Comments Add Comment

प्रदेश ५ सरकारले माग्यो कोरोना परीक्षण किट र पीपीई

२४ वैशाख, बुटवल । प्रदेश ५ सरकारले कोरोना भाइरस संक्रमण परीक्षणका लागि आवश्यक किट माग गरेको छ ।

कोभिड–१९ विपद व्यवस्थापन केन्द्र (सीएमसी) को बुधबार बसेको वैठकले नेपालगञ्जमा कोरोना संक्रमितको संख्या बढी देखिएकोले परीक्षणको दायरा बढाउन पर्ने भन्दै आवश्यक किट, स्वास्थ्य सामग्री, स्वास्थ्यकर्मीले लगाउने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) र औषधी माग गरेको हो ।

बैठकले यी सामग्री उपलब्ध गराउन प्रदेशको सामाजिक विकास मन्त्रालयले संयोजन गर्ने निर्णय गरेको छ ।

बाँकेको नेपालगञ्जमा मात्रै २३ जना र रुपन्देहीमा एकजनामा कोरोना संक्रमित पुष्टि भएपछि प्रदेश ५ कोरोना संक्रमणको उच्च जोखिममा रहेको छ ।

मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा बसेको वैठकले कोभिड–१९ को उपचारका लागि स्थान अभाव हुन नदिन बाँकेको नेपालगञ्जस्थित नेपाली सेनाको अस्पताल र नेपाल प्रहरीको अस्पताललाई समेत प्रयोग गर्ने निर्णय गरेको छ ।

कोरोना विशेष अस्पतालका लागि आवश्यक सबै खर्च कोभिड १९ रोकथाम तथा उपचार कोषबाट गर्ने पनि निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताए ।

वैठकले नेपाल–भारत सीमामा थप जनशक्ति परिचालन र सुरक्षाकर्मीलाई आवश्यक सामग्री व्यवस्था गर्न गृह मन्त्रालयसँग समन्वय गर्ने निर्णय पनि गरेको छ ।

बैठकले कोरोना भाइरसका शंकास्पद बिरामीको पीसीआर परीक्षणमा जोड दिने र भारतबाट आउनेका हकमा आइसोलेसन बेड भएका अस्पतालमा राखी स्वाब संकलनको व्यवस्था मिलाउने निर्णय गरेको छ ।

भारतबाट आउन सक्ने नेपालीलाई लक्षित गरी बाँके, रुपन्देही र कपिलवस्तुमा तीन हजार शय्या क्षमताको क्वारेन्टाइनस्थल बनाउने निर्णय पनि बैठकले गरेको छ । हाल प्रदेश ५ मा ५ सय ९७ स्थानमा १४ हजार शय्या क्षमताको क्वारेन्टाइन स्थल छ ।

बैठकले स्थानीय श्रमिक प्रयोग गरी सञ्चालन गर्न सकिने निर्माण र उत्पादनसँग सम्बन्धित काम गर्न प्रमुख जिल्ला अधिकारीहरुले सहजीकरण गर्ने निर्णय पनि गरेको छ । त्यस्तै स्थानीय तहले अदक्ष र अर्धदक्ष कामदार स्थानीय तहभित्रैबाट लिनुपर्ने, दक्ष कामदार पनि सकेसम्म प्रदेशभित्रैका जिल्लाबाट लिने निर्णय भएको छ ।

त्यस्तै निर्माण सामग्रीको ढुवानी र किसानलाई चाहिने मल बीऊ आयात गर्न प्रमुख जिल्ला अधिकारीले सहजीकरण गर्ने निर्णय भएको छ ।

परीक्षण बढाउन कांग्रेसको माग

नेपाली कांग्रेसले प्रदेशमा कोरोना परीक्षणको दायरा बढाउन माग गरेको छ । प्रदेश ५ को प्रदेशसभाको विपक्षी दलका कार्यवाहक नेता वीरेन्द्र कनौडियाले मुख्यमन्त्री शंकर पोखरेल र सामाजिक विकास मन्त्री सुदर्शन बराललाई छुट्टाछुट्टै टेलिफोन सम्पर्क गरी बाँकेमा कोरोना संक्रमितको संख्या धमाधम बढेकाले परीक्षणको दायरा बढाउन माग गरेका हुन् ।

नेता कनौडियाले प्रयोगशालाहरुमा कोरोना परीक्षण गर्ने किटको अभाव भएकाले पर्याप्त मात्रामा किट उपलब्ध गराउन, भारतीय सीमा क्षेत्रमा कडाई गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment