Comments Add Comment

मृत्यु भएपछि मात्र घरेलु मदिरा नियन्त्रणको चर्चा

रक्सी नियन्त्रणबारे मुख्यमन्त्री, मन्त्रीसम्म बोल्छन्, तर कार्यान्वयन हुँदैन

२२ वैशाख, जनकपुरधाम । महोत्तरीमा अज्ञात रोगका कारण मृत्यु भएको भनिएकाहरुको मदिरा सेवनका कारण ज्यान गएको पोष्टमार्टमको रिपोर्टले देखाएको छ ।

महोत्तरीको भंगहा नगरपालिका ६ र ७ तथा बर्दिबास नगरपालिका १२ मा गरी १२ जना भन्दा धेरैको मृत्यु भइसकेको छ । मृत्यु भएकामध्ये चार जनाको पोष्टमार्टम गर्दा मदिराकै कारण मृत्यु भएको देखिएको छ ।

मदिराकै कारण ज्यान गएको यो घटना प्रदेश २ मा नौलो होइन । यसअघि फागुनको अन्तिम र चैतको पहिलो साता धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको रमदैया र जनकपुरधाममा गरी २० भन्दा धेरैको मृत्यु भएको थियो ।

त्यसअघि पनि रक्सीका कारण मृत्यु भएका धेरै घटना छन् । २०७५ को असार पहिलो साता धनुषाकै कमला नगरपालिका वडा नम्बर ५ सिंग्याही मडानमा ६ जनाको मृत्यु भएको थियो ।

घरेलु रक्सीकै कारण सप्तरी सदरमुकाम राजविराज ६ स्थित मेहतर बस्तीमा पनि एक बर्षयता १२ जना भन्दा बढीको मृत्यु भएको स्थानीय मनोज मेहतर बताउँछन् ।

बहस र भाषणमा मात्रै सीमित

२०७६ फागुनमा जनकपुरधाममा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ लाई खुला रक्सीमुक्त बनाउने घोषणा गरे । पहिलो चरणमा जनकपुरधामलाई खुला मदिरामुक्त बनाइने र पछि क्रमशः प्रदेशभरी नै खुल्ला मदिरामुक्त गरिने उनको भनाइ थियो ।

मुख्यमन्त्रीले यस्तो प्रतिक्रिया दिएको तीन साता नबित्दै धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको रमदैया र जनकपुरधाममै गरी २० भन्दा धेरैको मृत्यु भएका थियो ।

खुला रक्सीकै कारण धेरै मानिसको मृत्यु भएपछि प्रदेशसभा बैठकमा प्रदेशलाई खुला रक्सीमुक्त बनाउनुपर्ने माग जोड्दार रुपमै उठ्यो । फागुनको अन्तिम साता बसेको प्रत्येक दिनको प्रदेश सभा बैठकमा सांसदले प्रदेशलाई रक्सीमुक्त बनाउन माग गरे ।

सांसदले यस्तो माग राखेपछि प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले प्रदेशका सबै घरेलु मदिरा भट्टी नष्ट गर्न प्रहरीलाई निर्देशन दिइसकिएको जवाफ दिए ।

४ चैतमा बसेको प्रदेशसभा बैठकमा सांसदको प्रश्नको जवाफ दिदैं मन्त्री यादवले तीन दिनभित्र भट्टी नष्ट नगरिए सम्बन्धित क्षेत्रका इन्जार्चलाई कारवाही गर्ने किसिमको निर्णय नै भएको सुनाएका थिए । त्यतिबेला उनले भनेका थिए, ‘प्रत्येक इलाका प्रहरी कार्यालयलाई आफ्नो क्षेत्रभित्रका घरेलु मदिरा भट्टीलाई नष्ट गर्न निर्देशन दिइएको छ । तीन दिनभित्र नष्ट नगर्ने प्रहरी कार्यालयका इन्चार्जलाई कारवाही गरिनेछ ।’

मन्त्री यादवले घरेलु मदिरा उद्योग सञ्चालनमा सहयोग गर्ने प्रहरीलाई पनि कारवाही गर्ने विषयमा पनि बैठकमा छलफल भएको जानकारी गराएका थिए ।

यति मात्र होइन नेकपा सांसद सत्रुधन महतोले खुला रक्सी नियन्त्रण गर्नेबारे सार्वजनिक महत्वको प्रस्ताव दर्ता नै प्रदेश सभामा दर्ता गराएका थिए । नेत्यस प्रस्तावलाई तत्कालीन समाजवादी पार्टीका शैलेन्द्र यादव, तत्कालीन राजपाका परमेश्वर साह र कांग्रेसका शिवचन्द्र चौधरीले समर्थन गरेका थिए ।

धनुषामा २० भन्दा धेरैको मृत्यु भएपछि प्रहरीले भट्टी नष्ट गर्ने अभियान नै चलाएको थियो । ठाउँ–ठाउँका प्रहरीले भट्टी र मदिरा नष्ट गर्दै फोटो पनि सार्वजनिक गर्‍यो । तर, यो अभियान लामो समय चलेन ।

पछिल्लो पटक महोत्तरीमा एक दर्जन व्यक्तिको खुला मदिराकै कारण मृत्यु भएपछि मदिराको बहस पुनः शुरु भएको छ । ‘मान्छेको मृत्यु भएपछि मात्रै बहस गर्नु र मुद्दा उठाउनु ठूलो बिडम्बना हो’ प्रदेशसभा सांसद विदेश्वर यादव विक्की भन्छन्, “हामी त रक्सीमुक्त हुनुपर्छ भनेर जोडदार रुपमै माग उठाएका छौं । तर सुनुवाई नभएको अवस्था छ ।’

प्रदेश सरकार भन्छ–ठूला भट्टी नियन्त्रण भइसक्यो

प्रदेश सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव अभियान चलाएपछि ठूला भट्टीहरु बन्द भइसकेको बताए । ‘अभियानले उपलब्धी नदिएको होइन’ उनी भन्छन्, ‘शहरदेखि ग्रामीण क्षेत्रका ठूला भट्टी भत्काइसकिएको छ ।’

मन्त्री यादव ग्रामीण क्षेत्रमा भट्टीभन्दा घरमै बनाउने र घरमै प्रयोग गर्ने प्रबृत्ति रहेको बताउँछन् । ‘महोत्तरीमा भएको घटनामा पनि घरमै बनाइएको रक्सीको प्रयोग गरेको देखिएको छ’ उनी भन्छन्, ‘म आफैं घटनास्थल पुग्दैछु । त्यहाँको स्थलगत अनुगमन गरेपछि प्रदेश सरकार आगामी कदम चाल्छ ।’

प्रहरीले खुला रक्सी नियन्त्रणमा प्रहरी सक्रिय रहेको बताए । प्रदेश २ का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) धीरजप्रताप सिंह खुला रक्सी नियन्त्रण गर्न विशेष अभियान शुरु गरिसकिएको बताउँछन् ।

‘अवैध भट्टी गाउँ गाउँमा भएको जानकारी पाएको छु’ उनी भन्छन्, ‘यसबाहेक रक्सी सीमामा पास गर्ने क्रम पनि चलेको थाहा छ । यो सबै नियन्त्रण गर्नका लागि आठ वटै जिल्लालाई निर्देशन दिइसकेको छु ।’

अहिले लकडाउन कार्यान्वयन गराउन, सीमा सिल गर्न र स्वास्थ्यकर्मीको सुरक्षाकर्मी दिनकै लागि अत्यधिक जनशक्तिलाई खटाउनुपरे पनि घरेलु नियन्त्रण अभियान नरोकिएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment