Comments Add Comment

चितुवासँग आधा घण्टा घम्साघम्सी : चितुवा मर्‍यो, रामबहादुर घाइते

२५ वैशाख, तनहुँ । वैशाख पूर्णिमाको पूजाका लागि भानु गाउँपालिका–४ तनहुँका रामबहादुर कुमालले कुखुरा किनेर ल्याए । वुधबार राति खोरमा कसैले कुखुरा चोरेको जस्तो लाग्यो उनलाई । हत्तपत्त उठे र लाइट बालेर खोरतिर लागे ।

उनका दाजु भरत पनि उठे र हल्लाखल्ला भयो । कुखुरा चोरेर लैजादै गरेको मान्छे देखेपछि उनीहरु पछि पछि लागे । भरतका छोराहरू टीकाराम, गंगाराम, दीपेन्द्र र रामबहादुरका १३ बर्षका छोरा समीर पनि उठेर बाबुहरुको पछि दौडिए ।

केही पर खोल्सामा पुगेपछि कुखुरा चोरहरु कता भागे पत्तो भएन । ‘कुखुरा चोरेर भागेका मान्छे देखियो तर पत्ता लगाउन सकिएन’ भरतले भने । लगत्तै खोल्सा नजिक पुगेका रामबहादुरका छोरा समीरलाई चितुवाले आक्रमण गर्‍यो । रामबहादुरले छोरा जोगाए । तर, चितुवाले रामबहादुरमाथि नै आक्रमण गर्‍यो ।

रामबहादुरको हात नै चितुवाको मुखभित्र पर्‍यो । भाइलाई चितुवाले लडाएको देखेपछि दाइ भरत चितुवामाथि जाइलागे ।

‘भाइलाई चितुवाले लडाएको देखेँ, मेरो त त्यसपछि दिमाग नै के भयो भयो, झ्याम्पै चितुवामाथि घोडा चढेर न्याकेँ, त्यसपछि छोराहरुलाई ढुंगा ल्याउन भने’ घटना सम्झिदै भरत भन्छन् ।

घटना राति करिब तीन बजेको हो । भरतले चितुवालाई न्याके । छोराहरुले ढुंगा र लाठीले लगातार प्रहार गरे । जसोतसो गरेर चितुवाको मुखबाट रामबहादुरको हात निकाले । ‘चितुवाको मुखमा ढुंगा कोचेर भाइको हात निकालेँ, चितुवाले भाग्न निकै बल गरिरहेको थियो, जोडले अठ्याएर मार्‍यौं’ भरतले अनलाइनखबरसँग भने ।

चितुवा र उनीहरुका बीचमा झण्डै आधा घण्टाभन्दा बढी समय घम्साघम्सी चल्यो । रामबहादुर नेपाली सेनाबाट निवृत्त भएका हुन् । दाजु भरत र उनका छोराहरु कृषि काम नै गर्छन् । घाइते भएका रामबहादुरको गण्डकी अस्पताल पोखरामा उपचार भइरहेको छ । उनको हातको एउटा औला भाँचिएको दाजु भरतले अनलाइनखबरसँग बताए ।

अन्दाजी १५ किलो तौल र करिब ३ वर्षको पोथी चितुवालाई उनीहरुले मारेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए । ‘बाहिरी भाग खुइलिएको चितुवा हेर्दा रोगी जस्तो थियो’ बरालले भने । मृत चितुवा डिभिजन वन कार्यालय दमौली ल्याइएको छ ।

तनहुँको भानु नगरपालिकाको वडा नं. १, २, ३ र ४ बढी चितुवा प्रभावित क्षेत्रमा पर्दछ । यहाँ विगत तीन बर्षदेखि चितुवाको आतंक छ । भानुबाहेक आँबुखैरेनी गाउँपालिका, व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका र बन्दीपुर गाउँपालिका क्षेत्रमा पनि चितुवाले बालबालिकामाथि आक्रमण गरेर ज्यान लिएको छ ।

अहिलेसम्म स्थानीयले ७ वटा चितुवालाई खोरमा पारेका छन् । बुधबार राति मारिएको सहित यस क्षेत्रमा चारवटा चितुवा स्थानीयले मारेका छन् । गएको वैशाख ३ गते तनहुँको बन्दीपुर गाउँपालिका ४ स्थित लोहीपाखा सामुदायिक वनमा राखिएको फलामे खोरमा चितुवा मृत अवस्थामा फेला परेको हो ।

खोरमा परेको उक्त चितुवालाई रडले घोचेर मारेको पाइएको छ । वन कार्यालय र सामुदायिक वनको संयुक्त प्रयासमा जिल्लाका विभिन्न १६ स्थानमा खोर निर्माण गरी पासो थापिएको छ ।

चितुवा र मानवबीचको बढ्दो द्वन्द्व न्यूनिकरणका लागि प्रयास हुँदै आए पनि त्यसले मूर्त रुप पाउन सकेको छैन । जसले गर्दा मानव र वन्यजन्तु दुबैको नोक्सानी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment