Comments Add Comment

‘मध्यमार्गी लाइन’मा घनश्याम र योगेश !

‘स्थायी कमिटीको बैठक उदघाटन गरौं, अहिले बाझाबाझ नगरौं’

२५ वैशाख, काठमाडौं । बुधबार बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेको एउटा वाक्यले प्रचण्ड–माधव खेमामा तरंग ल्याएको छ । प्रधानमन्त्रीले कसैको नाम नलिई बैठकमा मन्त्रीद्वय घनश्याम भुसाल र योगेश भट्टराईको ‘फेरिएको लाइन’ बारे प्रशंग कोट्याएका थिए ।

विहीबार स्थायी कमिटीको बैठक बोलाउने÷नबोलाउने विवाद सचिवालयमा भइरहेका बेला प्रधानमन्त्री ओलीले शनिबारको बैठकमा भने, ‘स्थायी कमिटीका केही साथीहरुले गुटलाई बिर्सेर अहिले बैठक आवश्यक नरहेको बताउनुभएको छ ।’

प्रचण्ड–माधव समूहका नेताहरुको दाबीअनुसार प्रधानमन्त्रीले भुसाल र भट्टराई स्थायी कमिटी बैठकको विपक्षमा रहेको संकेत गरेका हुन् ।

प्रचण्ड–माधव समूहका २० जना स्थायी कमिटी सदस्यले लिखितरुपमै बैठकको माग गरिसकेका छन् । मन्त्रीद्वय पनि माधव नेपाल समूहकै नेता हुन् ।

प्रचण्ड–माधव समूहकै केही नेताले बैठक जरुरी छैन भनेको प्रधानमन्त्रीले दाबी गरिरहँदा पूर्वमाओवादी खेमाका नेताहरुले भने उर्जामन्त्री वर्षमान पुन र कृषिमन्त्री घनश्याम भुसालवीचको सम्वादलाई सम्झिएका छन् ।

मन्त्री पुनमार्फत प्रचण्डलाई प्रस्ताव

कृषि मन्त्री भुसालले उर्जा मन्त्री पुनलाई भेटेर अहिले स्थायी कमिटीको बैठकमा भन्दा बजेट निर्माण र कोरोना रोकथाममा बढी केन्द्रित हुनुपर्ने बताएका थिए ।

साथै, मन्त्री भुसालले यो सन्देश कार्यकारी अध्यक्ष प्रचण्डसम्म पुर्‍याइदिन मन्त्री पुनलाई भनेका थिए । स्थायी कमिटीको बैठक सुरु गरे पनि छलफल चाहिँ अलि पछि गर्नुपर्ने भुसालको प्रस्ताव थियो ।

एकातिर मन्त्री भुसालले वर्षमानसँग त्यस्तो प्रस्ताव राख्नु, अर्कातिर प्रधानमन्त्रीले शनिबार सचिवालयमा ‘गुटको पर्वाह नगरी बैठक स्थगनको पक्षमा केही साथीहरु लागेको’ चर्चा गर्नुले प्रचण्ड–माधव समूहलाई झस्काएको हो ।

उसोभए, लामो समयदेखि माधव नेपाल समूहमा रहँदै आएका कृषि मन्त्री भुसाल र पर्यटन मन्त्री भट्टराई स्थायी कमिटी बैठकको विपक्षमा उभिएकै हुन् त ? यो प्रश्न अहिले पूर्वमाओवादी खेमा र माधव नेपाल समूहमा चर्चाको विषय बनेको छ ।

पूर्वमाओवादीका एक नेताले एक कदम अगाडि बढेर भने, ‘घनश्याम भुसाल र योगेश भट्टराईकै कारण स्थायी कमिटीको बैठक स्थगित भएको रहेछ ।’

हामीले यसबारे मन्त्री भुसाल र भट्टराई दुबैसँग कुरा गर्‍यौं । उनीहरुले आफ्नो कारणले स्थायी कमिटीको बैठक स्थगन भएको अस्वीकार गरे । तर, स्थायी कमिटीको बैठकबारे उनीहरुले केही फरक धारणा प्रस्तुत गरे, जसबाट मन्त्रीद्वयको ‘लाइन’ मध्यमार्गी देखिएको छ ।

बैठक उदघाटन होस्, छलफल पछि गरौं भनेको हुँ : भुसाल

मन्त्री भुसालले स्थायी कमिटी बैठक स्थगित गरौं भन्ने आफूले प्रस्ताव नगरेको बताए । तर, अहिले कोरोना र बजेटमा केन्द्रित हुने बेलामा झगडा मात्रै गर्नका लागि स्थायी कमिटीको बैठक बस्न उपयुक्त नहुने आफ्नो धारणा रहेको उनले बताए । अहिले बैठक उदघाटन गरेर छलफल चाहिँ अलि पछि गरौं भन्ने पक्षमा आफू रहेको मन्त्री भुसालले बताए ।

‘बैठक सुरु होस् र विवादित विषयहरुलाई क्रमशः छलफल गर्दै जाऔं’ मन्त्री भुसालले भने, ‘अहिले कोरोना रोकथाम र बजेट निर्माणमा केन्द्रित हुनुपर्नेछ । कोरोना र बजेट दुबै एकैचोटि छ, त्यसैले, कमसेकम बैठक सुरु होस्, उदघाटन होस् छलफलचाहिँ अलि पछि गरौं ।’

अहिले बैठक उदघाटन गरेर छलफलचाहिँ पछि गर्ने भन्नेमा शीर्ष नेताहरु पनि तयार देखिएको मन्त्री भुसालको दाबी छ । बजेट र कोरोना रोकथाममा ध्यान दिनुपर्ने बेलामा आन्तरिक झगडामा रुमलिनु उपयुक्त नहुने उनको तर्क छ ।

मन्त्री भुसालले आफ्नो ‘मध्यमार्गी लाइन’को व्याख्या गर्दै अनलाइनखबरसँग भने, ‘लिडरहरु पनि अहिले नै धेरै विवादमा नफसिहालौं भन्नेमै हुनुहुन्थ्यो । त्यसैले बैठक सार्ने भन्दा पनि सुरु गरौं र विवादित विषयहरुलाई छलफल गर्दै जाऔं, बैठकचाहिँ सुरु होस् अरु कुरा पछि गरौंला ।’

निकास दिने बैठक गर्नुपर्छ : भट्टराई

अर्का मन्त्री भट्टराईले पार्टीका बैठकहरुले निकास दिन सक्नुपर्ने प्रतिक्रिया दिए । उनले पार्टीलाई निकास दिने गरी बैठक गर्नुपर्नेमा जोड दिए ।

‘पार्टी एकतालाई मजवुत बनाउनुपर्छ । आन्तरिक समस्यालाई पार्टीभित्रै बहस छलफल गरेर हल गर्नुपर्छ’ मन्त्री भट्टराईले अनलाइनखबरसँग भने, ‘हामीले जनमतको पनि सम्मान गर्नुपर्छ । जस्तो जनमत आए पनि नेपाली नेताहरुले स्थिरता दिन सक्दैनन् भन्ने सन्देश दिने काम गर्नुहुँदैन ।’

यो पनि पढ्नुहोस ‘ केपी ओलीलाई हटाउन खोजिए एकता भंग हुन्छ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment