Comments Add Comment

कलाकारले पारिश्रमिक नघटाए फिल्म बनाउनै मुस्किल

कोरोना त्रासका कारण बलिउड चलचित्र उद्योग ठूलो घाटामा गएको छ । निर्माताको अर्बौं रकम जोखिममा छ ।

यस्तो अवस्थामा चलचित्र बनाउन पनि निर्मातालाई समस्या पर्ने देखिएको छ । किनकि, बलिउड पण्डितहरूका अनुसार करिब २ वर्ष बलिउड चलचित्रले दर्शक हलसम्म तान्न गाह्रो छ ।

त्यसैले पनि अबको दिनमा चलचित्र कसरी निर्माण गर्ने भन्ने विषयमा बलिउडमा बहस सुरु भइसकेको छ ।

बलिउडमा चलचित्र निर्माणमा सबैभन्दा बढी रकम खर्च कलाकारमा हुन्छ। अहिलेका चल्तीका नायकहरू एउटै चलचित्रबाट २५ देखि ३० करोडसम्म लिन्छन् । साहरुख खान, सलमान खान, आमिर खान लगायतका नायकहरूको पारिश्रमिक ५० करोडको हाराहारीमा छ ।

बलिउडका पण्डितहरूले अब नायक-नायिकाले आफनो पारिश्रमिक कटौती गरेर बलिउडलाई बचाउनुपर्ने बताएका छन् ।

बलिउड समीक्षक तरण आदर्शले भारतीय मिडियासँग कुरा गर्दै बलिउड कलाकारले पारिश्रमिक कम गर्नु नै एक मात्र विकल्प भएको बताएका छन् । उनका अनुसार चलचित्रको बजेटको ठूलो हिस्सा नै कलाकारले लिएर जाने भएकाले यो विषयमा कलाकारहरूले सोच्नुपर्ने बेला आएको छ ।

त्यस्तै, अर्का समीक्षक कोमल नाहटाले पनि पारिश्रमिक कटौतीबाहेक अरू विकल्प नै नभएको तर्क गरेका छन् । उनले चलचित्रको व्यापार सुस्ताएको भन्दै कलाकारले पारिश्रमिक कम लिनुको विकल्प अरू नभएको बताएका हुन् ।

बलिउड पण्डितहरूले अबको दिनमा बलिउडमा काम गर्ने तरिकामा परिवर्तन ल्याउनु पर्ने तर्क दिएका छन् । यो विषयमा कुनै पनि कलाकारहरूले आजसम्म मुख भने खोलेका छैनन् ।

तर, अब भने कलाकारले यो विषयमा गम्भीर भएर सोच्नुपर्ने बेला भने आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment