Comments Add Comment

कोरोना त्रासबीच सीमा क्षेत्र खबर

२५ वैशाख, भजनी । कैलालीको टीकापुर नगरपालिका भारतको सिमानासंँग जोडिएको छ । भारतसंँग प्रत्यक्ष सिमाना जोडिएकाले भारतमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको त्रासले यस क्षेत्रका समुदायलाई पनि छोएको छ । यही डरले गर्दा नेपालतर्फ मानिसको आवतजावतलाई पनि निकै कडा पारिएको छ ।

सीमा नाकामा सशस्त्र प्रहरीले सुरक्षा गर्दै आएको छ । करिब ५०० मिटरको दूरीमा राखिएका सुरक्षा चौकीबाट सशस्त्र प्रहरीले सुरक्षा दिँदै आएका छन् । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सीमामा खटिएका नेपाली सुरक्षाकर्मी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) को समन्वय राम्रो देखिन्छ । खक्रौला सुरक्षा क्पाम्पका सशस्त्र प्रहरी निरीक्षक चन्द्रदेव भट्ट भन्छन्, ‘दुवैतर्फ राम्रो समन्वय छ, हामीले आवतजावतलाई विशेष रूपमा निगरानी गरिरहेका छौं ।’

एकातर्फ विश्वव्यापी महामारीका रूपमा देखिएको कोरोना भाइरसको सङ्क्रमण भारतमा बढ्दै गएपछि यसले नेपाल र भारत दुवैतर्फ त्रास फैलाएको छ भने अर्कोतर्फ विशेषगरी खुला सिमाना भएका कारण भारत र नेपालको भूभाग छुट्याएर सुरक्षा प्रदान गर्न प्रहरीलाई पनि समस्या भइरहेको देखिन्छ । टीकापुर नगरपालिकाको सिमानामा छ वटा ठूला स्तम्भ छन् । अहिले ती छ वटा ठूला सीमास्तम्भमध्ये तीनवटा मात्र देखिन्छन् भने तीनवटा स्तम्भ नै हराएका छन् । ७०० नम्बर सीमास्तम्भबाट टीकापुर नगरपालिकाको सिमाना शुरु हुन्छ भने ७०६ नम्बरमा सीमा समाप्त हुन्छ । हालसम्म विभिन्न समयमा नदी कटानबाट नेपाल–भारत सीमा क्षेत्रका चार मुख्य सीमास्तम्भ र करिब आठ सहायक सीमास्तम्भ कर्णाली र मोहना नदी कटानमा परिसकेका छन् ।

कर्णाली नदीको कटानका कारण अहिलेसम्म ७०१ र ७०३ तथा मोहना नदी कटानका कारण ७०४ र ७०६ नम्बर सीमास्तम्भ नदीभित्र छन् । टीकापुर नगरपालिकाका नगरप्रमुख तपेन्द्रबहादुर रावलले वर्षात्मा कर्णाली नदी र मोहना नदीमा आउने बाढीले कटान गर्ने भएकाले सीमास्तम्भहरु पानीमा हराउने क्रम बढ्दै गएको बताउँछन् ।

कर्णाली नदीमा अहिले पनि कटानका सुरु भएका कारण नेपाल–भारत सीमा क्षेत्रको सीमास्तम्भ नम्बर ७०१–१ कटानमा पर्ने खतरा देखिएको छ । कैलालीको दक्षिण–पूर्वी नेपाल–भारत सीमा क्षेत्रमा रहेको उक्त सीमास्तम्भ नदी कटान बढ्दै जाँदा जोखिममा परेको हो । नदी कटान दैनिक बढ्दै गएको र यस्तै अवस्था रहेमा केही दिनमै सो पिलर नदीमा पुग्ने खतरा रहेको छ । हाल श्रीलङ्का क्षेत्रमा भइरहेको कटानका कारण जोखिममा रहेको ७०१–१ नम्बर पिलरसम्म नदी पुग्न तीन फिट जति जमिन मात्र बाँकी छ । दैनिक रूपमा व्यापक कटान भइरहेका कारण सो पिलर जतिबेला पनि नदीमा जानसक्ने अवस्था रहेको स्थानीयवासी बताउँछन् ।

कर्णाली नदी कटानका कारण बर्सेनि सयौं बिघा खेतीयोग्य जमिन बगरमा परिणत हुँदै गएको स्थानीय धर्मबहादुर चौधरीले बताए । बर्दियाको राजापुर नगरपालिका क्षेत्रमा पर्ने श्रीलङ्काको भूभाग टीकापुर नगरपालिकाको भएका कारण बर्दियाले आफ्नो सीमा क्षेत्रमा मात्र तटबन्ध गरेको छ । टीकापुर नगरपालिका क्षेत्रमा सञ्चालित रानी जमरा कुलरिया सिँचाइ आयोजनाले बर्दियाको क्षेत्रमा आफूहरुको क्षेत्र नपर्ने भन्दै तटबन्ध गर्ने कामबाट पन्छिँदै आएको छ । स्थानीय धर्मबहादुर चौधरीले लकडाउनका कारण कैलालीबाट बर्दियामा आउन नपाउँदा सयौं बिघामा लगाएको गहुँबाली अझै भित्र्याउन नसकिएको बताए । उनले कैलाली कोरोना भाइरसको उच्च जोखिममा रहेको भन्दै बर्दिया क्षेत्रमा पूर्ण रोक लगाउँदा टीकापुर क्षेत्रमा बसोबास गर्ने किसानले गहुँबाली भित्र्याउन नपाएको बताए ।

नेपाल–भारतको सीमामा रहेका सीमास्तम्भको जोर–बिजोर प्रणालीमार्फत मर्मतसम्भार गर्ने निर्णय भएको नगरप्रमुख तपेन्द्रबहादुर रावलले बताए । ‘नेपालले बिजोर सङ्ख्याको सीमास्तम्भको मर्मतसम्भार गर्छ भने भारतले जोर सङ्ख्याको सीमास्तम्भको मर्मत गर्ने गरेको छ,’ नगर प्रमुख रावलले भने, ‘नेपालले बिजोर सङ्ख्याका सीमा स्तम्भहरूको मर्मत सम्भार भएको छ तर भारततर्फबाट भने नभएको हुँदा समस्या देखिने गरेको छ ।’

भजनी नगरपालिकाको जसबहादुर घाटदेखि टीकापुर नगरपालिकाको श्रीलङ्का क्षेत्रसम्म करिब १५ किलोमिटर नेपाल–भारत सीमा क्षेत्र नगरपालिकाभित्र पर्दछ । सीमा नाकाको विषयमा हालसम्म यो क्षेत्रमा खासै विवाद देखिएको छैन । टीकापुर नगरपालिकाको वडा नं ७ मा २१ बिघा भारतीय जग्गा पछिल्लो सीमाङ्कनको समयमा नेपालतर्फ आएको नगरप्रमुख रावलले बताए । टीकापुर नगरपालिकाले सीमा सुरक्षा भवनका लागि श्रीलङ्का क्षेत्रमा सात कठ्ठा र सत्ती भन्सार नजिकै चार बिघा जग्गा छुट्याइएको नगरप्रमुख रावलले बताए ।

सुदूरपश्चिम प्रदेशका सांसद तथा प्रमुख प्रतिपक्षी दलका नेता डा रणबहादुर रावलसहितको टोलीले विश्व महामारीका रूपमा फैलिएको कोरोना भारसको रोकथामका लागि सीमाक्षेत्रको अवस्थाका बारेमा जानकारी लिन सीमा क्षेत्रको अनुगमनसमेत गरेको छ । प्रदेश सांसद रावलले सीमा क्षेत्रमा सुरक्षाकर्मीलाई कडाइका साथ काम गर्न निर्देशनसमेत दिए ।

टीकापुर नगरपालिकाको सीमा क्षेत्रमा छ वटा सशस्त्र प्रहरीको बेसक्याम्प रहेका छन् । टीकापुर नगरपालिका–७ कालाकुण्डास्थित सशस्त्र प्रहरीको अस्थायी बेस क्याम्पमा १२ जना सुरक्षाकर्मी कार्यरत छन् । बस्तीबाट निकै टाढा रहेको बेस क्याम्पमा कार्यरत सुरक्षाकर्मीलाई पिउने पानी, विद्युत्, शौचालय, खानालगायतको पनि समस्या देखिन्छ । नगरपालिकाको वडा नं ९ चौगुर्दी र वडा नं ८ को श्रीलङ्कालगायतका सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई खानेपानी र शौचालयकै पनि समस्या रहेको छ ।

टीकापुर नगरपालिकामा पर्ने सत्ती भन्सार कार्यालयबाट कोइलाबाहेक अरु कुनै पनि सामानको आयात भएको छैन । भन्सार कार्यालयमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिँदै आएका छन् । त्यस्तै भजनी नगरपालिकामा पनि छ वटा अस्थायी क्याम्प स्थापना गरिएको छ । त्यहाँका सुरक्षाकर्मीको अवस्था पनि त्यस्तै छ । एकबाट अर्को देखिने गरी अस्थायी क्याम्पहरु स्थापना गरिएको भए पनि नदीको किनारमा र जङ्गल क्षेत्रमा बस्नुपर्ने भएकाले थुप्रै समस्या झेल्नुपर्ने बाध्यता रहेको छ ।

नगरप्रमुख शेरबहादुर चौधरीले नगर क्षेत्रभित्रको नेपाल–भारत सीमानाकाको समय–समयमा निरीक्षण गर्दै आएको बताए ।

‘ठाउँ–ठाउँमा सीमा सुरक्षा बल खटाइएको छ । हामीले पनि अनुगमनलाई तीव्र बनाएका छौं,” नगर प्रमुख चौधरीले भने ।

कैलाली जिल्लामा ५२ अस्थायी क्याम्प र १२१ वटाभन्दा बढी सेन्ट्री पोष्ट स्थापना गरी सीमा सुरक्षा गर्दै आएको सशस्त्र प्रहरी बल ३४ नं गण कैलालीका प्रहरी उपरीक्षक कमल तिमिल्सिनाले बताए । सीमा सुरक्षामा कडाइ गरिएको भए पनि खुला सीमा भएकै कारण जतिबेला पनि भारतबाट अवैधरूपमा मानिस नेपाल भित्रन सक्ने भन्दै स्थानीयवासी त्रसित भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment