Comments Add Comment

बुद्ध जयन्तीमा सुनसान लुम्बिनी (फोटो फिचर)

२५ बैशाख, बुटवल । आज २५६४ औं बुद्धजयन्ती मनाइँदै छ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति (निधन) भएको वैशाख शुक्ल पूणिर्मा -आज)को दिनलाई बौद्ध धर्मावलम्बीले बुद्ध जयन्तीका रुपमा श्रद्धापुर्वक मनाउने गर्छन् ।

हरेक वर्ष बुद्ध जयन्तीका दिन बुद्ध जन्मस्थल लुम्बिनीमा मायादेवी मन्दिरको दर्शन, पूजापाठ र प्रार्थन लगायतका औपचारिक कार्यक्रमहरु हुने गर्थे । मायादेवी मन्दिरको दर्शन र प्रार्थना तथा भ्रमणका लागि राष्ट्रपति, प्रधानमन्त्री लगायत स्वदेश र विदेशबाट विशिष्ट पाहुनाहरु, बौद्ध धर्मावलम्बी सहित अन्य धर्मावलम्बीहरुको खचाखच भिड हुने गर्दथ्यो ।

तर कोरोना भाइरस (कोभिड-१९) को महामारीका कारण नेपालसहित विश्वव्यापी लकडाउन जारी रहेकाले यो वर्ष बुद्ध जयन्तीका दिन लुम्बिनीमा कुनै पनि औपचारिक कार्यक्रम आयोजना गरिएको छैन । मायादेवी मन्दिर बनेयता यो वर्षको बुद्ध जयन्तीमा लुम्बिनी इतिहासकै सबैभन्दा धेरै सुनसान छ । लुम्बिनीमा दर्शनार्थी र आगन्तुकको चहलपहल र रौनक शून्य छ ।

लुम्बिनी विकास कोषले हरेक वर्ष बैशाख शुक्ल पूणिर्माका दिन आयोजना गर्ने बुद्ध जयन्ती मूल समारोह र यस वर्ष आयोजित तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन समेत बैशाख १९ गते नै सूचना प्रकाशित गरी स्थगित गरिसकेको छ ।

लुम्बिनीका बासिन्दा एवं प्रदेश सभा सदस्य फखरुद्दिन खानले लुम्बिनीको सबैभन्दा ठूलो पर्व बुद्ध जयन्तीमा यो वर्ष जस्तो सुनसान र पर्यटकविहीन यसअघि कहिल्यै नबनेको बताउँछन् । ‘यतिका वर्षसम्म यस्तो सुनसान कहिल्यै थिएन,’ उनले भने ।

चैत ११ गतेदेखि गरिएको देशव्यापी लकडाउन र अन्तर्राष्ट्रिय उडानसमेत बन्द गरिएका कारण लुम्बिनीमा विदेशी मात्र नभई आन्तरिक पर्यटकको आगमनसमेत चैत तेस्रो सातादेखि नै शून्य रहेको लुम्बिनी विकास कोषका का.मु. सदस्य सचिव ज्ञानिन राईले बताए । ‘विगतमा हरेक वर्ष बुद्ध जयन्तीका दिन स्वदेशी र विदेशी गरी कम्तीमा दश हजार जना मानिस लुम्बिनीको दर्शन र भ्रमणमा आउने गर्थे,’ राईले भने, ‘कोरोनाले निम्त्याएको विषम परिस्थितिका कारण बुद्ध जयन्ती मूल समारोह र अन्तर्राष्ट्रिय सम्मेलन पनि स्थगित गरिएकाले यो वर्षको बुद्ध जयन्ती इतिहासकै सुनसान र शान्त भएको छ ।’

बुद्ध जयन्तीका अवसरमा बिहीबार बुद्धको पवित्र जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा बिहान सामाजिक दुरी कायम गरी बौद्ध भिक्षु/भिक्षुणी तथा लामा गुरु/गुरुआमाहरुबाट विश्व शान्तिको कामना गर्दै प्रार्थना गरिएको छ । त्यस अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पठाएको शुभकामना सन्देश वाचन गरिएको थियो । सांझ पाँच-सात जनाको उपस्थितिमा पूजापाठसहित २५ सय ६४ वटा दीप प्रज्ज्वलन गरिने कोषका कामु सदस्य सचिव राईले बताए ।

कोषले सम्पूर्ण बौद्ध समुदाय र बौद्धमार्गीहरुलाई सरकारबाट जारी भएको निर्देशनको पूर्णरुपमा पालना गर्दै आ-आफ्नो घरमा दीप प्रज्ज्वलन, प्रार्थना एवं पाठपूजा गरी बुद्ध जयन्ती मनाउन अपील गरेको छ ।

लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि प्रदेश सरकारले सञ्चालन गरेको लुम्बिनी भ्रमण वर्ष कार्यक्रमको समापन पनि बुद्ध जयन्तीकै अवसरमा गर्ने पूर्वनिर्धारित कार्यक्रम पनि लकडाउनका कारण स्थगित भएको छ । बुद्धजयन्ती मनाउन सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको अध्यक्षतामा एक समति बनाई एक करोड बजेट समेत विनियोजन गरी तयारी अघि बढाएको थियो ।

मुख्यमन्त्री पोखरेलद्वारा शुभकामना

यसैबीच २५ सय ६४ औं बुद्ध जयन्तीका अवसरमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले विज्ञप्तिमार्फत शुभकामना दिँदै बुद्धका उपदेश बौद्ध धर्मावलम्वीका लागि मात्रै नभएर सम्पूर्ण मानव जातिकै लागि अमूल्य निधी भएका उल्लेख गरेका छन् ।

बुद्धकालीन सम्पदाका रुपमा रहेका ऐतिहासिक स्थलहरु तिलौराकोट, रामग्राम, देवदह, निग्लिहवा, गोटिहवा, सग्रहवा, अरौराकोट, सग्रहवाको खोज अनुसन्धान तथा पर्यटकीय हिसाबले ती क्षेत्रको विकास जरुरी रहेको मुख्यमन्त्री पोखरेलले उल्लेख गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment