Comments Add Comment
नेपालगञ्ज अपडेट :

साँझ ७ बजेपछि बल्ल स्वाब संकलन

२३ वैशाख, नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाका कोरोना भाइरस (कोभिड-१९) संक्रमितको सम्पर्कमा आएका ७१ जनाको पहिचान भएको छ । उनीहरु मध्ये ५६ जनाको थ्रोट स्वाब संकलन गरिएको छ ।

नेपालगञ्जमा पछिल्लो पटक मंगलबार विहान थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुलाई अपराहृन मात्र खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलनमा भर्ना गरिएको छ ।

अरु १६ जना यसअघि नै अस्पतालको आइसोलेसनमा थिए ।

संक्रमितहरु धेरै वडा नम्बर ८ को जोलहनपूर्वा टोलका छन् भने केही वडा नम्बर ७ र ५ का । उनीहरु १९ गते संक्रमण पुष्टि भएका ६० वर्षका पुरुषको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङका क्रममा परीक्षणको दायरामा आएका थिए ।

नेपाल प्रहरीको टोलीले जनस्वास्थ्य कार्यालयसँग मिलेर कट्याक ट्रेसिङ गरिरहेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेका कोभिड-१९ फोकल पर्सन नरेश श्रेष्ठकाअनुसार अहिलेसम्म १६ जना संक्रमितको कन्ट्याक ट्रेसिङ भइरहेको छ । ‘अहिलेसम्म ७१ जनाको पहिचान भएको छ र, उनीहरुको थ्रोट स्वाब संकलन थालिएको छ’ उनले भने ।

मंगलबार साँझ ७ बजेबाट मात्र थोट स्वाब संकलन थालिएको थियो । मुस्लिम समुदाय महान पर्व रामजानको रोजामा भएकाले स्वाब संकलन कार्य साँझ ७ बजे मात्र सुरु भएको थियो । र, ५६ जनाको मात्र सम्भव भएको छ ।

भोलि भने विहानबाटै कन्ट्याक ट्रेसिङ सँगै थ्रोट स्वाब संकलन गर्ने तयारी रहेको श्रेष्ठले बताए । उनकाअनुसार१६ जनाको सम्पर्कमा आएका थप व्यक्ति हुनसक्छन् भने मंगलबार थपिएका ७ जनाको कन्ट्याक ट्रेसिङ बाँकी नै छ ।

नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापामगरका अनुसार अहिले संक्रमितहरुको सम्पर्कमा भएकाहरु आफैं पनि परीक्षणका लागि आएका छन् । ‘सुरुमा नमुना संकलन गर्ने केही अप्ठ्यारो भएको थियो, तर हामीले मुस्लिम समुदायकै अगुवाहरुको पनि सहयोग लिएर जनचेतना फैलायौं’ उनले भनिन्, ‘अहिले त संक्रमितको सम्पर्कमा थियौं भनेर आफैं आउनु भएको छ ।’

संक्रमितहरुको सम्पर्कमा आएका व्यक्तिहरुको पहिचानसँगै परीक्षण गर्नुपर्ने हुन्छ । यो संख्या कम्तिमा पनि एक हजार आसपास पुग्नसक्ने आकलन गरिएको छ ।

तर नेपालगञ्जको भेरी अस्पतालमा रहेको ल्याबसँग पीसीआर ल्याबको किट ३०० वटा पनि छैन । ‘मन्त्रालयले पठाएको २५० र यहाँ भएको ३०/४० वटा किट छ । यसले पुग्दैन, हजार वटा पठाइदिनुपर्‍यो भनेका छौं’ उपमेयर थापा मगरले भनिन् ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले भने सबै संक्रमितको कन्ट्याक ट्रेसिङ सकिएपछि मात्र नेपालगञ्जमा संक्रमणको अवस्था कस्तो हो भन्न सकिने बताएका छन् ।

सिंगापुरको गल्ती नदोहोर्‍याऊँ

कोरोना संक्रमणको पुष्टि भएका व्यक्तिहरुको कन्ट्याक ट्रेसिङमा सुरुदेखि नै प्रश्न उठ्दै आएको छ । आरडीटी पोजेटिभ देखिएको तर पीसीआर नेगेटिभ आएकाहरुको कन्ट्याक ट्रेसिङ नै नगरिएको तथा पीसीआर पोजेटिभ आएकाहरुको सम्पर्कमा आएकाहरुमा पनि लक्षण खोजिएको भन्दै आलोचना भएको छ ।

अहिले मुस्लिम समुदाय रोजामा रहेकाले नेपालगञ्जमा पनि कन्ट्याक ट्रेसिङ सजिलो छैन । तर यसमा चुक्न नहुने जनस्वास्थ्य विज्ञ डा. अनुप सुवेदी बताउँछन् ।

उनकाअनुसार कोरोना संक्रमण नियन्त्रणमा सफल मानिएको भियतनाममा सुरुमा भेटिएका २२ संक्रमितको सम्पर्कमा आएका १० हजार मानिसलाई क्वारेन्टिनमा राखिएको थियो । यद्यपि त्यसबेला त्यहाँ लकडाउन लागू भएको थिएन । अर्को सफल अभ्यास गरेको केरलामा फोनका आधारमा कन्ट्याक ट्रेसिङ गरिएको थियो ।

त्यसविपरित सिंगापुरमा अभ्यास भयो । पहिलो चरणमा कोरोना संक्रमण रोक्न सफल भएर चर्चा पाएको उसले आप्रवासी कामदारमा देखिएको संक्रमणलाई वेवास्ता गर्‍यो । र, त्यहाँबाट फैलिएको संक्रमणले सिंगो देश कोरोनाको हटस्पट बनेको छ भने देशभर लकडाउन गर्नुपर्ने अवस्था आएको छ ।

त्यसैले नेपालगञ्जका संक्रमितहरुको कट्याक ट्रेसिङ महत्वपूर्ण भएको डा. सुवेदी बताउँछन् । ‘२२/२३ जनाको कट्याक ट्रेसिङ गर्न फिल्ड इपिडिमियोलोजिस्टहरुलाई कम्तिमा पनि एक साता लाग्छ’ उनले भने, ‘अब उनीहरुलाई सोधेर मात्र भएन, अरुसँग पनि सोधपुछ गर्नुपर्छ । र, सम्भव भएसम्म सम्पर्कमा आएका धेरैधन्दा धेरैलाई परीक्षणको दायरामा ल्याउनुको विकल्प छैन ।’

समुदायमा परीक्षण विकल्प होइन

उसो त नेपालगञ्जमा धेरै संक्रमित भेटिएकाले समुदाय स्तरमा परीक्षण गर्ने विकल्प पनि स्थानीय जनप्रतिनिधिहरुले अघि सारेका छन् । नेपालगञ्ज वडा नम्बर ४ का वडाध्यक्ष मोहम्मद सफिक बेहना, जो उपमहानगरका कोभिड-१९ सम्बन्धी फोकल पर्सन पनि हुन्, उनले पनि धेरै संक्रमित भएको वडासँगै उपमहानगरमा सुमुदाय स्तरमा परीक्षण गर्नुपर्ने बताएका छन् । त्यसका लागि एक घरको कम्तिमा दुई जनाको परीक्षण गर्नुपर्ने उनको तर्क छ ।

तर डा. सुवेदी यो छोटो बाटो काम नलाग्ने बताउँछन् । उनले भने, ‘एक त यसरी टेष्ट गर्दा तपाईंले छनोट गरेको व्यक्तिबाहेक अर्कोमा संक्रमण रहेछ भने छुट्नसक्छ । अर्को, कसैलाई संक्रमण देखियो भने फेरि उसको कन्ट्याक ट्रेसङ गर्नुपर्छ । त्यसैले कन्ट्याक ट्रेसिङ नगरी समुदाय स्तरमा परीक्षण सम्भव छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment