Comments Add Comment

महामारीमा छुट्टै विधिशास्त्र चाहियो : प्रधानन्यायाधीश

‘कोरानाको प्रभाव न्यायालयमा पनि पर्‍यो, बाध्यताका रुपमा बुझिदिनोस्’

२६ वैशाख काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले कोरोना महामारीको प्रभाव न्याय क्षेत्रमा पनि परेको बताएका छन् । साथै, उनले महामारीमा न्यायसम्बन्धी छुट्टै विधिशास्त्रको विकास गर्नुपर्ने आवश्यकता महसुस भएको बताएका छन् ।

शुक्रबार कानुन दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानन्यायाधीश जबराले भनेका छन् ‘सम्पूर्ण मानव समुदायको सरोकार र विश्वव्यापी बहुआयामिक प्रभावहरू रहेको शताब्दीकै ठूलो यस महामारीले ‘Pandemic Justice’  सम्बन्धी छुट्टै विधिशास्त्रको विकासको आवश्यकता रहेकोसमेत अनुभूति गराएको छ ।’

प्रधानन्यायाधीश जबराले देश विदेशमा कोरानाबाट संक्रमित भएका नेपालीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । न्याय क्षेत्रमा पनि कोरोनाको प्रभाव परेको बताउँदै जबराले यसलाई बाध्यताका रुपमा बुझिदिन भनेका छन् ।

हरेक वर्ष वैशाख २६ गते कानुन दिवसका अवसरमा सर्वोच्च अदालतले औपचारिक समारोह आयोजना गर्दै आएकोमा लकडाउनका कारण आज कार्यक्रम नहुने प्रधानन्यायाधीशले बताएका छन् ।

जबराले स्वतन्त्र न्यायालय र विधिको शासनका लागि आफू प्रतिबद्ध रहने सार्वजनिक प्रतिवद्धतासमेत व्यक्त गरेका छन् ।

प्रधानन्यायाधीशको शुभकामना सन्देश–

सर्वप्रथम  ‘कानुन दिवस, २०७७’ को उपलक्ष्यमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।

नेपाल प्रधान न्यायालय ऐन, २००८ विक्रम संवत् २००९ साल वैशाख २६ गते लागु भएको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ को दिनलाई कानुन दिवसको रूपमा मनाइँदै आएको कुरा सर्वविदितै छ । न्यायपालिकाको स्वतन्त्रता, विधिको शासन तथा आधुनिक न्याय प्रणालीको प्रारम्भ गर्ने दिशामा उक्त दिनमा कोरिएको मार्गचित्रलाई आजको अवस्थासम्म ल्याइपुर्‍याउन भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण व्यक्तित्वहरूका योगदानको स्मरण गर्दै आजको यस विशेष दिनमा उहाँहरूप्रति हार्दिक सम्मानसमेत व्यक्त गर्दछु ।

न्यायिक इतिहासको अत्यन्त जटिल र कठिन परिस्थितिहरूमा पनि स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यतालाई अक्षुण्ण राख्दै विधिको शासन तथा नागरिकका हक अधिकारको संरक्षणका लागि न्यायपालिकाले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । न्यायपालिकाको नेतृत्वको हैसियतबाट नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्‍चितताका लागि सदा क्रियाशील रहने कुराको प्रतिबद्धतासमेत व्यक्त गर्दछु । त्यसमा काहीँ कतैबाट कुनै किसिमको आँच आउन नदिन आफू सदैव सचेत, गम्भीर र संवेदनशील रहेको पनि म यस अवसरमा स्पष्ट गर्न चाहन्छु । आजको दिनमा हामी सबैले आ–आफ्नो तहबाट गर्नुपर्ने प्रण पनि त्यही नै हो भन्ने मलाई लाग्दछ । यसबाट नै कानुन दिवसप्रतिको वास्तविक सम्मान र दिवस मनाउनुको सार्थकता रहन सक्छ ।

नेपालको संविधानले लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, कानूनी राज्यलगायतका मूल्य मान्यताहरूलाई संविधानको आधारभूत संरचनाको रूपमा स्थापित गरेको छ । सुशासन, विकास, समृद्धि र सामाजिक न्यायको परिकल्पना संविधानले गरेको छ । त्यसप्रति प्रतिबद्ध रहँदै सहज पहुँचयुक्त एवम् जनआस्थामा आधारित न्यायपद्दतिको स्थापना र विकास गर्न आजको यस विशेष दिनले सम्बन्धित सबैमा थप ऊर्जा र हौसला प्रदान गर्ने छ भन्ने विश्वाससमेत मैले लिएको छु ।

हामी अहिले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड ( १९) को कारणबाट उत्पन्न कठिन र संवेदनशील परिस्थितिको सामना गरिरहेका छौँ । कोरोना भाइरसबाट विश्वका अधिकांश देशहरू प्रभावित भएको, लाखौं मानिसहरू यसबाट सङ्क्रमित रहेको र २ लाख ५० हजारभन्दा बढी मानिसहरूले यस रोगका कारण मृत्युवरण गर्नु परेको दुखद् अवस्था हाम्रा सामु छ । आजको यस विशेष दिनमा कोरोना भाइरसबाट सङ्क्रमित स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्दछु ।

औषधि पत्ता लागिनसकेको अवस्थामा सामाजिक दूरी कायम गर्नेलगायत स्थापित विधि र मापदण्डहरूको अवलम्बन तथा रोग प्रतिरोधी क्षमता अभिवृद्धिका लागि उच्च मनोबल, सकारात्मक सोच र आत्मसंयम नै यसको रोकथाम र नियन्त्रणको उपयुक्त विकल्प रहेको कुरा पनि म यहाँ स्मरण गराउन सान्दर्भिक ठान्दछु ।

महामारीको प्रभाव स्वभावतः न्याय क्षेत्रमा पनि परेको छ । नेपाललगायत महामारीबाट प्रभावित देशका अदालतहरूले संकुचनसहितको न्यायसम्पादन र सेवा प्रवाहको व्यवस्थापन गर्दै आएका छन् । यसबाट न्यायको प्राप्तिमा पुग्न गएको असुविधालाई परिस्थितिजन्य बाध्यताको रूपमा बुझ्न पनि सम्बन्धित सबैमा हार्दिक आग्रह गर्दछु ।

सम्पूर्ण मानव समुदायको सरोकार र विश्वव्यापी बहुआयामिक प्रभावहरू रहेको शताब्दीकै ठूलो यस महामारीले  ‘Pandemic Justice’ सम्बन्धी छुट्टै विधिशास्त्रको विकासको आवश्यकता रहेकोसमेत अनुभूति गराएको छ ।

महामारीको कारण औपचारिक कार्यक्रमको आयोजना गर्न नसकिएको यस परिस्थितिमा एक आपसमा शुभकामना आदान प्रदान गरी यस वर्षको कानुन दिवस मनाउन न्याय क्षेत्रमा क्रियाशील व्यक्तित्वलगायत सम्बद्ध सबैमा हार्दिक अपिल गर्दछु ।

कानुन दिवस, २०७७ ले समानता, न्याय र विधिको शासनको सुनिश्‍चितताका लागि आ-आफ्नो ठाउँबाट योगदान गर्ने सकारात्मक सोच, प्रेरणा र क्षमता प्रदान गरोस् भन्ने पुनः शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद !

चोलेन्द्र शम्शेर ज.ब.रा.

प्रधान न्यायाधीश

२०७७ साल वैशाख २६ गते शुक्रबार ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment