Comments Add Comment

प्रदेश २ मा पीसीआर परीक्षणमा तीव्रता, २६ सय बढीको स्वाब संकलन

२४ वैशाख, जनकपुरधाम । प्रदेश २ ले पीसीआर विधिबाट कोरोना परीक्षण कार्यलाई तीव्रता दिएको छ । प्रदेश २ मा ३० जना कोरोना संक्रमित भेटिएपछि पीसीआर विधिमार्फत कोरोना परीक्षणलाई तीव्रता दिएको हो ।

पीसीआर विधिमार्फत कोरोना परीक्षणका लागि बुधबार ५१ जनाको स्वाब संकलन गरिएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । जसमध्ये पर्साका ३६, सप्तरीका ११, महोत्तरीका १ र भारतबाट आएका तीन जनाको स्वाब संकलन गरिएको छ ।

यसअघि मंगलबार रौतहटका २७, बारा र पर्साका २३/२३, धनुषाका १४, सप्तरीका ८, महोत्तरीका २ र भारतबाट आएका ३ जनाको स्वाब संकलन गरिएको थियो ।

पछिल्ला हप्ता परीक्षण सुस्त देखिएको प्रदेशमा दुई दिन यता तीव्रता दिइएको हो ।

बुधबारसम्म प्रदेश २ मा २ हजार ६ सय ६१ जनाको स्वाब संकलन गरिसकिएको छ । यसमध्ये ३० जना संक्रमित देखिएका छन् भने ३ सय २ जनाको नतिजा आउन बाँकी छ । परीक्षण गरिएकामध्ये २ हजार ३ सय ४६ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

अहिले प्रदेश २ को २ ठाउँबाट कोरोना परीक्षण सुरु गरिएको छ । प्रादेशिक अस्पताल जनकपुरधाम र वीरगञ्ज स्थित नारायणी अस्पतालबाट कोरोना परीक्षण सुरु भएको छ ।

जनकपुरधाममा रहेको मेसिनबाट दैनिक १० वटासम्म मात्रै परीक्षण गर्न सकिन्छ भने नारायणी अस्पतालमा रहेको मेसिनबाट  १ सय ८ वटासम्म स्वाब परीक्षण गर्न सकिने सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिए ।

‘वीरगञ्जको मेसिनबाट एक सिफ्टमा ३६ वटा स्वाब परीक्षण हुन्छ र दैनिक ३ सिफ्टसम्म परीक्षण गर्न सकिन्छ,’ उनले भने, “तर अहिले जनशक्तिको अभावमा २ सिफ्टसम्म मात्रै परीक्षण सुरु गरिएको छ ।

सावधानी र सर्तकता अपनाउन आग्रह

नेपाल सरकारले रेड जोनमा वर्गीकरण गरिसकेको प्रदेश २ मा थप १७ जना संक्रमित पाइएपछि प्रदेश सरकारले विशेष सतर्कता अपनाउन सबैसँग आग्रह गरेको छ । उच्च जोखिममा परेको भनिएपनि हतोत्साहित र त्रसित हुनुपर्ने कुनै आवश्यक्ता नरहेको सचिव डा. घिमिरेले बताए ।

हतोत्साहित र त्रसितभन्दा सावधानी र सर्तकता अपनाउनुपर्नेमा उनी जोड दिन्छन् । ‘सरकारले आगामी जेठ ५ गतेसम्मका लागि लकडाउनको समय पनि बढाएको छ,’ उनले भने, “अनुशासित भएर घरमै बसे कोरोनालाई जीत्न सकिन्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment