक्ष रुपमा धेरै कुरामा फाइदा मिलिरहेको हुन्छ ।

बच्चाहरू आपसमा रमाउँछन् । खुसी हुन्छन् । उनीहरु खेल्ने कुरा, खानेकुरा साझेदार गर्छन् । यसले उनीहरूमा सहकार्यको भावना विकास हुन्छ । खेल्ने क्रममा कसले राम्रो गर्ने भन्ने वा कसले राम्रो बनाउने भन्ने हुन्छ । यसले प्रतिस्पर्धाको भावना विकास हुन्छ । एकअर्कासँग मिल्नु, जुध्नु, सहयोग आदनप्रदान गर्न सिक्छन् ।

मनन गरौं यी प्रश्नहरू

अहिलेका बच्चाहरूलाई हामीले पढाएका छौं। सफासुग्घर राखेका छौं। सुकिलो-मुकिलो बनाएका छौं। बच्चाहरुले राम्ररी पढिरहेका होलान् । परीक्षामा राम्रै नतिजा हासिल गरिरहेका होलान् । तर, सामान्य जीवनयापनका कुराहरू कति जानेका छन् ?

के उनीहरू घरमा आएका नवआगन्तुकलाई हार्दिकतापूर्वक स्वागत गर्छन् ? बाटोमा भेटिएका कुनै अनाथ साथीलाई सहयोग गर्छन् ? घरमा आमाबुबाको काममा सहयोग गर्न तत्पर हुन्छन् ?

बच्चालाई हामीले व्यवहारिक जीवन बाँच्न सिकाउनुपर्छ । उनीहरूलाई खान, बस्न, शिष्टचार पालना गराउन, सहयोग गर्न, सहकार्य गर्न, प्रतिस्पर्धा गर्न सिकाउनुपर्छ । सामाजिक भावनाको विकास गराउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment