Comments Add Comment

ब्राजिललाई कोरेनाभन्दा अर्थतन्त्रको डर

२६ वैशाख, काठमाडौं । ब्राजिलका अर्थमन्त्री पाओलो गुएडेसले लकडाउनको कारण मुलुकको अर्थतन्त्र ध्वस्त हुने दिशामा अग्रसर रहेको बताएका छन् । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि राज्यहरुले लगाएको लकडाउनले मुलुकमा खानेकुराको अभाव हुने र यसले सामाजिक अशान्ति फैलाउन सक्ने उनको भनाइ छ ।

अर्थमन्त्रीले केही उद्योगपतिहरुसँग मिलेर सर्वोच्च अदालतबाहिर प्रदर्शन पनि गरेका थिए । उनीहरुले आफ्नो राज्यमा लकडाउन घोषणा गर्ने गभर्नरविरुद्ध प्रदर्शन गरेका थिए ।

गुएडेसका अनुसार अहिले नै मुलुकमा लकडाउन नखोलिएको खण्डमा आगामी ३० दिनमा ब्रजिलमा खानपानको समस्या सुरु हुन्छ । त्यसैले मुलुकका राज्यहरुमा लगाइएको लकडाउन अहिले नै खोल्नु जरुरी छ । तर, ब्राजिलमा कोरोना भाइरसको महामारी भने बढ्दो क्रममा छ । ब्राजिल दक्षिण अमेरिकामा यो महामारीको केन्द्र बनेको छ । अहिलेसम्म यहाँ एक लाख ३० हजारभन्दा धेरै मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ । साथै यसबाट नौ हजारभन्दा धेरै मानिसको मृत्यु पनि भइसकेको छ ।

यो महामारीको कसरी सामना गर्ने भन्नेबारे ब्राजिलभित्र नै धेरै मतभेद देखिएको छ । डाक्टरहरु लकडाउनको पक्षमा छन् । उनीहरु भौतिक दूरीमा विशेष ध्यान दिनुपर्ने बताउँदै आएका छन् । साथै सरकार भने कडा प्रतिबन्धको नाममा मुलुकको अर्थतन्त्र कमजोर भइरहेको बताउँदै आएको छ । अर्थतन्त्र कमजोर हुनु कोरोना भाइरसको महामारीभन्दा नराम्रो हुने ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले बताएका थिए । बोल्सोनारो मुलुकमा लकडाउनको विरुद्धमा उभिँदै आएका छन् । कोरोना भाइरसको विरुद्धमा कसरी लड्ने भन्नेबारे कुरा नमिल्दा उनले स्वास्थ्यमन्त्रीलाई नै हटाएका थिए ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment