+

‘फेरि मैदानमा फर्किँदा उत्साहित हुन्छौँ’

२०७७ वैशाख  २५ गते १९:५१ २०७७ वैशाख २५ गते १९:५१
‘फेरि मैदानमा फर्किँदा उत्साहित हुन्छौँ’

२५ वैशाख, काठमाडौं । किरणकुमार लिम्बु (चेम्जोङ) नेपाल राष्ट्रिय फुटबल टिमका नम्बर वान गोलकिपर, अनि हालका कप्तान पनि । फुटबल मैदानको पोस्टमा विपक्षीको प्रहार ब्लक गर्न माहिर उनी अहिले घरभित्र लकडाउनमा छन् ।

अरू बेला फुटबल खेल्न देश विदेश गइरहने उनले परिवारसँग समय बिताउन कमै पाउँथे । कोरोना भाइरसको प्रकोप अघिसम्म उनी भारतमा मिनेर्भा पञ्जाबबाट आई लिग खेलिरहेका थिए । कोरोनाका कारण लिग रोकिएपछि उनी चैत दोस्रो साता नेपाल आए । त्यसयता इमाडोलस्थित घरमा परिवारसँगै छन् ।

‘यसअघि चाडपर्व समेत मिस हुन्थ्यो । मामु एकतिर, म एकतिर हुन्थेँ’ किरणले पुराना दिन सम्झिए, ‘अहिले कोभिड–१९ ले गर्दा सामान्य जीवन बिताउन नपाएपनि अहिले परिवारलाई समय दिन पाएको छु । यसमा खुसी नै छु ।’

मामुलाई भान्छालगायतका काममा सघाउने किरण घरमै दैनिक व्यायाम भने गर्छन् । ‘दैनिक बिहान एक घण्टा वर्कआउट गर्छु’ किरणले भने, ‘फिटनेसभन्दा शरीरलाई सेपमा राख्नको लागि हो । फिटनेसको लागि त दौडिनुपर्छ ।’

आई लिगमा सन्तुष्ट सिजन

नेपाल आउनुअघि किरण भारतको शीर्ष श्रेणीको फुटबल आई लिगमा ब्यस्त थिए । उनी दोस्रो पटक मिनेर्भा पञ्जाबबाट खेलिरहेका थिए । तर, लकडाउनले गर्दा लिग पूरा हुन पाएन । यद्यपि मोहन बगानले लिग उपाधि पक्का भइसकेको थियो र भारतीय फुटबल संघले च्याम्पियन घोषणा गर्दै लग अन्त्य गरिसकेको थियो ।

किरणको टिम भने इस्ट बंगाल समान अंक जोड्दै संयुक्त रुपमा उपविजेता बनेको छ ।

तर, मिनेर्भा पञ्जाब र किरणको सम्झौता सकिएको छैन । ‘मेरो सम्झौता मे ३० सम्म छ । त्यसैले अरू क्लबसँग सम्झौता गर्न सक्दिनँ’ क्लबसँग निरन्तर संवादमा रहेका उनले भने, क्लबसँगै छु र बोलायो भने जान्छु पनि ।’

किरणले पञ्जाबका लागि खेलेको यो दोस्रो सिजन हो । सन् २०१७/१८ को सिजन उनले लिगमा आधा मात्र खेल खेल्न पाएका थिए । तर, उनको टिम च्याम्पियन बन्यो । यो सिजन किरणले पूरै समय खेल्न पाए । त्यसैले टिम लिग च्याम्पियन बन्न नपाएपनि आफ्नो व्यक्तिगत प्रदर्शनबाट सन्तुष्ट छन् । ‘यो सिजन व्यक्तिगत रुपमा राम्रो भयो’ किरणले भने, ‘विदेशी गोलकिपरहरूमा आई लिग वेबसाइटले टप थ्रीमा राखेको थियो । यसमा पनि म खुुसी छु ।’

किरणले तीन खेलमा क्लिनसिट राख्दा एक खेलमा म्यान अफ दि म्याच अवार्ड समेत पाएका थिए । ‘लिग च्याम्पियन त हुन सकिनँ तर टिम मेट, कोचले सबैले प्रशंसा गरेका छन्’ उनले भने, ‘पहिलाभन्दा व्यक्तिगत रुपमा राम्रो भयो ।’ विदेशी लिगको अनुभवले राष्ट्रिय टिमबाट खेल्दा सहयोग पुग्ने उनको विश्वास छ ।

विश्वकप छनोट गुमाउँदा घाटा

कोभिड–१९ को महामारी नभएको भए नेपालले चैतमै दशरथ रंगशालामा विश्वकप छनोट अन्तर्गत अस्ट्रेलिया र चाइनिज ताइपेईसँग खेलिसक्ने थियो । यो खेलका लागि किरणलगायत सबै खेलाडी उत्साहित थिए । किरण भारतमै रहेपनि अन्य खेलाडीले नेपालमा प्रशिक्षण समेत सुरु गरिसकेका थिए । तर, कोरोनाका कारण एएफसी र पिफाले खेल स्थगित गर्ने घोषणा गर्‍यो । ‘उसले फ्यानहरू दुःखी बनाउनु स्वभाविक हो’ किरणले सुनाए, ‘तर, अहिलको परिस्थति नै त्यस्तै छ । कोभिड–१९ को महामारीले सबैतिर खेल रोकिएको छ । हामी कहिले खेलमा फर्किन्छौं भन्ने पनि अझै अनिश्चित छ ।’

विश्वस्तरका ठूला खेलहरू २०२० बाट २०२१ मा सारिएको छ । एएफसीले कुनै तालिका निकालेको छैन । किरण भन्छन्, ‘त्यत्तिकै फेरि फुटबल सुरु गर्न गाह्रो छ । तर, मलाई आशा छ नेपालमा चाँडै फुटबल फर्किन्छ र हामीले ट्रेनिङ गर्छौं ।’

पहिला लिग र अहिलेको लिगमा फरक

सन् २००८ मा मछिन्द्र क्लबबाट क्लब करियर सुरु गरेका किरणले आधा दशकभन्दा बढी थ्री स्टारबाट खेले । त्यसपछि एक सिजन मनाङ मर्याङ्दीबाट खेलेर उनी लिग खेल्न माल्दिभ्स गए । टीसी स्पोर्ट्स क्लबबाट त्यहाँको लिग जिते । किरणले दक्षिण एसियामा तीन देशबाट लिग जितिसकेका छन् ।

पछिल्लो समय भने उनी विदेशी लिगमा व्यस्त हुन थालेका छन् । नेपालमा भूकम्पले दशरथ रंगशाला भत्काएपछि केही समय लिग हुन सकेन । त्यसैले अहिले विगतमा जस्तो समर्थक फुटबलले पाउन नसकेको किरणको बुझाइ छ । साथै लिगले फड्को पनि मार्न सकेन । ‘केही समय ग्याप भएकोले फ्यान बेसमा चेन्ज देखेँ अरु उस्तै छ’ उनले भने, ‘योभन्दा अझै राम्रो ठाउँ भने अझै छ ।’

सरकार र कर्पोरेट क्षेत्रको लगानी चाहियो

कप्तान किरण नेपालको फुटबल लिगलाई कम्तीमा ७/८ महिना लम्ब्याएर व्यवसायिक बनाउनुपर्ने धारणा राख्छन् । साथै एन्फामा मात्रै भर पर्नुको साटो सरकार र कर्पोरेट हाउसले सहयोग गर्नुपर्ने उनले बताए । ‘हामी एन्फाको मात्रै भरमा भयौं’ उनले भने, ‘सरकाले पनि हेर्ने हो भने फुटबल विकास गर्न सकिन्छ ।’

नेपालमा अहिले पनि फुटबलको क्रेज रहेको तर त्यसअनुसार लगानी हुन नसकेको उनको बुझाइ छ । ‘माल्दिभ्समा एक सिजन खेल्दा एक क्लबले २ करोड बराबर नेपाली पाउँछ । प्रत्येक क्लबको छुट्टै स्पोन्सर हुन्छ’ किरणले भने, ‘त्यही कारण क्लबले खेलाडीहरूलाई वर्षभरको सम्झौता गर्न पनि सक्छ ।’

उनले अघि भने, ‘नेपालमा एन्फामा मात्र भर पर्‍यौँ । नेपाली फुटबलमा पैसा नै पर्याप्त छैन ।’

फुटबलमा फर्किँदा उत्साहित हुन्छौँ

अब कहिले फुटबल फर्किएला ? किरणसँग पनि जवाफ छैन । तर, अहिले लकडाउनमा रहेका फुटबल खेलाडीहरू मैदान फर्किँदा उत्साहित हुने उनले सुनाए । ‘खेलाडीहरू महिनौंसम्म फुटबलविना बसेको यो नै पहिलो पटक हो’ नम्बर वान गोलकिपर किरणले भने, ‘अब सबै ट्रेनिङमा फर्किँदा खुसी हुन्छौं ।’

किरण चेम्जोङ खेलकुद फुटबल लकडाउन

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय