Comments Add Comment

सामाजिक दुरी पालना नगरेपछि बेलायत सरकारका सल्लाहकारले दिए राजीनामा

२४ वैशाख, काठमाडौं । बेलायतमा लकडाउन लागु गर्न सिफारिस गर्ने सरकारका प्रमुख सल्लाहकार प्रोफेसर नील फर्ग्युसन स्वयंले सामाजिक दुरी उल्लङ्घन गरेपछि पदबाट राजीनामा दिएका छन् ।

राजीनामा घोषणा गर्दै प्रोफेसर फर्ग्युसनले भनेका छन्, ‘मबाट गलत भएको कुरा म स्वीकार गर्छु । त्यसैले मैले पद त्याग गरेको छु । कोरोना महामारीलाई नियन्त्रण गर्न सामाजिक दुरी आवश्यक रहेको स्पष्ट सन्देश दिइएको छ, तर मैले त्यसलाई बेवास्ता गरेँ । यसबाट मलाई अपसोस छ ।’

लण्डनबाट प्रकाशित हुने डेली टेलिग्राफ पत्रिकाले लेखेको समाचारअनुसार प्रोफेसर फर्ग्युसनले एक जना महिलालाई आफू नजिक आउन दिएका थिए, जुन सामाजिक दुरी कायम गर्ने नियमको उल्लङ्घन हो ।

प्रोफेसर फर्ग्युसन ‘सेन्टर फर ग्लोबल इन्फेक्सन डिजिज एनालिसिस’को निर्देशन हुन् । यो संस्थाले सरकार र विश्व स्वास्थ्य संगठनलाई अफ्रिकामा इबोलादेखि लिएर हालको कोरोना महामारीसम्म सल्लाह दिँदै आएको छ । यही संस्थाले गत जनवरी महिनामा विश्वलाई कोरोनाको महामारी फैलिने चेतावनी सबैभन्दा पहिले दिएको थियो ।

कोरोनाको उदगमस्थल मानिएको चीनको वुहान सहरमा केही दर्जन व्यक्तिहरूलाई कोरोना पुष्टि भएको समाचार आइरहेको बेला यो संस्थाले सयौं व्यक्तिहरू संक्रमित भइसकेको दाबी गरेको थियो ।

त्यतिबेलै प्रोफेसर फर्ग्युसनको टिमको अनुसन्धान रिपोर्टमा तत्काल कुनै कदम नचालिएमा बेलायतमा कोरोनाबाट करिब पाँच लाख जनाको ज्यान जाने निष्कर्ष निकालिएको थियो । उनैको सल्लाहअनुसार बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले २३ मार्चदेखि देशभर लकडाउन घोषणा गरेका थिए । त्यतिबेलादेखि नै नील फर्ग्युसन बेलायतमा ‘प्रोफेसर लकडाउन’को नामले चिनिन्छन् ।

लकडाउन उल्लङ्घन गरेपछि पद त्याग गर्ने फर्ग्युसन पहिलो विशेषज्ञ भने होइनन् । ६ अप्रिलमा स्कटल्याण्डको मुख्य मेडिकल अफिसर डाक्टर क्याथरिन क्यालडरवुड दुई पटकसम्म आफ्नो दोस्रो घर गएको समाचार सार्वजनिक भएपछि उनले पनि पदबाट राजीनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment