Comments Add Comment

तेलको मूल्य घट्दैन, आयल निगमको नाफा कोरोना कोषमा जान्छ : मन्त्री भट्ट

२३ वैशाख, काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य लगातार घटिरहे पनि नेपालमा सरकारले इन्धनको मूल्य तत्काल नघटाउने भएको छ ।

आयल निगमको नाफा कोरोना उपचार कोषमा पठाउने भन्दै मूल्य नघटाएको हो । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आयल निगमको नाफा कोरोना रोकथाम तथा उपचार कोषमा पठाउनुपर्ने भएकाले मूल्य समायोजन नगर्ने बताए ।

मंगलबार सञ्चारकर्मीहरुसंग भर्चुअल कुराकानी गर्दै मन्त्री भट्टले राज्य कमजोर अवस्थामा रहेकाले मूल्य घटाउन नसकिएको बताए । आयल निगमले यसअघि कोरोना नियन्त्रण कोषमा ५० करोड रुपैयाँ पठाएको मन्त्री भट्टको भनाइ छ ।

‘आर्थिकरुपले सरकार कमजोर अवस्थामा छ, निगमको मूनाफा कोरोना कोषमा पठाउन थालेका छौं‌, तत्काललाई मूल्य घट्दैन पछि सोच्न सकिन्छ’ मन्त्री भट्टले भने ।

अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार मूल्य समायोजनका केही समय पछि गृहकार्य हुने उनले बताए ।

नेपाल आयल निगमले भने निगमको नाफा कोरोना कोषमा पठाउने निर्णय भएकोबारे अनविज्ञता प्रकट गरेको छ । पछिल्लो केहीदिनमा निगम सञ्चालक समिति तथा अन्य कुनै बैठक नभएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

इन्धनमा निगमलाई नाफा

कोरोनाका कारण विश्वव्यापी लकडाउन हुँदा कच्चा तेलको अन्तर्राष्ट्रिय मूल्य निकै घटेको छ ।

भारतीय आयल कर्पोरेसनले नेपाल आयल निगमलाई मे १ तारेखमा पठाएको नयाँ मूल्यसूचीअनुसार निगमलाई एक लिटरमा पेट्रोलमा २२ रुपैयाँ ४५ पैसा, डिजेलमा २५ रुपैयाँ ६९ पैसा, मट्टीतेलमा ५५ रुपैयाँ ३५ पैसा, हवाई इन्धन आन्तरिकतर्फ ३३ रुपैयाँ ५३ पैसा, हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ ८४ रुपैयाँ ६४ पैसा नाफा छ ।

यस्तै खाना पकाउने ग्यासमा निगमलाई प्रतिसिलिण्डरमा एक सय ८१ रुपैयाँ ७० पैसा नाफा छ । उल्लेखित नाफा सरकारले लिने सबै प्रकारको करकट्टी गरेर भएको नेपाल आयल निगमले जनाएको छ ।

सरकारले पेट्रोलमा ४२ रुपैयाँ ७३ पैसा, डिजेलमा २६ रुपैयाँ १५ पैसा, मट्टीतेलमा २ रुपैयाँ ८८ पैसा, हवाई इन्धन आन्तरिकतर्फ २१ रुपैयाँ ५० पैसा, हवाई इन्धन अन्तराष्ट्रियतर्फ ११ रुपैयाँ १८ पैसा र एपी ग्यासमा प्रतिसिलिण्डर दुईसय तीन रुपैयाँ २४ पैसा कर भन्सार बिन्दुमै असुल गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment