Comments Add Comment

एक लाखभन्दा बढी आउटसोर्सिङ कामदारले गुमाए रोजगारी

२३ वैशाख, काठमाडौं । कोरोना संक्रमणको प्रभाव समग्र अर्थतन्त्रमा परेको छ । त्यसमा पनि रोजगारी गरेर खाने वर्ग सबैभन्दा बढी प्रभावित छन् ।

अनौपचारिक क्षेत्रहरूमा कार्यरत मजदुरले मात्र होइन, अनौपचारिक क्षेत्रमा पनि श्रमिक आपूर्तिकर्ता (आउटसोर्सिङ) कम्पनीमार्फत काम गरिरहेका धेरै कर्मचारी तथा मजदुरले जागिर छाड्नुपरेको छ ।

‘आउटसोर्सिङ’ कम्पनीले उद्योग र व्यवसायिक प्रतिष्ठानहरूमा सुरक्षा गार्ड, क्लिनर, कार्यालय सहयोगी, ड्राइभर, रिसेप्सनिस्ट, टेलिफोन अपरेटर लगायतको आपूर्ति गरिरहेका छन् । कोरोनाको संकटपछि यो क्षेत्रको रोजगारीमा ३० प्रतिशत गिरावट आएको अनुमान छ ।

नेपाल श्रमिक आपूर्तिकर्ता संघका अनुसार यो क्षेत्रमा करिब पाँच लाखले रोजगारी पाएका छन् ।

सबै खालका मजदुरलाई असर

सरकारले आउटसोर्सिङ कामदारलाई सुरक्षा, सहजकारी, व्यवसाय सहयोग र घरेलु सहयोगी सेवा गरी चार प्रकारमा विभाजन गरेको छ । सेक्युरिटी गार्डको काम गर्नेहरू ‘सुरक्षा सेवा’ समूह र सरसफाइ, फोहोर व्यवस्थापन, क्याटरिङ–क्यान्टिन, माली तथा कार्यालयहरूमा चिया–खाजा तयार गर्नेहरूलाई ‘सहजकारी सेवा’ समूहमा पर्छन् ।

त्यस्तै, चालक, परिचालक, लोड–अनलोड, समान ओसारपसार, भण्डारण, मर्मत–सम्भार, प्राविधिक सहयोग, प्लम्बर, इलेक्ट्रिसियन, डकर्मी, सिकर्मी लगायत निर्माण सेवामा काम गर्नेहरूलाई व्यवसाय ‘सहयोग सेवा’ समूहमा राखिएको छ । त्यस्तै, हाउसमेड, केयर गिभरलगायत घरेलु ‘सहयोगी सेवा’ समूहमा पर्छन् ।

श्रम ऐन र नियमावलीले आउसोर्सिङ गर्ने कम्पनीले सरकारबाट इजाजतपत्र लिनुपर्ने व्यवस्था गरेको छ । त्यसअनुसार हालसम्म एक सय ५० वटा कम्पनी दर्ता भएका छन् ।

संघका उपाध्यक्ष अजयराज जोशी कोरोना संकटका कारण बन्द भएका अधिकांश उद्योग–प्रतिष्ठानले सबै प्रकृतिका सेवाका श्रमिक आपूर्तिको सम्झौता नै रद्द गर्न थालेको बताउँछन् । यसरी आउटसोर्सिङमार्फत काम गरिरहेका धेरैले रोजगारी छाड्नुपरेको उनले बताए ।

बैङ्क, होटल, रेस्टुरेन्ट, उद्योग, शैक्षिक संस्था, विभिन्न पसल तथा सुपरमार्केट र विभिन्न सेवा व्यवसायमा कार्यरत मजदुरहरू कटौतीको क्रम ह्वात्तै बढेको छ । लकडाउन लम्बिए बाँकी मजदुरको रोजगारी मात्र नभई आउटसोर्सिङ व्यवसाय नै धरापमा पर्ने जोशी बताउँछन् ।

‘सरकारले औपचारिक कम्पनीमार्फत तलब भुक्तानी गर्नुपर्ने असहज खालको प्याकेज ल्याएकाले पनि कर्मचारी कटौती हुने क्रम बढ्दो छ’, उनले भने, ‘त्यसमाथि लकडाउनको मोडालिटी यही रहे धेरै कुरा गुम्नेवाला छ ।’

उनका अनुसार कोरोनाबाट सिर्जित आर्थिक संकटका कारण कर्पोरेट हाउस र व्यापारिक प्रतिष्ठानहरूले आउटसोर्समार्फत रोजगारीमा रहेकाहरूलाई कटौतीको पहिलो प्राथमिकतामा राखेका छन् ।

कुन क्षेत्रमा कतिले गुमाए ?

होटल व्यवसाय प्रभावित हुन थालेलगत्तै आउटसोर्सिङ कर्मचारीलाई गत फागुनबाट बेतलबी बिदा दिन थालियो । कतिपय प्रतिष्ठानले कर्मचारी फिर्ता गरेका थिए भने कतिले अझै न्यूनतम तलब पाइरहेका छन् ।

आउटसोर्सिङबाट कर्मचारी लिएका अधिकांश प्रतिष्ठान लकडाउनमा बन्द भएपछि समस्याले चरम रुप लियो । सरसफाइ (क्लिनिङ)मा काम गर्नेमध्ये २० प्रतिशतले त्यही बेला रोजगारी गुमाएको एक अध्ययनले देखाएको छ ।

आउटसोर्सिङ बिजनेस संघको प्रारम्भिक अध्ययनअनुसार सुरक्षा गार्डमा कार्यरतमध्ये २५ प्रतिशतले बिदा पाएका छन् । निजी आवास रेखदेख गर्ने सुरक्षा गार्डहरूको पनि जागिर गुम्न थालेको छ । अफिस स्टाफमध्ये ३५ प्रतिशतले रोजगारी छाड्नुपरेको छ ।

संघका उपाध्यक्ष जोशी लकडाउनको अनुपयुक्त मोडालिटीका कारण समस्या भएको बताउँछन् । व्यवसायिक संघ–संस्था बाँच्न सक्ने, कामदारको रोजगारी नगुम्ने र स्वास्थ्य सतर्कता पनि हुने विधिबाट अघि बढ्नुपर्नेमा सरकारले अनुपयुक्त मोडेल अपनाउँदा धेरैले समस्या भोग्नुपरेको उनको भनाइ छ ।

निजी क्षेत्रको करबाट समेत चल्ने सरकारले संकटका बेला मजदुरको तलब भुक्तानीमा केही प्रतिशत दायित्व बोक्नुपर्ने व्यवसायीहरूको माग छ । सरकारले भने तलबको ५० प्रतिशत तुरुन्तै भुक्तानी गर्न र बाँकी तलब भुक्तानीमा समस्या भए सहुलियत दरको ऋण लिन भनेको छ ।

आधा तलब तुरुन्तै दिन आम्दानी नै नभएको र ऋणबाट तलब खुवाउन नसकिने उद्योगी–व्यवसायीको भनाइ छ । ‘अरू देशहरूले व्यवसाय र रोजगारी जोगिने गरी राहत प्याकेजहरू ल्याएका छन्,’ संघका उपाध्यक्ष जोशी भन्छन्, ‘हामीकहाँ भने सरकारले ल्याएको प्याकेजकै कारण व्यवसायमा आघात पुगेको छ ।’

सरकारले दायित्व नलिने निर्णय गर्दा कामदार र कर्मचारी बढी मारमा परेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment