News Summary
Generated by OK AI. Editorially reviewed.- बर्दियाको राजापुर नगरपालिका–३ तिघ्रामा एक जनाको ज्यान लिएको चितुवा आज नियन्त्रणमा लिएर बर्दिया राष्ट्रिय निकुञ्ज, ठाकुरद्वारामा बुझाइएको छ।
- गत बिहीबार चितुवाको आक्रमणबाट ४२ वर्षीय मङ्गल थारुको मृत्यु भएपछि डिभिजन वन कार्यालय बर्दियाले दुई वटा खोर राखेर नियन्त्रण प्रयास गरेको थियो।
- चालु आर्थिक वर्षमा बर्दियामा चितुवाको सुरक्षित उद्धार गरिएको यो पहिलो घटना हो भने साउनदेखि हालसम्म चितुवाको आक्रमणबाट एक जनासहित ३८ घरपालुवा जनावर मरेका छन्।
२६ असोज, बर्दिया । बर्दियाको राजापुर नगरपालिका–३ तिघ्रामा एक जनाको ज्यान लिएको चितुवालाई आज नियन्त्रणमा लिइएको छ ।
गत बिहीबार चितुवाको आक्रमणबाट स्थानीय ४२ वर्षीय मङ्गल थारुको मृत्यु भएपछि डिभिजन वन कार्यालय बर्दियाले चितुवा नियन्त्रणमा लिन दुई वटा खोर (केज) राखेको थियो ।
डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख एवं वरिष्ठ वन अधिकृत तोलकराज चापागाईंका अनुसार गए राति खोरमा फसेको चितुवाबारे आज बिहान जानकारी प्राप्त भएको थियो ।
सो लगतै चितुवाको उद्धार गरी करिब ९ बजे बर्दिया राष्ट्रिय निकुञ्ज, ठाकुरद्वारामा बुझाइएको उनले जानकारी दिए ।
गत बिहीबार मध्यराति राजापुर नगरपालिका–३ चख्खापुरस्थित सडकमा बसिरहेका बेला चितुवाले थारुमाथि आक्रमण गरेको थियो । आक्रमणबाट गम्भीर घाइते भएका थारुलाई स्थानीयले तत्काल उद्धार गरी राजापुर प्राथमिक स्वास्थ्य केन्द्र पुर्याएका थिए ।
त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगञ्जस्थित शिक्षण अस्पताल लगिएकामा उपचारकै क्रममा शुक्रबार उहाँको मृत्यु भएको थियो ।
चितुवाको आक्रमणबाट थारुको मृत्यु भएपछि डिभिजन वन कार्यालयले शुक्रबारदेखि खोर राखेर चितुवा नियन्त्रणमा लिने प्रयास गरेको वरिष्ठ वन अधिकृत चापागाईंले बताए ।
‘मानिसमाथि आक्रमण गरेपछि दुई वटा खोर राखेर चितुवा नियन्त्रणमा लिने प्रयास गर्दै आएका थियौं’, उनले भने ।
चालु आर्थिक वर्षमा बर्दियामा चितुवाको सुरक्षित उद्धार गरिएको यो पहिलो घटना भएको कार्यालयले जनाएको छ । पछिल्लो समय जिल्लामा चितुवाको आक्रमण बढ्दै गएको छ । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म चितुवाको आक्रमणबाट एक जनासहित ३८ वटा घरपालुवा जनावर मारिएका डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ ।
गाउँबस्तीमा खसी, बाख्रा, बङ्गुर, गाई, भैँसी, कुकुरलगायत घरपालुवा जनावरमाथि चितुवा तथा बाघले आक्रमण गर्न थालेपछि डिभिजन वन कार्यालयले खोर राखेर तिनलाई नियन्त्रणमा लिने प्रयास गर्दै आएको छ । रासस
प्रतिक्रिया 4