Comments Add Comment

लकडाउनका कारण कलकत्ता बन्दरगाहमा रोकिए दुई हजार कन्टेनर 

२४ वैशाख, वीरगञ्ज । लकडाउनका कारण कलकत्ता बन्दरगाहमा दुई हजार कन्टेनर रोकिएका छन् । कोरोना भइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि आव्हान गरिएको लकडाउनका कारण ती कन्टेनरहरु कलकत्ता बन्दरगाहमा नै रोकिएका हुन् ।

नेपाल र भारत दुवैतर्फ लकडाउन जारी रहेका कारण त्यसको प्रत्यक्ष असर समान ढुवानीमा पनि परेको हो । कलकत्ता बन्दरगाहका डेपुटी ट्राफिक मेनेजर कौशिक मुखर्जीले सडक यातायात सञ्चालन नहुँदा बन्दरगाहबाट सामान निकासीमा समस्या देखिएको बताए ।

‘पोर्ट सामान्य अवस्थामै सञ्चालनमा छ, तर लकडाउनले विभिन्न राज्य र नेपालमा समेत सडक यातायात बन्द छ । जसले गर्दा सडक मार्गबाट समान निकासी हुन पाएको छैन ।’ उनले भने, ‘ सडकमार्गबाट निकासी रोकिएपछि दुई हजार कन्टेनर बन्दरगाहमा रोकिएका छन् ।’

बन्दरगाहमा राख्दा समस्या हुने भएपछि कतिपय कन्टेनरलाई पोर्टले नै बाहिर ठाउँ खोजेर राखिदिएको उनले बताए । बन्दरगाहले मार्च २३ देखि मे ३ सम्मका लागि कन्टेनरको डेमरेज चार्ज छुट सुविधा दिएको छ । सामान्य अवस्थामा सडक यातायातबाट नेपालमा ढुवानी हुने कन्टेनरलाई १५ दिन र रेलबाट ढुवानी हुने कन्टेनरलाई २० दिन मात्रै डमेरेज छुट दिने गरिएको छ ।

रेलमार्फत हुने समान ढुवानीमा कुनै असर नपरेको उनको भनाइ छ । ‘भारतमा लकडाउनले गर्दा रेल मार्गमार्फत हुने ढुवानीमा कुनै समस्या देखिएको छैन । तर नेपालको सुख्खा बन्दरगाहमा कन्टेनरको जाम लागेको छ, जसले गर्दा उनीहरुले सहजै र्‍याक लिइरहेका छैनन् ।’ उनले भने ।

उद्योगी व्यवसायीले समयमै सामान नलगेका कारण वीरगञ्जस्थित सिर्सिया सुख्खा बन्दरगाहमा ४ हजार कन्टेनर जम्मा भएर बसेको बन्दरगाह सञ्चालक कम्पनी हिमालयन टर्मीनलका सीईओ विष्णुकान्त चौधरीले बताए । ‘आयातकर्ता व्यापारीलाई छिट्टै समान उठाउन भनेका छौं तर उठाइरहनु भएको छैन, अब बन्दरगाहमा राख्ने ठाउँ छैन,’ चाधरीले भने, ‘४ हजार भन्दा बढी कन्टेनर थुप्रिएका छन् । कन्टेनर निकाल्न र राख्न दुई गुणा बढी समय लाग्ने गरेको छ ।’

कन्टेनर उठाउने मेसिनमा भार परेकोले बढी बिग्रने गरेको उनले सुनाए । बन्दरगाहमा कन्टेनर उठाउनका लागि ४ वटा मेसिन छन् । उक्त मेसिन पुरानो भइसकेका कारण कन्टेनर उठाउन समस्या हुने गरेको गुनासो व्यापारीहरुले गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment