Comments Add Comment

कसरी गर्ने समुदायस्तरमा कन्ट्याक्ट ट्रेसिङ ?

के हो कन्ट्याक्ट ट्रेसिङ अर्थात् सम्पर्क परीक्षण

mashable.com

संक्रमण सुनिश्चित भएका व्यक्ति अर्थात् इन्डेक्स केस (Index Case) को सम्पर्कमा आएका व्यक्तिहरूको पहिचान र निगरानी गरी त्यसरी सम्पर्कमा आएका व्यक्तिहरूमा संक्रमण विस्तार भए/नभएको कुरा यकिन गर्न नजिकैबाट निगरानी गरिने माध्यम कन्ट्याक ट्रेसिङ (Contact Tracing) अर्थात् सम्पर्क परीक्षण हो ।

कोरोना जस्तो अतिसंक्रामक रोगको सन्दर्भमा संक्रमण चक्रलाई विघटन गर्न एकमात्र प्रमाणित पद्धतिको रुपमा सम्पर्क परीक्षणलाई लिने गरिन्छ ।

समयमै संक्रमित व्यक्तिको पहिचान गर्न असफल भएमा त्यस संक्रमित व्यक्तिबाट समुदायस्तरमा अन्य थप मानिसमा संक्रमण विस्तार हुँदै गएमा कोरोना संक्रमणको स्थिति छिट्टै नियन्त्रण बाहिर जाने हुन्छ ।

त्यस्तो स्थितिमा हामीसँग तयारी अवस्थामा भएको संयन्त्र, यदि महामारी फैलिँदै जाने हो भने त्यसलाई रोक्न हामी असफल हुने सम्भावना हुन्छ । जसको कारण धेरै मात्रामा जन–धनको क्षति हुने सम्भावना रहन्छ । त्यसकारण समयमै महामारी नियन्त्रणका लागि हामीसामु भएको एकमात्र रामवाण भनेको नै कन्ट्याक्ट ट्रेसिङ हो ।

आज हाम्रोसामु सीमित मात्रामा संक्रमण देखिरहेको अवस्थामा कन्ट्याक्ट ट्रेसिङको माध्यमबाट संक्रमितको सम्पर्कमा आएका मानिसहरूको समयमा नै खोजकार्य गरी उनीहरूलाई उपयुक्त जाँचपड्तालको माध्यमबाट संक्रमणको अवस्था सुनिश्चित गर्नु नै अहिलेको उत्तम विकल्प हो ।

कसरी गर्ने कन्ट्याक्ट ट्रेसिङ ?

– संक्रमण सुनिश्चित भएको स्थानको भौगोलिक अवस्था, जनघनत्व, सामाजिक आर्थिक परिवेश, शैक्षिक अवस्था आदिको विस्तृत अध्ययन गर्ने ।

– सम्भव भएसम्म संक्रमित व्यक्तिसँग विश्वव्यापि सावधानी (संक्रमण नसर्न गरिने उपाय) अपनाई उसको संक्रमणको विस्तृतरुपमा लेखाजोखा गर्ने । यसरी संक्रमित व्यक्तिसँग सूचना लिँदा उसको शारीरिक तथा मानसिक स्वास्थ्यको सक्षमता पनि विचार गर्नुपर्छ । यदि संक्रमित व्यक्ति असक्षम अर्थात् असमर्थ भएमा उसको घरको अथवा नजिकको मानिस जसबाट यो सूचनाहरू प्राप्त गर्न सकिन्छ । सोही व्यक्तिबाट सूचना लिने । साथसाथै व्यक्ति र उसको परिवारलाई कोरोना संक्रमण, त्यसको उपचारपद्धति र रोग निको पार्न आवश्यक मनोबलबारे उचित परामर्श पनि दिनु पर्छ । यसरी बिरामीको संक्रमणबारे विस्तृत रुपमा अध्ययन गर्ने प्रकृयालाई केस बेस इन्भेस्टिगेसन (Case base investigation) भनिन्छ । यो इन्भेस्टिगेसन नै कन्ट्याक्ट ट्रेसिङको प्रारम्भिक र महत्वपूर्ण चरण हो ।

– केस बेस इन्भेस्टिगेसनको माध्यमबाट उसको सम्भावित संक्रमण सरेको समयदेखि कोरोना संक्रमणको निदान भएको समयसम्म आएका व्यक्तिहरूको सूची तयार गरिन्छ । यसरी सूची तयार पार्दा संक्रमित व्यक्ति यात्रा गरी आएको भए सम्भव भएसम्म यात्राको क्रममा सम्पर्कमा आएका व्यक्तिहरू, विशेष गरेर परिवारका सदस्यहरू, सम्पर्कमा आएका आफन्तहरू, छिमेकी, कार्यालयमा काम गर्ने भएको कार्यालयका अन्य कर्मचारीहरू, मेला, भोज भतेर, उत्सव आदिमा संलग्न भएको भए त्यस दौरान नजिकबाट सम्पर्कमा आएका व्यक्तिहरू, बजार पसलमा किनमेल वा बिक्रीवितरण गर्दा सम्भावित संक्रमण सर्न सक्ने गरी जोखिमपूर्ण सम्पर्कमा आएका व्यक्तिहरूको सूची तयार गर्ने ।

– सम्बन्धित संक्रमण भएको मानिसको वरपर जहाँ सम्पर्कमा आएका समुदाय छन् । त्यस समुदायका मानिसहरूलाई सोसल डिस्टेन्सिङ अर्थात् सामाजिक दुरी कायम गर्न घरमा नै सुरक्षित भएर बस्न आग्रह गर्ने र समुदायस्तरमा सम्पर्क परीक्षण कसरी गरिन्छ ? किन गरिन्छ ? त्यसको विधि र महत्वको बारेमा विस्तृतरुपमा स्थानीय जनप्रतिनिधि, सञ्चार माध्यमबाट सुनिश्चित गर्ने ।

– स्थानीय पालिकाले आफूले गर्ने कार्यको विस्तृत योजना तयार गर्ने । जसमा कसरी सम्पर्क परीक्षण गर्ने हो ? को–को सहभागी हुने ? कहाँ र कसरी समूह परिचालन गर्ने ? व्यक्तिगत सुरक्षाका वस्तुहरू के, कसले र कसरी प्रयोग गर्ने आवश्यक सुरक्षा व्यवस्था कसरी मिलाउने जस्ता कुराहरूको खाका तयार पार्ने ।

– कन्ट्याक्ट ट्रेसिङको दौरान प्रयोग गर्ने फाराम तथा प्रयोगशाला परीक्षणको लागि नमुना संकलन तथा परीक्षण गर्ने स्वास्थ्यकर्मीहरूलाई आवश्यक अभिमुखीकरण दिई तयार गर्ने ।

– समुदायका मानिसमा आफ्नो पनि नमुना परीक्षण गर्न पाए हुन्थ्यो भन्ने चाहना रहनु यस्तो अवस्थामा स्वाभाविक हुन्छ । त्यसकारण कन्ट्याक्ट ट्रेसिङको दौरान क–कसको नमुना संकलन गरिन्छ ? किन गर्नुपर्छ भन्ने कुराको जानकारी गराउन समुदायका मानिसलाई जरुरी रहन्छ ।

– सम्पर्कमा आएका व्यक्तिहरूसँग कन्ट्याक्ट ट्रेसर (सम्भावित संक्रमण भएनभएको लेखाजोखा गर्ने व्यक्ति) ले आवश्यक अन्तर्वार्तापश्चात् जोखिमको मूल्याङ्कन गरी नमुना संकलन वा परीक्षणको लागि प्रयोगशालाकर्मीहरूलाई सिफारिस गर्ने ।

– प्रयोगशालाकर्मीहरूले स्ट्याण्डर्ड प्रोसिड्युरअनुसार आवश्यक नमुना संकलन गर्ने र सो को रेकर्ड समेत अद्यावधिक नगर्ने । यसरी नमुना संकलन गर्दा प्रयोगशालाकर्मीहरूको व्यक्तिगत सुरक्षालाई ध्यान दिनु अत्यन्तै जरुरी छ । साथै नमुना संकलनको विधि तथा गुणस्तरलाई समेत ध्यान दिने । सम्भव भएसम्म यस प्रकृयाको विज्ञद्वारा अनुगमन तथा सहयोग अत्यन्तै जरुरी रहन्छ ।

– संकलित नमुना परीक्षणको लागि युनिभर्सल प्रिक्युसन (Universal Precaution) विधि अपनाई प्रयोगशालामा पठाउने । प्रयोगशालामा पठाउने नमुनाहरूको व्यक्तिगत कोडिङ गर्दा अत्यन्तै ध्यान पुर्‍याउनु जरुरी छ ।

– यदि द्रूत माध्यमबाट परीक्षण गरिएमा त्यसको परीक्षण नतिजा गोप्य राखी आधिकारिक व्यक्तिलाई रिपोर्टिङ गर्ने ।

– समुदायस्तरमा कन्ट्याक्ट ट्रेसिङको दौरान सिर्जित फोहोरहरूको युनिभर्सल प्रिक्युसन विधि अनुरुप विसर्जन गर्ने ।

– समुदायस्तरमा पहिलो चरणको खोजपड्ताल गरेपश्चात अन्य थप मानिसहरूमा हुन सक्ने दोस्रो/तेस्रो घेराको जोखिम भए नभएको सूचना प्राप्तिको लागि संक्रमित व्यक्ति उसको परिवार तथा समुदायका अन्य मानिसहरूसँग निरन्तर फलोअप तथा समन्वय गर्ने ।

– कन्ट्याक्ट ट्रेसरले कन्ट्याक्ट ट्रेसिङको दौरान संक्रमितको सम्पर्कमा आएका मानिसहरूलाई घरमा नै सुरक्षित भएर सामाजिक दुरी कायम गर्दै बस्न भन्ने र कुनै किसिमका लक्षण चिन्हहरू जस्तैः उच्च ज्वरो, सुख्खा खोकी, सास फेर्न गाह्रो आदि जस्ता लक्षणहरू देखिएमा तुरुन्त सम्बन्धित स्वास्थ्यकर्मीलाई जानकारी गराउन सल्लाह दिने ।

– कन्ट्याक्ट ट्रेसिङको दौरान फारममार्फत आएका सूचनाहरूको व्यवस्थापन गर्ने र सोही सूचनाको आधारमा सम्भावित संक्रमणको जोखिम भएका व्यक्तिहरूको नियमित रुपमा फोन, एसएमएसको माध्यमबाट निगरानी गर्ने । साथै संक्रमण देखिएको समुदायमा तत्पश्चात कसैमा सम्भावित लक्षणहरू देखापरेमा तुरुन्त स्वास्थ्यकर्मीहरूलाई खबर गर्न अनुरोध गर्ने । सोही समुदायमा भएका वृद्धवृद्धा, गर्भवती, सुत्केरी, दीर्घरोगीको विशेष निगरानी राख्ने ।

– संकलित नमुनाको स्वाब परीक्षणको प्रतिवेदन प्राप्त भए पश्चात संक्रमण फैलिएको पाइएमा माथि उल्लेखित प्रकृयाहरू पुनः अपनाई कन्ट्याक्ट ट्रेसिङलाई निरन्तरता दिने ।

चुनौतीहरू :

समुदायमा केस देखापरिसकेपछि सम्बन्धित स्थानीय तह, प्रदेश सरकार तथा संघीय सरकारको आवश्यक व्यवस्थापकीय तथा प्राविधिक सहयोगको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ । नेपालमा यस किसिमको द्रूत रुपमा संक्रामक रोगको महामारी सामना गरेको अनुभव विशेष गरेर हालका संरचित स्थानीय सरकार र त्यसमा कार्यरत स्वास्थ्य प्राविधिकहरूलाई सम्भवतः पहिलोपटक भएको कारणले केही कठिनाइ तथा चुनौतीहरू अवश्य नै हुन सक्छ । त्यस्ता कठिनाइहरूको सबै तहका प्रतिनिधि तथा विज्ञहरूको हातेमालो यस महामारी नियन्त्रणको कोशेढुङ्गा सावित हुन सक्छ ।

– समुदाय सीमितमात्रामा संक्रमण भएको खण्डमा यो उपयुक्त हुन्छ । यदि संक्रमण धेरै नै फैलिएको खण्डमा कन्ट्याक्ट ट्रेसिङ विधि उपयुक्त नभई मास स्कृनिङमा जानुपर्ने हुन सक्छ ।

– कन्ट्याक्ट ट्रेसिङको दौरान कुनै एक संक्रमित मात्र पहिचानको दायराबाट छुट्न गएमा समुदायमा संक्रमण फैलाउने सम्भावना उच्च रहन्छ ।

– सम्पर्क परीक्षणको दौरान स्वास्थ्यकर्मीहरूमा नै संक्रमण फैलन सक्छ । यसरी स्वास्थ्यकर्मीहरूमा संक्रमण फैलिएमा स्वास्थ्यकर्मीहरूबाट अरू धेरै मानिसहरूमा संक्रमण फैलिने जोखिम हुन्छ ।

– कन्ट्याक्ट ट्रेसिङ पश्चात आएका सूचनाहरूको उचित व्यवस्थापन, तथ्यांक वर्गीकरण तथा विश्लेषण गर्ने कुशल सहजकर्ताको आवश्यकता पर्दछ । त्यस किसिमको तथ्यांक विश्लेषण तथा प्रयोग गर्न नसकेमा महामारी नियन्त्रणको सफलता लक्षित बाटोबाट अन्य दिशामा कार्यक्रम मोडिन सक्छ ।

– संक्रमण देखिएको महिनौसम्म पनि यस किसिमको द्रूत खोजपड्ताल जारीराख्नु जरुरी हुन्छ । जसको निम्ति आवश्यक जनशक्ति, आर्थिक जोहो तथा व्यवस्थापकीय तथा कुशल प्रशासनिक तथा प्राविधिक नेतृत्वको निरन्तर आवश्यकता पर्दछ । यदि सो कार्य गर्न काहीँकतै नेतृत्व चुकेमा महामारीले अर्को रुप लिन सक्छ ।

– सम्पर्क परीक्षणको दौरान सोही समुदायमा अन्य किसिमका संक्रामक तथा किटजन्य रोगहरू जस्तैः क्षयरोग, मलेरिया, डेङ्गुजस्ता रोगहरू फैलिएमा अझ थप समस्या निम्तिन सक्छ ।

– समुदायमा संक्रमण सर्ने जोखिम उच्च हुनेछ भन्ने मनोवैज्ञानिक त्रासका कारण नियमित स्वास्थ्य सेवाहरू जस्तैः गर्भ परीक्षण, खोप, पोषण सेवा, परिवार नियोजन, क्षयरोगको जाँचपड्ताल तथा उपचारजस्ता आधारभूत तथा अत्यावश्यक स्वास्थ्य सेवाहरू प्रभावित भई दीर्घकालीन असरहरू देखापर्न सक्छ ।

– स्थानीय मानिसहरूमा रोगप्रतिको डर तथा संक्रमित व्यक्ति र उसको परिवारलाई समुदायका अन्य मानिसले सहजै स्वीकार गर्न नसक्ने सम्भावना पनि हुन सक्छ ।

(ढकाल जनस्वास्थ्यकर्मी हुन र जनस्वास्थ्य क्षेत्रमा कार्यरत छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment